© 2026
एक स्वस्थ मानिसको शरीरबाट निकालिएको रगत र रक्ततत्वलाई विभिन्न रोग परिक्षण गरि,रगतको आवश्यक्ता परेको बिरामीलाई रगत चढाउनुलाई रक्तसञ्चार भनिन्छ । विश्वमा रक्तसञ्चार सेवाको ईतिहास झण्डै ४ सय बर्ष पुरानो छ ।
मानव शरीर चिकित्सा विज्ञानमा रक्तसञ्चारको महत्वपूर्ण भुमिका मानिन्छ । १६१६ मा वैज्ञानिक डा. विलियम हार्वेले मानव जाति लगायत सम्पुर्ण प्राणीहरूमा रक्तसञ्चार हुन्छ भन्ने तथ्य पत्ता लगाएका हुन।
सन १६६५मा डा.रिचार्ड लोबेरले एउटा कुकुरको रगत अर्काे कुकुरमा सफल सञ्चार गराएका थिए । त्यसपछि जनावरको रगत मानव शरीरमा सञ्चार गर्ने क्रममा मानिसको मृत्यु भयो । यसबाट अन्य प्राणीको रगत मानव शरीरमा सञ्चार हुँदैन भन्ने तथ्य पत्ता लागेको हो ।
सन १८१८ मा डा.जेम्स ब्लेण्डेलले मानव शरीरको रगत अर्काे मानवमा सञ्चार गर्न सकिन्छ भन्ने तथ्य पत्ता लगाएका हुन । सन १९०१ मा डा. कार्ल ले्डेस्टेनरले नाम गरेका अष्ट्रियाका वैज्ञानिकले मानव शरीरमा सञ्चार भैरहने रगतको समूह पत्ता लगाए । ए, ओ र बि रक्त समूह हुन्छ भनेर मानव शरीरमा हुने रगतको रक्त समूह पत्ता लगाए ।
यसले चिकित्सा विज्ञानमा महत्त्वपूर्ण उपलव्धि भएको छ । सन १९१४ मा बेल्जियमका डा.हस्टिनले मानव शरीरबाट निकालिएको रगतलाई आवश्यक तरल पदार्थ राखी निश्चित दिनसम्म सुरक्षित रहने गरि बोत्तलमा राख्न सकिने तथ्य सार्वजनिक गरेका थिए । सन १९३० मा डा.कार्ल लेण्डेस्टेनरलाई नोवेल पुरस्कारबाट सम्मानित गरेका थिए ।
मानव रगतमा ए, ओ र बि रक्त समुह हुन्छ भन्ने महत्वपूर्ण तथ्य पत्ता लगाएकोले उनलाई सम्मानित गरेको हो । विश्व स्वास्थ्य संगठनले तिनै कार्ल लैण्डेस्टेनरको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व रक्तदाता दिवसको रूपमा मनाउने निर्णय गरेको हो । सन १९३२ मा एशियाका डा.एन्डी बाग्दासरावले बोत्तलमा राखिएको रगतलाई ४ डिग्री सेन्टिग्रेड तापक्रममा २१ दिनसम्म सुरक्षित राख्न सकिने तथ्य पत्ता लगाए।उनले यो प्रविधिको विकास गरे ।
सन १९३६ मा क्यानाडाका डा.नर्मल बेश्युनले स्पेनको म्याड्रिड शहरमा विश्वको पहिलो ब्लड बैंक स्थापना गरेका हुन।सन १९४० मा डा.कार्ल लैण्डेस्टेनर र डा.एलेक्जेण्डरको संयुक्त अध्यनबाट मानव रगतमा आर.एच.(नेगेटिभ÷पोजिटिभ)समूह पत्ता लगाए । मानव शरीरमा हुने रगतको ए, बि र ओ समूहसंगै आर.एच.समूह चिकित्सा विज्ञानमा सवैभन्दा महत्वपूर्ण उपलव्धि मानिन्छ । बिरामी मानिसको उपचारमा रक्त समुहको आधारमा सम्भव भएको हो ।
