© 2026
सुनवल । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको सुस्तामा आइतबार स्थानीयवासी र भारतीय सीमा सुरक्षा बल (एसएसबी) बिच तनाव उत्पन्न भएको छ ।
नारायणी नदीको बाढी गाउँमा पस्न नदिन स्थानीयले निर्माण गरेको अस्थायी बाँध भारतीय पक्षले भत्काउन थालेपछि सुस्तावासीले प्रतिकार गरेका छन् । सुस्ता बचाउ अभियानका प्रवक्ता रविन्द्र जयसवालका अनुसार तटबन्ध नभएको स्थानबाट बाढी गाउँतर्फ पस्न थालेपछि स्थानीयले करिब १०० मिटर लामो माटोको अस्थायी बाँध निर्माण गरेका थिए ।
भारतीय पक्षले उक्त बाँध विवादित क्षेत्रमा बनाइएको दाबी गर्दै नेपाली भूमि प्रवेश गरी भत्काउन खोजेपछि स्थानीयले प्रतिकार गरेका हुन् । जयसवालका अनुसार सादा पोसाकमा आएका भारतीय सुरक्षाकर्मीले बाँध भत्काउन थालेपछि स्थानीयहरू लाठीभाटा लिएर रोक्न पुगेका थिए । केही बेर तनावपूर्ण अवस्था रहे पनि अहिले स्थिति सामान्य बनेको छ ।
सुस्तामा नारायणी नदी नियन्त्रणका लागि सङ्घीय सरकारले दुई खण्डमा तटबन्ध निर्माण अघि बढाएको थियो। तर नदी किनारको पूर्वी भागमा भारतीय पक्षले अवरोध गरेपछि योजना कार्यान्वयन हुन सकेन ।
एक सय ३२ मिटर लामो तटबन्ध निर्माणका लागि एक करोड ४० लाख रुपैयाँमा ठेक्का सम्झौता भई काम सुरु गर्ने तयारी भइरहेका बेला गत जेठ २९ गते भारतीय सुरक्षा निकायले रोक लगाएपछि त्यस क्षेत्रमा तनाव उत्पन्न भएको थियो ।
त्यसयता निर्माण कार्य अघि बढ्न सकेको छैन । अहिले स्थानीयले अस्थायी बाँध निर्माण गरेको स्थान पनि भारतले स्थायी तटबन्ध निर्माणमा अवरोध गरेकै क्षेत्र हो ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सीमावर्ती क्षेत्रमा स्थानीयले माटो भरेर अस्थायी बाँध निर्माण गरिरहेको विषय बुझ्न भारतीय सुरक्षा निकाय आउँदा सामान्य विवाद भएको बताए ।
उनका अनुसार सोमबार स्थानीय, प्रशासन र दुवै देशका सुरक्षा निकायबिच छलफल गरी समस्या समाधानका लागि छलफल हुनेछ । नारायणी नदीपारिको ऐतिहासिक भूमि सुस्तामा सीमा सम्बन्धी विवाद बेलाबेलामा दोहोरिने गरेको छ ।
त्यहाँ कुनै पनि सीमा स्तम्भ नहुँदा विवाद हुने गरेको छ । सुस्ताको कुल भूभागमध्ये आधा भारतले कब्जा गरिसकेको छ भने बाँकी मध्ये आधा बढी विवादित भनेर जोत भोग गर्न दिइएको छैन र बाँकी ७ हजार ५०० हेक्टर क्षेत्रफलमा मात्रै सुस्ता बासी बस्दै आएका छन् ।