Butwal Today

विराटनगरका उद्योगी मुन्दडाको घरमा ५ घण्टा छापा

१८ श्रावण २०८३, सोमबार
अ+
अ-

काठमान्डौँ ।

विराटनगरका उद्योगी घराना मुन्दडा समूहका सञ्चालक तथा नेपाल उद्योग परिसंघका केन्द्रीय सदस्य प्रकाश मुन्दडाको निवासमा प्रहरीले सोमबार बिहान छापा मारी पाँच घण्टाभन्दा बढी समय खानतलासी गरेको छ ।

सोमबार बिहान करिब पौने ५ बजे एक दर्जनभन्दा बढी सवारीसाधनमा पुगेको प्रहरी टोलीले मोरङको जिल्ला प्रशासन कार्यालय र वडा प्रहरी कार्यालय–९ (पुरानो जिल्ला प्रहरी कार्यालय) बाट करिब एक सय मिटर दूरीमा रहेको मुन्दडाको घरमा छापा मारेको हो।

प्रहरीले के कारणले खानतलासी गरेको हो भन्नेबारे जिल्ला प्रशासन कार्यालय र प्रहरीले औपचारिक जानकारी दिएका छैनन् । मोरङ प्रहरीले भने गृह मन्त्रालयको निर्देशनअनुसार अनुसन्धानका क्रममा खानतलासी गरिएको जनाएको छ ।

मुन्दडा समूहले बाबा आयल, जुट मिल तथा चाँदीका गहना उत्पादन गर्ने जेजे ज्वेलर्सलगायत विभिन्न उद्योग सञ्चालन गर्दै आएको छ । प्रहरी टोलीले घरका सबै कोठा, भान्छा, दराज तथा अन्य सामग्रीसमेत जाँच गरेको मुन्दडाले बताए ।

“उहाँहरूलाई कुनै जानकारी आयो, त्यसअनुसार उहाँहरूले आफ्नो ड्युटी निर्वाह गर्नुभयो । हाम्रो घरको किचन, कोठा र एउटा–एउटा दराज सबै खोलेर हेर्नुभयो । कुनै सामान लैजानुभएन र क्लिन चिट दिएर जानुभयो,” मुन्दडाले भने ।

खानतलासीका क्रममा प्रहरीले जिल्ला प्रशासन कार्यालयतर्फ र गोल्छामोडतर्फ जाने सडक बन्द गरी सर्वसाधारणको आवतजावतसमेत केही समय रोकेको थियो ।

प्रहरीको खानतलासीपछि नेपाली कांग्रेस, नेकपा (एमाले)  लगायत केही राजनीतिक दलका नेताहरू पनि मुन्दडाको निवास पुगेका थिए ।

खानतलासीपछि बाहिरिएका उद्योगी बेनीगोपाल मुन्दडाले प्रहरीले घरबाट कुनै सामग्री फेला नपारेको र केही पनि बरामद नगरेको बताए । यद्यपि, यस विषयमा प्रहरीले हालसम्म औपचारिक विवरण सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?