सन १९४२ मा कोलकातामा भारतको पहिलो ब्लड बैंक स्थापना भएको हो । नेपालमा वि.सं.२०२० चैत्र २० गते नेपाल रेडक्रस सोसाईटीको स्थापना भएको थियो । नेपाल रेडक्रस सोसाईटीको स्थापना भएको ३ बर्षपछि वि.सं.२०२३ श्रावण १२ गते वीर अस्पतालको एउटा सानो कोठामा पहिलो व्लड बैंक स्थापना भएको हो ।
लक्ष्मी ब्लड बैंक नामाकरण गरिएको सो बैंकले पहिलो बर्ष १सय ५७ युनिट रगत जम्मागरी आवश्यक बिरामीलाई उपलब्ध गराएको थियो । १ सय १० युनिट रगत पेशेवर रक्तदाताबाट (रगत बेच्ने भरियाहरू), ३२ युनिट बिरामीका आफन्तहरूबाट, १५ युनिट मात्र स्वयंसेवी रक्तदाताबाट रगत जम्मा गरि विरामीलाई वितरण गरिएको थियो ।
यसरी नेपालमा औपचारिक रूपमा रक्तसञ्चार शुरु भएको मिति श्रावण १२ लाई हरेक बर्ष नेपाल रेडक्रस सोसाईटीले रक्तसञ्चार दिवसको रूपमा कार्यक्रम गर्दै मनाउँदै आईरहेको छ । नेपाल रेडक्रस सोसाईटीले क्रमिक रूपमा आफ्नो क्षमता विस्तार गरि देशभरी १०० भन्दा धेरै स्थानबाट रगत व्यवस्थापन गर्दै आएको छ ।
आर्थिक बर्ष २०८१/८२ मा नेपाल भरिका ब्लड बैकबाट ३ लाखभन्दा धेरै युनिट रगत संकलन गरि ४ लाख युनिट भन्दा धेरै रगत रक्ततत्व वितरण गरेको छ । प्रारम्भमा रगत बेच्ने पेशेवर व्यक्तिहरूवाट रगत संकलन गरिन्थ्यो ।
थुप्रै भरियाहरूले पैसा लिएर रगत बिक्री गर्ने गर्थे । वि.सं.२०४० मा तत्कालिन सरकारले रगतको बेचविखन पूर्णतया अवैध घोषणा गरेपछि स्वयंसेवी रक्तदाताहरूको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको छ । वि.सं.२०४८ चैत्र २४ गतेबाट मन्त्रीपरिषदको निर्णय अनुसार रक्त संकलन र वितरणको एकल जिम्मेवारी नेपाल रेडक्रस सोसाईटीलाई सुम्पिएको थियो । नेपाल रेडक्रस सोसाईटी अन्तर्गत केन्द्रीय रक्तसञ्चार केन्द्र काठमाडौंमा स्थापना गरिएको थियो र त्यस केन्द्रबाट आवश्यक सहयोग र नियन्त्रणमा देशभरी रक्तसञ्चार केन्द्र, रक्तसञ्चार ईकाई र ईमर्जेन्सी युनिटको रूपमा गठन भएका छन ।
चितवन, पोखरा, नेपालगन्ज र विराटनगरमा क्षेत्रीय रक्तसञ्चार (हाल प्रादेशिक) रूपमा ब्लड बैंक सञ्चालन हुँदै आएको छ । बुटवल, धनगढी, धरान, चितवन, काठमाडौ, बिराटनगर लगायत अन्य शहरहरूमा भएका रक्तसञ्चार सेवा केन्द्र धेरै रगत संकलन र वितरण हुने स्थान हुन ।
नेपालमा रक्तसञ्चार सेवाको इतिहास ६० बर्ष पुगेको छ । नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले आजको दिन अर्थात श्रावण १२ लाई रक्तसञ्चार दिवसको रूपमा मनाउँदै आएको छ । यस दिन प्रत्येक रक्तसञ्चार केन्द्रले आर्थिक बर्षभरि रगत संकलन र वितरण गरेको विवरण प्रस्तुत गर्ने, अत्याधिक रक्तदान गर्ने संघ संस्थालाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिन्छ ।’
