Butwal Today

किमडाडामा बिमा जागरण कार्यक्रम, मृत्यु दाबी बापत सहकारीलाई १ लाख १० हजार भुक्तानी

१ आश्विन २०८३, बिहीबार
अ+
अ-

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८, किमडाडामा बीमा जागरण कार्यक्रम सम्पन्न भएको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिकोत्सवको अवसरमा बिहीबार लाली गुराँस महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरूबीच बीमा जागरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बीमाको महत्व, आवश्यकता तथा कर्जा सुरक्षण बीमासम्बन्धी जानकारी प्रदान गरिएको थियो ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी एरिया म्यानेजर तथा अर्घाखाँची शाखा प्रमुख मिना बस्यालले बीमाको अवधारणा, बीमाबाट प्राप्त हुने सुरक्षा तथा जीवनमा आइपर्ने जोखिम व्यवस्थापनमा बीमाको भूमिकाबारे जानकारी गराइन् ।

उनले बीमा भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै बीमासम्बन्धी सचेतना आवश्यक रहेकोमा जोड दिइन् ।

लाली गुराँस महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी अध्यक्ष गीता थापाको अध्यक्षता तथा कृष्णा भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा स्थानीयको सहभागिता रहेको थियो ।

कार्यक्रममा बीमा जागरणसँगै मृत्युदाबी भुक्तानीसमेत गरिएको थियो । लाली गुराँस महिला सहकारी संस्थामार्फत श्रीमती कमला खत्रीले ४५० रुपैयाँमा कर्जा सुरक्षण म्यादी जीवन बीमा गरेकी थिइन् । उनका श्रीमान् गोपाल खत्रीको मृत्यु भएपछि बीमा कम्पनीले कर्जा सुरक्षण म्यादी जीवन बीमाबापत १ लाख १० हजार रुपैयाँ सहकारी संस्थालाई प्रदान गरेको हो ।

बीमा कम्पनीबाट प्राप्त उक्त रकम कर्जा सुरक्षणअन्तर्गतको दाबी भुक्तानीका रूपमा सहकारीलाई हस्तान्तरण गरिएको जनाइएको छ । कर्जा लिने सदस्यको मृत्यु हुँदा परिवार तथा सहकारीमाथि पर्न सक्ने आर्थिक भार कम गर्न कर्जा सुरक्षण म्यादी जीवन बीमाले महत्वपूर्ण भूमिका खेल्ने यस घटनाले देखाएको छ ।

सहकारीमार्फत सञ्चालन हुने कर्जा सुरक्षण बीमाले ऋणी सदस्यको मृत्युका कारण बाँकी कर्जा भुक्तानीमा उत्पन्न हुन सक्ने समस्या न्यूनीकरण गर्न सहयोग पुर्‍याउँछ । यसले एकातर्फ सहकारीको कर्जा असुली प्रक्रियालाई सहज बनाउने र अर्कोतर्फ ऋणी सदस्यका परिवारलाई आर्थिक जोखिमबाट राहत प्रदान गर्ने उद्देश्य राख्छ ।

कार्यक्रमका सहभागीहरूले बीमा केवल भविष्यको जोखिमविरुद्धको आर्थिक सुरक्षा मात्र नभई परिवारको वित्तीय स्थायित्वसँग जोडिएको विषय भएको बताएका थिए । ग्रामीण तथा स्थानीय समुदायमा बीमासम्बन्धी जानकारी विस्तार गर्न यस्ता जागरण कार्यक्रम उपयोगी हुने उनीहरूको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?