© 2026
बुटवलको तिलोत्तमा (तिनाउ) लाई पवित्र नदीको रूपमा पुराणमा समेत ब्याख्या गरिएको छ । तिनाउ नदी जोखिम मात्रै होइन, हजारौँ किसानको लागि वरदान पनि भएको छ ।
बर्षायाममा यसको गडगडाहटले अहिलेसम्म दर्जनौँ मानिसको मृत्यु भएको छ । तर, यसले दिएको लाभ त्यो भन्दा सयौं गुणामाथि छ । तिनाउ सफा भयो भने निश्चित रूपमा यसको महत्त्व अझै बढ्छ तर यसलाई प्रदूषित गरियो भने हाम्रो पुस्ताले समेत सराप्छ ।
प्रसङ्ग तिनाउ नदीको किनार फोहरले भरिएको कुरा हो । निश्चित रूपमा तिलोत्तमा नदी पहिलेको जस्तो रहेन र छैन । यसको संरक्षणमा ध्यान पुगेको पनि छैन । पछिल्लो समय बढिरहेको अव्यवस्थित सहरीकरण नै तिनाउ प्रदूषणको मुख्य कारक हो ।
तिनाउ नदी किनारमा फोहर फाल्दा तिनाउ दुर्गन्धित पनि भएको छ । तिनाउ नदीको प्रदूषण नियन्त्रणमा अहिलेदेखि नै ध्यान दिनु जरुरी छ । तिनाउलाई डम्पिङ साईटको रूपमा प्रयोग गरिएको छ । तिनाउको धार्मिक, वातावरणीय तथा नदी सभ्यताको जगेर्नाका निम्ति तिनाउमा स्वच्छ जल प्रवाहको कल्पना गर्नु अव सायद सम्भव छैन तर प्रयास गरिए सम्भव छ ।
काठमाडौँको बागमती नदी संरक्षण गर्दा सफा भएजस्तै बुटवलको तिलोत्तमा नदीलाई पनि स्वच्छ र कञ्चन बनाउन सकिन्छ । तसर्थ तिनाउ संरक्षणमा असम्भव केही छैन । हामी सवैको प्रयासले तिनाउको स्वच्छता जोगाउन सकिन्छ । तिनाउको माथिल्लो क्षेत्रको नदी किनारमा अझैपनि शौच बस्ने परम्परा हराएको छैन । यसले तिनाउ संरक्षणमा चुनौति थपिएको छ ।
तिनाउ नदीको किनार बस्ती वरपर सफा नगरिँदा पानी छुन पनि घिन लाग्ने अवस्था छ । अर्कोतर्फ बर्षामा गडगडाउने तिनाउ हिउँदमा सुक्छ । अबको दिनमा तिनाउ सुक्न नदिने गरि तिनाउ मुहानको संरक्षणमात्र होइन, नदीलाई स्वच्छ राख्न र फोहोर हुनबाट जोगाउनु आवश्यक छ ।
अनि मात्र तिलोत्तमा नदी सभ्यताको जगेर्ना हुन्छ । यसतर्फ सरकारमात्रै होइन, स्थानीय सरकार र स्वयं बुटवलबासीको ध्यान जाओस् । अर्कोतर्फ बुटवललाई बिचमा पारेर बगिरहेको तिनाउ नदी रूपन्देही जिल्लाकै लागि वरदान हो । ठूला शहरको किनारमा नदी हुनु आफैमा गौरव हो । तिनाउ नदीले बुटवललाई यही गौरवबोध गराएको छ ।
विश्वकै ऐतिहासिक तथा पुराना शहरमा नदीको कलकल शहरी सभ्यताको परिचायक हो । अर्थात जहाँ ठूला र ऐतिहासिक शहर छन, त्यहाँ अवश्य नदी बग्छ । बुटवलको तिनाउ नदीले शहरी सभ्यताको पहिचान दिएको छ । यो बुटवलका लागि गौरव हो ।
भोलिको दिनमा नदीको संरक्षणमा चासो दिएको अवस्थामा तिनाउ नदी भविष्यको पुस्ताका लागि पनि गौरव गर्न लायक हुनेछ । तर, यसको संरक्षणमा लापरबाही हुने हो भने तिनाउ अभिशाप बन्न सक्छ । यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनु जरुरी छ । तिनाउ नदी कटान नियन्त्रण र बर्षामा यसको भेललाई आफुखुसी उसको बाटोमा बग्न दिनुपर्छ ।
भनिन्छ १२ बर्षमा खोलो पनि फर्किन्छ । त्यसकारण तिनाउको मुहान र तल्लो तटीय क्षेत्रको भागलाई जोखिमबाट मुक्त बनाउनेतर्फ ध्यान दिनु जरुरी छ । अहिलेपनि तिनाउकै पानीले रूपन्देहीका हजारौँ विगाहा खेत सिञ्चित भैरहेको छ । तिनाउ हजारौँ किसानको भविष्यसंग जोडिएको छ । तिनाउकै पानीमा दक्षिण एसियाकी नमूना कुलो १६/३६ कुलोको अस्तित्व छ ।
तिनाउकै पानीले सिंचाई हुँदा किसानको उत्पादनमा बृद्धि भएको छ र त्यसले आर्थिक उन्नतीको पाटोलाई सुदृढ बनाएको छ । अतः तिनाउ स्वच्छताको विषयमा अव सवै सचेत हुनुपर्ने बेला आएको छ । खासगरी तिनाउको माथिल्लोदेखि तल्लो तटीय क्षेत्रको जोखिम नियन्त्रण, फोहर नियन्त्रण, शौचरहित स्वच्छ तिनाउको संरक्षणमा ध्यान दिउँ ।
तिनाउ रहे बुटवलको अस्तित्व रहन्छ । यो हामी सवैलाई थाहा भएको कुरा हो । अतः तिनाउ सभ्यता संरक्षण, यसको स्वच्छता तथा हिउँदमा समेत बर्षामा जस्तै बग्ने तिनाउ बनाउन जरुरी छ ।