नेपाल रेडक्रस सोसाइटी एक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । यस संस्थाप्रति सम्पूर्ण संघसंस्था एवं सर्वसाधारण नागरिक, स्वयंसेवी रक्तदाताहरूको विश्वास रहेको छ । वास्तवमा यतिधेरै मात्रामा रगत रक्ततत्व संकलन एवं वितरण गर्नु धेरै नै चुनौतिपुर्ण कार्य हो । तर अहिले नेपाल रेडक्रस सोसाईटीलाई रगतको अत्याधिक मागलाई सहज व्यवस्थापन गर्न नसकेको आरोप लागेको छ । नेपाल सरकारले रक्तसञ्चार निती २०७१ जारी गरिसकेको छ ।
यो नीतिले रगत व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटिको एकल जिम्मेवारी हटाएको छ । अब अस्पताल एवं स्वास्थ संस्थाले न्युनतम मापदण्ड पूरा गरि ब्लड बैंक संचालन गर्ने अनुमति पाउन सक्छन । रक्तसञ्चार सेवा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि र मापदण्ड अनुसरण र विकसित गरि देशव्यापी रूपमा सबै केन्द्रहरूमा समानरूपले कार्यन्वयन गर्ने गरि नयाँ नितिको व्यवस्था गरिएको हो । यस नीतिको प्रमुख उद्देश्य शत प्रतिशत स्वैच्छिक रक्तदान र स्वस्थ रक्तदान हो ।
विरामीलाई समयमै रगत रक्ततत्व व्यवस्थापन गरि उपचारमा सहयोग गर्ने समेत यसको उद्देश्य रहेको छ । नेपालको रक्तसञ्चार सेवा नियमनको लागि राष्ट्रिय रक्तसञ्चार व्युरो स्थापना गरिएको छ । यस व्युरोले हाल सञ्चालित सम्पुर्ण ब्लड बैंकलाई अनुगमन, नियमन र वार्षिक नविकरण गर्ने गर्दछ । साथै नयाँ ब्लड बैंक खोल्न चाहने संघ संस्थालाई निश्चित प्रक्रिया र आवश्यक मापदण्ड पूरा भए पश्चात् संचालन अनुमति दिने गर्दछ ।
रक्तसञ्चार नीति जारी भएपछि केही निजी अस्पतालहरूले समेत रक्तसञ्चार (ब्लड बैंक) केन्द्र सञ्चालन गर्दै आईरहेका छन । यसबाट बिरामीलाई रगत व्यवस्था गर्न नेपाल रेडक्रस सोसाईटीको विकल्प तयार भएको छ ।
रगत व्यवस्थापनमा केही सहजता भएको छ । निजी स्तरबाट सञ्चालित ब्लड बैंकहरूले रगत तथा रक्ततत्वको शुल्क अत्याधिक राखेर, रगत तथा रक्ततत्त्वको व्यापार गर्दै आईरहेका छन । काठमाडौंमा रहेका केही नाम चलेका ग्रान्डी, मेडिसिटी लगायतका हस्पिटलहरूले रु २ हजार १ सयसम्म रगतको शुल्क असुल्दै आईरहेको समाचार प्रकाशन भएको थियो ।
नेपाल रेडक्रस सोसाईटीबाट सञ्चालित बुटवलको ब्लड बैंकले रु ९ सय ५० मा रगत तथा रक्ततत्व वितरण गर्दै आईरहेका छन । स्वयंसेवी रक्तदाताहरूबाट स्वैच्छिक रूपमा निःशुल्क लिईएको रगत तथा रक्ततत्वको व्यापार गर्ने होडबाजी चलेको छ । नियमनकारी सरकारी निकाय नेपाल रक्तब्युरो यस सन्दर्भमा मौन छ ।
