© 2026
जनकपुरधाम । संयुक्त हिन्दु मोर्चा र सरकारबिच पुनः वार्ता भएको छ । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा जनकपुरस्थित यात्री निवासमा आइतबार भएको वार्तामा मोर्चाले १८ बुँदे माग पेश गरेको छ।
यसअघि शनिबार राति भएको वार्तामा भएको १३ बुँदामा थप स्पष्ट पार्दै पाँच बुँदा थपेर १८ बुँदे बनाइएको हो । मोर्चाले आफ्ना मागहरू समेटिएको मागपत्र गृहमन्त्री गुरुङलाई बुझाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलका अनुसार शनिबार भएको वार्ताका क्रममा केही बुँदामा देखिएको अस्पष्टता हटाउन पुनः वार्ता गरिएको हो ।
‘हिजोको वार्तामा केही विषय अस्पष्ट थिए । विशेष गरी लेटरप्याड र हस्ताक्षरसँग सम्बन्धित विषयमा उहाँहरूले जिज्ञासा राख्नुभएको थियो,’ लुइँटेलले भने, ‘गृहमन्त्रीज्यूले ती विषयमा स्पष्ट पार्नुभयो । वार्ता सकारात्मक रूपमा टुङ्गिएको छ । उहाँहरू सन्तुष्ट हुनुभएको छ र आन्दोलनका कार्यक्रम फिर्ता लिनुभएको छ ।’
संयुक्त हिन्दु मोर्चाअन्तर्गत हिन्दु सम्राट सेनाका केन्द्रीय उपाध्यक्ष कृष्ण सनातनीले पनि वार्तापछि केही बुँदामा संशोधन गरिएको बताए ।
‘केही विषय सच्याइएको छ । गृहमन्त्रीज्यूले हाम्रो माग सम्बोधन गर्ने आश्वासन दिनुभएको छ । अब आन्दोलनका क्रममा कतै पनि गोली नचल्ने प्रतिबद्धता उहाँले जनाउनुभएको छ,’ उनले सञ्चारकर्मीसँग भने ।
शनिबार राति सरकारलाई बुझाइएको १३ बुँदे मागपत्रको पहिलो बुँदामा नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने माग राखिएको थियो । अन्तिम बुँदामा भने माग सम्बोधनको प्रक्रिया अघि बढेसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिने उल्लेख गरिएको थियो ।
पुनः भएको वार्तापछि संयुक्त हिन्दु मोर्चाले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । यद्यपि, मोर्चाले उठाएका संवैधानिक तथा राजनीतिक मागहरूको कार्यान्वयन भने अब सरकारको आगामी निर्णय र प्रक्रियामा निर्भर रहनेछ । वार्तामा सहमति भएको वा नभएकोबारे सरकारले प्रष्ट पारेको छैन।