© 2026
काठमाडौँ । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३३.२८ अंकको गिरावट आएको छ । गत साता सुधारको लयमा देखिएको शेयर बजार आज पुनः ओरालो लागेको हो ।
सोमबार नेप्से परिसूचक ३३।२८ अङ्क अर्थात् १.२१ प्रतिशतले घटेर २ हजार ७०१.३२ विन्दुमा झरेर बन्द भएको छ । बजार खुलेदेखि नै बिक्रीचाप देखिएपछि परिसूचक लगातार घटेको थियो ।
आज ३६० कम्पनीका १ करोड ३९ लाख २५ हजार ३३७ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ८ करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस अवधिमा ६९ हजार ८०३ वटा कारोबार सम्पन्न भएका छन् ।
नेप्सेका अनुसार आज ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको शेयर मूल्य घटेको छ । पाँच कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
घट्दो बजारमा पनि एभरेष्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । कम्पनीको शेयर मूल्य १४।९९ प्रतिशतले बढेको छ । यता, आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी १३ प्रतिशतले घटेको छ ।
समूहगत परिसूचकतर्फ बैङ्किङ र म्युचुअल फन्डबाहेक सबै समूहमा गिरावट आएको छ । उत्पादन तथा प्रशोधन, व्यापार तथा होटल तथा पर्यटन समूहमा दुई प्रतिशतभन्दा बढी गिरावट देखिएको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स ३३ करोड ८६ लाख ६६ हजार ५८१ रुपैयाँको कारोबारसहित अग्रस्थानमा रहेको छ । त्यसपछि ग्लोबल आईएमई बैंक, रिडी हाइड्रोपावर, कुमारी बैंक र सेन्ट्रल फाइनान्स सर्वाधिक कारोबार हुने कम्पनीका रूपमा रहेका छन् ।