© 2026
नेपालको लोक संस्कृति हजारौँ वर्षको सभ्यता, परम्परा, सामाजिक मूल्य र जीवनशैलीको ऐना हो । हाम्रा चाडपर्व केवल रमाइलो गर्ने अवसर होइनन् । ती समाजलाई जोड्ने, परिवारलाई एकताबद्ध गर्ने, संस्कृतिको पुस्तान्तरण गर्ने र मौलिक पहिचान जोगाउने माध्यम हुन्।
तीज, दसैँ, तिहार, होली, माघे सङ्क्रान्ति वा अन्य कुनै पनि पर्वसँग सम्बन्धित गीतहरूले समाजका भावना, भोगाइ, संस्कार र इतिहासलाई बोकेका हुन्छन् । तर पछिल्ला केही वर्षयता यी पर्वलाई लक्षित गरेर निर्माण हुने धेरै गीतहरू हेर्दा लाग्छ, अब उद्देश्य संस्कृति संरक्षण होइन, सस्तो लोकप्रियता र छिटो आम्दानी कमाउनु मात्र हो ।
विशेष गरी तीज गीतको अवस्था अत्यन्त चिन्ताजनक बनेको छ। एक समय तीजका गीतले महिलाका पीडा, सपना, अधिकार, परिवार, समाज र जीवनका यथार्थलाई कलात्मक ढङ्गले प्रस्तुत गर्थे। आज त्यही तीजका नाममा सार्वजनिक भइरहेका कतिपय गीतमा अश्लील शब्द, द्वि अर्थी संवाद, अनावश्यक अङ्ग प्रदर्शन र सस्तो मनोरञ्जनलाई प्राथमिकता दिइएको देखिन्छ । पर्वको मर्मभन्दा शरीरको प्रदर्शन बढी देखिन्छ। संस्कृति भन्दा बजार हाबी भएको छ ।
दुःखको विषय के छ भने, यो प्रवृत्तिको नेतृत्व सामान्य व्यक्तिले होइन, आफूलाई चर्चित र लोकप्रिय भन्ने कलाकारहरूले गरिरहेका छन्। समाजले सम्मान दिएका, लाखौँ दर्शकले पछ्याएका र सांस्कृतिक प्रतिनिधि मानिएका कलाकार नै जब मौलिकता बेचेर लोकप्रियता खोज्न थाल्छन्, त्यसको असर सम्पूर्ण समाजमा पर्छ । कलाकार केवल मनोरञ्जन दिने व्यक्ति मात्र होइन।
उनी समाजका मार्गदर्शक पनि हुन् । त्यसैले उनीहरूको सिर्जनाले समाजलाई कुन दिशातर्फ लैजाँदै छ भन्ने प्रश्न उठ्नु स्वाभाविक हो । आज सामाजिक सञ्जालमा धेरै गीतको सफलता त्यसको शब्द, सङ्गीत वा सन्देशले होइन, विवादले मापन हुन थालेको छ।
अश्लील दृश्य राखियो भने धेरै हेरिन्छ। द्वि अर्थी शब्द प्रयोग गरियो भने धेरै चर्चा हुन्छ। यही सोचले सिर्जनाको स्तर खस्कँदै गएको छ । केही कलाकारले दर्शकको रुचिलाई दोष दिन्छन्। तर दर्शकलाई जे दिइन्छ, उसले सुरुमा त्यही हेर्ने हो ।
कलाकारको जिम्मेवारी समाजको स्तर उकास्ने हो, समाजको कमजोर पक्षलाई व्यापारको माध्यम बनाउने होइन । यस अवस्थाले सबैभन्दा ठुलो चोट नेपाली लोक संस्कृतिलाई पुगेको छ। लोकगीत कुनै एक कलाकारको निजी सम्पत्ति होइन। यो त पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको साझा सांस्कृतिक सम्पदा हो। त्यसलाई विकृत बनाउने अधिकार कसैलाई छैन।
