Butwal Today

मन्त्रिपरिषद्को निर्णयः ९ विधेयक संसद्मा पेस गर्न स्वीकृति

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । सरकारले विभिन्न नौ वटा विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका सर्त र सुविधासम्बन्धी ऐन, २०५३ संशोधन विधेयक, खानी तथा खनिज पदार्थसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, सङ्क्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयक तथा राहदानी ऐन, २०७६ संशोधन विधेयक सङ्घीय संसद्मा पेस गर्न स्वीकृति दिएको हो ।

बैठकले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) पहिलो संशोधन विधेयक, बालश्रम (निषेध तथा नियमित गर्ने) सम्बन्धी विधेयक, आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, मेलमिलापसम्बन्धी ऐन, २०६८ संशोधन विधेयक तथा कर्मचारी सञ्चय कोष ऐन, २०१९ संशोधन विधेयक पनि संसद्मा पेस गर्न स्वीकृति दिएको छ ।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद्ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक वा उनले तोकेको अधिकृतलाई विदेशी विनिमयसम्बन्धी कसुरको अनुसन्धान अधिकारी तोक्ने निर्णय पनि गरेको छ ।

त्यसै गरी, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको सदस्यमा सिन्धुलीका खेटराज दाहाललाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ ।  मन्त्रिपरिषद्को बैठकले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (छैटौँ संशोधन) नियमावली, २०८३ पनि स्वीकृत गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?