बुटवलमा रगत तथा रक्ततत्व व्यवस्थापन
वि.सं. २०२७ श्रावण ७ गते नेपाल रेडक्रस सोसाईटी रूपन्देही जिल्ला शाखाको स्थापना भएको हो । नेपाल रेडक्रस सोसाईटी स्थापना पछि वि.सं.२०३४ सालमा बुटवल ब्लड बैंकको स्थापना भएको थियो । त्यसैगरी हस्पिटल युनिटको रूपमा वि.सं.२०५७ बाट युनिभर्सल मेडिकल कलेज, सिद्धार्थनगर भैरहवामा समेत ब्लड बैंक स्थापना भएको थियो ।
वि.सं. २०६८ मा विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त ब्लड कम्पोनेन्ट छुट्याउने मेसिनबाट बिरामीको सेवा पु¥याउँदै आएको छ । बुटवल तथा नजिकका क्षेत्रहरूमा रक्तदानको राम्रो अभियान चलेको छ ।
झण्डै ६ सयभन्दा धेरै संघसंस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आईरहेका छन । राजनैतिक दल, तिनका भातृ संगठन, व्यवसायिक संघसंस्था, गैर सरकारी संघ संस्था, बैंक तथा वितीय संघसंस्था, सहकारी संघसंस्था, धार्मिक संघसंस्था, शैक्षिक संघ संस्था सबैले नियमित रक्तदान कार्यक्रम गर्दै आईरहेका छन ।
आर्थिक बर्ष २०८२/८३ मा बुटवल ब्लड बैंक र सिद्धार्थनगर ईकाईबाट ३३ हजार ७ सय युनिट रगत संकलन गरि ३९ हजार ४३ युनिट रगत तथा रक्ततत्व वितरण भएको छ । रगत प्रयोग हुने सन्दर्भमा महिला बिरामीतर्फ २१ हजार २ सय बयासी र पुरुष बिरामीतर्फ १७ हजार ७ सय ६१ रहेको देखिन्छ । रगत संकलनतर्फ पुरुष रक्तदाताबाट २८ हजार ६ सय १६ र महिला रक्तदाताबाट ५ हजार ८४ युनिट रहेको देखिन्छ।महिला रक्तदाताहको संख्या १५ प्रतिशत देखिन्छ । रगत प्रयोग हुने सन्दर्भमा महिलामा बढि देखिन्छ ।
यो तथ्यांकमा लुम्बिनी प्रादेशिक अस्पताल र भीम अस्पताल भैरहवामा सञ्चालित ब्लड बैंकको तथ्यांक समावेश गरिएको छैन । लुम्बिनी प्रादेशिक अस्पतालले सबैभन्दा धेरै ११२९१ युनिट रगत तथा रक्ततत्व खपत गरेको छ । युनिभर्संल मेडिकल कलेज भैरहवाले ६६४३ र देवदह मेडिकल कलेजले २७६४, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले २५८७ युनिट रगत तथा रक्ततत्व खपत गरेको छ । रूपन्देही जिल्लामा स्वयंसेवी रक्तदाताहरू धेरै सकृय छन ।
]स्वयंसेवी रक्तदाताहरूको अत्याधिक संख्या रहेको यस क्षेत्रले रगत नपाए बुटवल जानू भनेर अभियान चलाएको छ । यसबाट बुटवलको गरीमा बढाउँदै बुटवललाई नयाँ चिनारी दिएका छन । अब सहज रगत व्यवस्थापन संगै निःशुल्क रगत र रक्ततत्व वितरण हुनुपर्छ । स्वयंसेवी रक्तदाताहरूको अभियानले गर्दा रगतको सहज आपुर्ति हुँदै आएको छ ।