केही लाख भ्यु वा केही दिनको लोकप्रियताका लागि हाम्रो सांस्कृतिक इतिहासलाई दाउमा लगाउनु कुनै पनि हिसाबले उचित मान्न सकिँदैन । यति गम्भीर अवस्था हुँदासमेत नेपाल लोक दोहोरी प्रतिष्ठानको भूमिका झन् प्रश्नको घेरामा परेको छ। लोक संस्कृतिको संरक्षण, प्रवर्द्धन र कलाकारको मर्यादा कायम राख्ने उद्देश्यले स्थापना भएको संस्थाले यस्ता विषयमा प्रभावकारी भूमिका खेल्नुपर्ने हो।
तर अश्लीलता बढिरहेका बेला प्रतिष्ठान प्रायः मौन देखिएको छ। समाजमा व्यापक आलोचना हुँदा पनि स्पष्ट धारणा सार्वजनिक नगर्नु र प्रभावकारी कदम नचाल्नुले संस्थाको जिम्मेवारीमाथि नै प्रश्न उठाएको छ । गत वर्षहरूमा पनि अश्लील शब्द, दृश्य र प्रस्तुतीकरण भएका धेरै गीत सार्वजनिक भएका थिए। व्यापक विरोध भएपछि केही गीत हटाइए। केहीले शीर्षक परिवर्तन गरे। केहीले दृश्य सम्पादन गरे।
तर त्यो सुधार स्थायी बन्न सकेन। अहिले फेरि उही प्रवृत्ति दोहोरिएको छ । यसले देखाउँछ कि समस्या एउटा गीत वा एउटा कलाकारको मात्र होइन। समस्या सोचमा छ । समस्या नियमनको कमजोरीमा छ। समस्या जिम्मेवार निकायको निष्क्रियतामा छ ।
यस विषयमा राज्य पनि जिम्मेवार छ । अभिव्यक्ति स्वतन्त्रताको नाममा समाजमा जस्तोसुकै सामग्री फैलाउन पाइन्छ भन्ने मान्यता लोकतन्त्रको सही व्याख्या होइन। नेपालको संविधानले अभिव्यक्ति स्वतन्त्रताको अधिकार दिएको छ। तर त्यो अधिकारसँग सामाजिक उत्तरदायित्व पनि जोडिएको छ। समाजमा अश्लीलता, विकृति र सांस्कृतिक अपमान फैलाउने सामग्रीलाई नियन्त्रण गर्ने कानुनी संयन्त्र सक्रिय हुनुपर्छ। सम्बन्धित निकायले स्पष्ट मापदण्ड बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्छ ।
यससँगै सञ्चार माध्यम, डिजिटल प्लेटफर्म र सामग्री उत्पादन गर्ने कम्पनीहरूको पनि उत्तिकै जिम्मेवारी छ । केवल धेरै दर्शक आउने आधारमा जुनसुकै सामग्रीलाई प्राथमिकता दिनु दीर्घकालीन रूपमा समाजका लागि घातक हुन्छ । मनोरञ्जन र अश्लीलता एउटै कुरा होइनन्।
सिर्जनात्मकता र सस्तो प्रचार एउटै कुरा होइनन् । अर्कोतर्फ दर्शक र श्रोताले पनि आफ्नो जिम्मेवारी बुझ्नुपर्छ । हामीले कस्ता गीतलाई लोकप्रिय बनाइरहेका छौँ भन्ने प्रश्न आफैँसँग सोध्न आवश्यक छ । राम्रो सिर्जनालाई बेवास्ता गरेर केवल विवादित सामग्रीलाई लाखौँ पटक हेर्ने प्रवृत्ति पनि समस्याको एउटा कारण हो । समाजले राम्रो सिर्जनालाई सम्मान गर्ने र विकृतिलाई अस्वीकार गर्ने संस्कार विकास गर्नुपर्छ ।
