© 2026
काठमाडौँ । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन प्रणाली सुधार र निर्वाचन आयोगलाई प्रभावकारी बनाउन सरकार तथा राजनीतिक दलको सहयोग अपरिहार्य रहेको बताएका छन् ।
सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले उठाएका चासो र जिज्ञासाको जवाफ दिँदै उनले निर्वाचन प्रणाली सुधारका लागि तीनै तहका सरकार र राजनीतिक दलको सहकार्य आवश्यक रहेको बताए ।
कार्कीले निर्वाचन आयोगलाई सफल बनाउन सबै राजनीतिक दल र सरकारका सबै तहबाट समान रूपमा सहयोगको अपेक्षा रहेको उल्लेख गर्दै प्रक्रिया नपुगी दर्ताका लागि आएका रिट निवेदन स्वीकार गर्न नसकिएको स्पष्ट पारे ।
उनले निर्वाचनमा पैसा र शक्तिको दुरुपयोगलाई कानुनी रूपमा नियन्त्रण गरिएको उल्लेख गर्दै राजनीतिक दल, सरकार तथा सञ्चारमाध्यम सबैले कानुनको पालना गर्नुपर्नेमा जोड दिए । आयोग त्यसप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको उनको भनाइ थियो ।
कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी विषयमा आफू विशेषज्ञ नभए पनि सूचना प्रविधिमैत्री निर्वाचन प्रणाली निर्माण गर्दै राजनीतिक दलहरूबिच निष्पक्ष ‘रेफ्री’ को भूमिका निर्वाह गर्ने विश्वास उनले व्यक्त गरे ।
कार्कीले मतदान केन्द्रमै मतगणना गर्ने व्यवस्था लागू गर्न सके लागत घट्ने र नतिजा पनि छिटो आउने भएकाले निर्वाचन सुधारमा सहयोग पुग्ने बताए । निर्वाचनका दिन सुरक्षा कारणले सवारीसाधन सञ्चालनमा लगाइने प्रतिबन्धबारे पनि थप छलफल गरिने उनले जानकारी दिए ।
विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न उनीहरूको सङ्ख्या यकिन गर्ने, उपयुक्त मतदान विधि तय गर्ने लगायत विषयमा विस्तृत गृहकार्य आवश्यक रहेको उनको भनाइ थियो । ‘नो भोट’ व्यवस्थाबारे पनि गहन छलफल आवश्यक रहेको उनले बताए ।
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वसनीय ढङ्गले सम्पन्न गराउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको उल्लेख गर्दै बदर मत घटाउन सबै पक्ष मिलेर निर्वाचन शिक्षा अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।