स्वयंसेवी तरिकाले निःशुल्क दान गरेको रगत र रक्ततत्वलाई निःशुल्क वितरण हुनुपर्छ भन्ने माग स्वयंसेवी रक्तदाताहरूको रहेको छ । राज्यले रगत व्यवस्थापनमा लाग्ने सम्पूर्ण लागत व्यवस्थापन गर्नुपर्दछ र रगत र रक्ततत्व निःशुल्क वितरण गर्नुपर्दछ । यस सम्बन्धमा लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा लाग्ने रगत तथा रक्ततत्वको शुल्क निःशुल्क गरेको छ ।
त्यसैगरी रूपन्देहीको सैनामैना बाहेक अन्य पालिकाले निःशुल्क रगत तथा रक्ततत्व वितरण अभियानमा सहकार्य गरेका छन । गुल्मी, कपिलवस्तु र अर्घाखाँचीका समेत केही पालिकाहरूले रगत निःशुल्क वितरण अभियानमा सहयोग गरेका छन । नेपाल रेडक्रस सोसाईटीले निर्धारण गरेकोे रगत तथा रक्ततत्वको शुल्क रु ९ सय ५० रक्तसञ्चार ब्युरोले निर्धारण गरेको अधिकतम शुल्कभन्दा रु १०० धेरै भएको गुनासो लुम्बिनी प्रदेशका स्वयंसेवी रक्तदाता संघसंस्थाले उठाउँदै आएका छन ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ब्लड बैंक सञ्चालनमा आएको छ । यो ब्लड बैंकलाई सबै स्वयंसेवी रक्तदाता संघसंस्थाहरूको सहकार्यमा अघि बढाउनुपर्छ । लुम्बिनी प्रादेशिक अस्पतालका बिरामीहरूलाई यस ब्लड बैंकले रगत तथा रक्ततत्व व्यवस्थापन गर्नुपर्छ । रगतको सहज व्यवस्थापनमा अस्पताल र चिकित्सकहरूको सहयोग महत्त्वपूर्ण हुन्छ ।
रगतको व्यवस्थापनमा चिकित्सकहरूको भुमिका महत्वपूर्ण हुन्छ । नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाको स्थापना संगै स्वयंसेवी रक्तदान अभियानले अर्काे उचाई थपेको छ । हरेक बर्ष सर्वाधिक रक्तदान गर्ने संस्थाको रूपमा सम्मानित हुँदै आएको छ । यस बर्ष नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही जिल्ला शाखाले ४२७९ युनिट रगत संकलन गरेर नेपाल रेडक्रस सोसाइटी रूपन्देही जिल्ला शाखा अन्तरगतको ब्लड बैंकलाई हस्तान्तरण गरेको छ ।
त्यसैगरी तिलोत्तमा शाखाले ९७० युनिट संकलन गरेर तेश्रो भएको छ । त्यसैगरी ६३७ महिला रक्तदाता सहभागी गराई उत्कृष्ट संस्थाको रूपमा सम्मान प्राप्त गरेको छ । त्यसैगरी नेपाल स्वयंसेवी रक्तदाता समाज देवदह शाखाले १२३ युनिट र स्वयंसेवी रक्तदाता सहकारी संस्था लि. बुटवल रूपन्देहीले १४८ युनिट रगत तथा रक्ततत्व संकलन गरेकोमा रक्तसञ्चार दिवसको अवसरमा सम्मानित हुने अवसर प्राप्त भएको छ ।
रगत तथा रक्ततत्व व्यवस्थापन, ब्लड बैंक सञ्चालन, अनुगमनको जिम्मेवारी लिएको रक्त व्युरोले नीतिगत सुधारको कार्यक्रम ल्याउनुपर्छ । अब स्वयंसेवी रक्तदाता संघ संस्थाहरूले समेत ब्लड बैंक सञ्चालन गर्न पाउने गरि नीति ल्याउनुपर्ने माग स्वयंसेवी रक्तदाताहरूको रहेको छ ।
अध्यक्ष, नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देही