© 2026
काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरूले सुनसरीको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न र पीडित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको विशेष समयमा उनीहरूले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे । बैठकमा सांसद गुरुप्रसाद बरालले सुनसरीको घटना समाधानमा सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको टिप्पणी गर्दै समाजमा धार्मिक सहिष्णुता कायम गर्न सरकारले सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने बताए ।
सांसद युवराज दुलालले गुठी जग्गाको संरक्षण र मोहियानी किसानका समस्याका बारेमा जानकारी गराउँदै सो सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए । उनले विभिन्न सहरका केन्द्रमा महत्त्वपूर्ण स्थानमा भूमाफियाको नजरमा परेका जग्गाको संरक्षणमा लाग्न सरकारसँग आग्रह गरे ।
सांसद आरेन राईले बाँदरले किसानको खेतीमा गरेको क्षतिका बारेमा जानकारी गराउँदै किसानले अन्य दुःख र झमेलासँगै बाँदरको समस्या थपिएको बताए । यसको समाधान गर्न सरकारले तत्काल प्रभावकारी काम गर्नुपर्ने आवश्यकता उनले औँल्याए ।
सांसद भरत गिरीले सुनसरीको घटनाका सम्बन्धमा सत्य तथ्य छानबिन गरी दोषीलाई तत्काल कडा कारबाही गर्न र पीडित नागरिकलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरे । साथै उनले नागरिकलाई सुरक्षित रूपमा बस्ने वातावरण बनाउन सरकारसँग आग्रह गरे ।
सांसद प्रकाशचन्द्र परियारले सबै धर्म, पर्व र संस्कृतिप्रति आमनेपालीको साझा आस्था रहेको प्रसङ्ग उल्लेख गर्दै नेपालमा धर्म र संस्कृतिका नाममा कहिल्यै पनि युद्ध नभएको र हुने नदिइने बताए । उनले सुनसरीलगायत क्षेत्रमा भएका पछिल्ला गतिविधिले चिन्तित तुल्याएको बताउँदै हल्लाका पछि नलाग्न आमजनतालाई आग्रह गर्नुका साथै घटनाका दोषीमाथि कारबाही गर्न माग गरे ।
सांसद डा। चन्द्रमोहन यादवले किसानलाई समयमै मल, बीउ र सिँचाइको व्यवस्था गर्न माग गर्दै चिकित्सकले सुरक्षित रूपमा पेसा गर्न नपाएको केही दिनअघिको अवस्थाबारे सरकारको ध्यानाकर्षण गराए । उनले त्यसका लागि उचित वातावरण बनाउन सरकारसँग आग्रह गरे ।
सांसद साजिका खातुन सिद्धिकी र सरस्वती लामाले सुनसरी घटनामा गोली चलेको विषयमा उच्चस्तरीय छानबिन गर्न माग गर्दै घटनाका मृतक परिवारलाई उचित क्षतिपूर्ति र घाइतेको उपचारका लागि सरकारसँग माग गरे ।
सांसद श्रीराम न्यौपानेले नागढुङ्गा–सुरुङमार्ग निर्माणका क्रममा निधन भएका ओमप्रकाश पाण्डेप्रति श्रद्धाञ्जली र निर्माणका क्रममा घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे । उनले उक्त आयोजना राष्ट्रकै लागि गौरव भएको बताए ।
सांसद प्रकाशसिंह कार्कीले सुनसरीकाजस्ता घटना आगामी दिनमा हुन नदिन सरोकारवालासँगै सरकार सचेत हुनुपर्ने बताउँदै सबै मिलेर समाजमा धार्मिक सहिष्णुता कायम गर्न आग्रह गरे ।
सांसद डा। लेखजङ्ग थापाले वीरगञ्ज नारायणी अञ्चल अस्पतालको घटनापछि सरकार र नेपाल चिकित्सक सङ्घबिच पाँच बुँदे सम्झौता भएर राम्रो काम भएको भन्दै वार्ताबाट समाधान खोज्नु नै महत्त्वपूर्ण भएको बताए ।