Butwal Today

नेपाल टेलिकमका सबै टावरमा भरपर्दो विद्युत् पुर्‍याउन सञ्चारमन्त्रीको निर्देशन

१३ श्रावण २०८३, बुधबार
अ+
अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमको सेवा पहुँच र गुणस्तर सुधारका लागि देखिएका समस्या तत्काल समाधान गर्न तथा सम्भव भएसम्म सबै टेलिकम टावरमा भरपर्दो विद्युत् प्रणाली जडान गर्न सम्बन्धित निकायलाई प्रभावकारी समन्वय गर्न निर्देशन दिएका छन् ।

सञ्चार मन्त्रालयमा आज आयोजित अन्तरनिकाय छलफलमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी, नेपाल विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख राजन ढकाल, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाललगायत सहभागी थिए ।

छलफलमा नेपाल टेलिकमका ‘बेस ट्रान्ससिभर स्टेशन’ (बिटीएस), टावर तथा अन्य दूरसञ्चार उपकरणमा भरपर्दो विद्युत् आपूर्ति नपुग्दा देशका विभिन्न क्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा प्रभावित भएको विषयमा समीक्षा गरिएको थियो ।

सञ्चारमन्त्री डा। तिमिल्सिनाले नागरिकलाई गुणस्तरीय र भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै अब समस्या पहिचानमा मात्र सीमित नभई नतिजामुखी ढङ्गले काम गर्न निर्देशन दिए ।

उनले नेपाल टेलिकमका टावरमा विद्युत् पहुँच विस्तारका लागि नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बिच स्थायी समन्वय प्रणाली विकास गर्न, कार्य समूह गठन गरी स्पष्ट कार्य योजनासहित अघि बढ्न निर्देशन दिए ।

“विगतमा अन्तरनिकाय समन्वय कमजोर हुँदा अहिलेका धेरै समस्या देखिएका छन् । अब प्रत्येक निकायले सम्पर्क व्यक्ति तोकेर नियमित समन्वय गर्ने व्यवस्था मिलाउनुपर्छ । मन्त्रालय नीतिगत समन्वयका लागि आवश्यक सहयोग गर्न तयार छ,” उनले भने ।

सम्भव भएसम्म सबै टेलिकम टावरमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् पुर्‍याउने विषयमा सञ्चार मन्त्रालय र ऊर्जा मन्त्रालय दुवै प्रतिबद्ध रहेको उनले बताए । विद्युत् नपुगेका टावरको स्पष्ट विवरण नेपाल विद्युत् प्राधिकरणलाई उपलब्ध गराएर प्राथमिकताका आधारमा विद्युत् विस्तार गर्नुपर्नेमा उनले जोड दिए ।

विद्युत् पुगेका स्थानमा पनि कम भोल्टेजका कारण सेवा प्रभावित भइरहेको उल्लेख गर्दै उनले वितरण प्रणालीको क्षमता विस्तार गर्न आवश्यक रहेको बताए ।

सञ्चारमन्त्री डा। तिमिल्सिनाले फोरजी सेवाको गुणस्तर सुधार गर्दै क्रमशः फाइभजी सेवा सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माणमा तीव्रता दिनुपर्नेमा जोड दिए । दुर्गम तथा ग्रामीण क्षेत्रमा टेलिफोन र उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिए ।

काठमाडौँ उपत्यकालगायत प्रमुख सहरमा अव्यवस्थित रूपमा झुन्डिएका तार व्यवस्थापनका लागि नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र सम्बन्धित निकायबिच सहकार्य आवश्यक रहेको उनले बताए ।

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक सङ्गीता पहाडीले विद्युत् पहुँचको अभाव दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तारको प्रमुख चुनौती बनेको बताइन् । उनका अनुसार हाल नेपाल टेलिकमका ३१६ वटा टावर राष्ट्रिय प्रसारण लाइनको भरपर्दो विद्युत्बाट वञ्चित छन् र ती सौर्य ऊर्जाको भरमा सञ्चालन भइरहेका छन् ।

उनले नेपाल टेलिकमले करिब दुई हजार नयाँ टावर निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिँदै तीमध्ये करिब एक हजार ४०० टावरमा नयाँ विद्युत् लाइन विस्तार गर्नुपर्ने अवस्था रहेको बताइन् । सञ्चालनमा रहेका कतिपय टावरमा पनि कम भोल्टेजका कारण उपकरण पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको भन्दै नयाँ साइटमा विद्युत् जडान, पुराना साइटमा भरपर्दो आपूर्ति तथा भोल्टेज क्षमता वृद्धि आवश्यक रहेको उल्लेख गरिन् ।

नेपाल विद्युत् प्राधिकरणका प्रतिनिधिले टेलिकमका टावरमा विद्युत् पहुँच विस्तार गर्न हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरूले विगतमा दुई निकायबिच पर्याप्त समन्वय नहुँदा समस्या भएको स्वीकार गर्दै अब नयाँ टावर निर्माणसँगै विद्युत् पूर्वाधार पनि विस्तार गर्ने गरी संयुक्त योजना बनाउनुपर्नेमा जोड दिए ।

प्राधिकरणले कम भोल्टेजको समस्या समाधान गर्न प्रसारण तथा वितरण लाइनको क्षमता विस्तारलाई प्राथमिकतामा राखिने जनाएको छ । साथै, नियमित समन्वयका लागि संयुक्त समिति गठन गर्न सकिए समस्या समाधान अझ प्रभावकारी हुने धारणा राखिएको छ । काठमाडौँ उपत्यका, पोखरा र चितवनलगायत क्षेत्रमा विद्युत्का तार भूमिगत गर्ने कार्यसँग दूरसञ्चार पूर्वाधारलाई कसरी समन्वय गर्ने भन्ने विषयमा पनि छलफल भएको छ ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले देशव्यापी पूर्ण विद्युतीकरण अभियानमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य भइरहेको जानकारी दिँदै दुर्गम तथा ग्रामीण क्षेत्रमा लघुजलविद्युत् र सौर्य ऊर्जामार्फत टेलिकम टावरमा विद्युत् उपलब्ध गराउन केन्द्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रिय प्रसारण लाइन पुर्‍याउन कठिन हुने स्थानमा सौर्य प्रविधिमार्फत दूरसञ्चार सेवा निरन्तर सञ्चालनमा सहयोग गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?