नेपालमा उत्कृष्ट लोक स्रष्टा र कलाकारको कमी छैन। आज पनि धेरै गायक, गायिका, सर्जक र सङ्गीतकारले मौलिक संस्कृति जोगाउने उत्कृष्ट काम गरिरहेका छन्। उनीहरूको सिर्जना प्रमाण हो कि लोकप्रिय हुन अश्लील हुनै पर्दैन। राम्रो शब्द, सशक्त सङ्गीत र मौलिक प्रस्तुतीकरणले पनि दर्शकको मन जित्न सकिन्छ । त्यसैले सम्पूर्ण कलाकारलाई एउटै दृष्टिले हेर्न मिल्दैन । तर विकृति फैलाउने प्रवृत्तिको खुलेर विरोध गर्न भने ढिला गर्नु हुँदैन ।
आज आवश्यकता कलाकारलाई गाली गर्ने होइन । सिर्जनाको स्तरमाथि बहस गर्ने हो । संस्थालाई दबाब दिने हो । राज्यलाई जिम्मेवार बनाउने हो। चाडपर्वको गरिमा जोगाउने हो। यदि अहिले पनि हामी मौन बस्यौँ भने केही वर्षपछि तीज, लोकगीत र अन्य सांस्कृतिक सिर्जनाको मौलिक स्वरूप इतिहासका पुस्तकमा मात्र सीमित हुन सक्छ । चाडपर्व हाम्रो पहिचान हो। लोकगीत हाम्रो आत्मा हो । संस्कृतिको मूल्य पैसाले नाप्न सकिँदैन ।
हिजोआज चाडपर्वमा सांस्कृतिक विकृतिसँगै अनावश्यक खर्च गर्ने चलन बढेको छ । आधुनिकताको नाममा चाडपर्वको मौलिकता नै उपेक्षामा पर्न थालेको छ । दिनप्रतिदिन मौलिक संस्कृति र परम्परा हराउँदै गएको छ । साथीभाइ, आफन्त, नातागोता भेटघाट गरी रमाइलो गरी मनाउनुपर्ने चाडपर्वहरू आजकाल परिवारका सदस्यसमेत भेटघाट नगरी आ–आफ्नै तरिकाले मनाउन थालिएको छ ।
त्यसमा सांस्कृतिक चेत पनि लोप हुँदै जानु चिन्ताको विषय हो । हिजोआज चाडपर्वको खान्की पनि स्वास्थ्य निर्माण गर्नेभन्दा बिगार्ने प्रकारको हुन्छ । हामीले बचाए हाम्रो संस्कृति जीवन्त रहन्छ । भविष्यमा आउने पुस्तालाई वास्तविक संस्कृतिको अनुभव गराउन र पुस्तौंपुस्तासम्म हाम्रो संस्कृतिलाई हस्तान्तरण गर्न सकिन्छ ।
कुन चाडपर्व के–कस्तो किसिमले मनाइनुपर्ने हो, पर्वको वास्तविक महत्त्व कुन कुरामा गाँसिएको छ भन्ने कुरा आजको परिवेशमा सबैले थाहा पाउन त्यतिकै जरुरी छ । हाम्रा रीतिरिवाज र चाडपर्व अधिकांश संस्कृतिसँग जोडिएका छन् तर ती बिस्तारै लोप हुँदै जान थालेका छन् ।
केही दिनको लोकप्रियता र केही लाख आम्दानीका लागि पुस्तौँदेखि जोगिँदै आएको सांस्कृतिक सम्पदालाई विकृत बनाउने अधिकार कसैलाई छैन । कलाकारले आफ्नो जिम्मेवारी सम्झिनुपर्छ । नेपाल लोक दोहोरी प्रतिष्ठानले आफ्नो मौनता तोड्नुपर्छ । राज्यले प्रभावकारी नियमन गर्नुपर्छ ।
समाजले पनि सही र गलत छुट्टाउने साहस देखाउनुपर्छ । नत्र भोलिका पुस्ताले तीजका गीतमा संस्कृति होइन, अश्लीलता खोज्नेछन् । लोकगीतमा जीवनका भोगाइ होइन, विवाद खोज्नेछन् । त्यो दिन केवल गीतको हार हुने छैन। नेपाली सभ्यता, मौलिकता र सांस्कृतिक अस्मिताकै हार हुनेछ ।