Butwal Today

एक वर्षमै १२ लाख विदेशी पर्यटक नेपालमा

१० श्रावण २०८३, आइतबार
अ+
अ-

काठमाडौँ । नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्या पछिल्लो आर्थिक वर्षमा १२ लाख नाघेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १२ लाख ९ हजार ३ सय ५७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो वर्षहरूको तुलनामा यो उत्साहजनक वृद्धि हो ।

बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै पर्यटक छिमेकी मुलुक भारतबाट आएका छन् । भारतबाट मात्रै ३ लाख ११ हजार ५ सय ३१ जना पर्यटक नेपाल आएका छन्, जुन कुल पर्यटकको २५.७६ प्रतिशत हो ।

यससँगै भारत नेपालको सबैभन्दा ठुलो पर्यटक स्रोत बजार बनेको छ । भारतपछि दोस्रोमा अमेरिका रहेको छ । अमेरिकाबाट १ लाख ११ हजार ३ सय २५ जना पर्यटक नेपाल आएका छन् भने तेस्रो स्थानमा चीन रहेको छ । चीनबाट १ लाख ९ हजार ८ सय ९२ जना पर्यटक आएका छन् ।

त्यस्तै, बङ्गलादेशबाट ५८ हजार १ सय ६३, बेलायतबाट ५६ हजार ६ सय ४९, अस्ट्रेलियाबाट ५३ हजार १ सय ९५, श्रीलङ्काबाट ४३ हजार २ सय ११, भुटानबाट ३६ हजार २ सय ८९, म्यानमारबाट ३० हजार ७ सय ३७, जर्मनीबाट २९ हजार २ सय ९६, थाइल्यान्डबाट २७ हजार २ सय १, जापानबाट २५ हजार ७ सय ६२ र मलेसियाबाट २५ हजार ६ सय ४० जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ । मासिक रूपमा हेर्दा गत आवमा सबैभन्दा धेरै पर्यटक कात्तिकमा नेपाल आएका थिए ।

कात्तिकमा १ लाख २४ हजार ८ सय २९ जना पर्यटक आएका थिए । त्यसपछि चैतमा १ लाख १९ हजार ३ सय ९०, फागुनमा १ लाख १४ हजार १ सय ५२ र असोजमा १ लाख ११ हजार ७ सय ८० जना पर्यटक नेपाल भित्रिएका थिए ।

पर्यटक सङ्ख्या बढ्नुमा आक्रामक बजार प्रवर्द्धन प्रमुख कारण रहेको बोर्डको भनाइ छ । बोर्डका अनुसार गत आवमा सबैभन्दा नजिकको स्रोत बजार भारतका पुणे, हैदराबाद, चेन्नई, मुम्बई, नयाँ दिल्लीलगायत १२ भन्दा बढी सहरमा प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो ।

भारतबाहेक अन्तर्राष्ट्रिय बजारमा गरी ४० भन्दा बढी प्रवर्द्धनात्मक कार्यक्रम गरिएको थियो । साथै, गत आवको अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएको तराई क्षेत्रमा भएको पर्यटन पूर्वाधारको लगानीलाई सुरक्षित गर्न पूर्वको झापादेखि पश्चिमको कञ्चनपुरसम्म क्रस–बोर्डर पर्यटन मार्ट र मेला आयोजना गरिएको थियो ।

त्यसको प्रभावले स्थलमार्ग हुँदै आउने पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको बोर्डले जनाएको छ । बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँचको विस्तार र निजी क्षेत्रसँगको सहकार्यले पर्यटनमा सकारात्मक वृद्धि भएको बताए ।

“आर्थिक वर्ष २०८२/८३ को पर्यटक आगमनले नेपालको पर्यटन उद्योग पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको स्पष्ट संकेत गरेको छ,” ऐरले भने, “प्रमुख स्रोत बजारसँगै नयाँ सम्भावनायुक्त बजारमा लक्षित प्रवर्द्धनलाई अझ प्रभावकारी बनाउँदै नेपाललाई वर्षभरि आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने हाम्रो प्रयास जारी रहनेछ ।”

सरकारले सन् २०२७ लाई आरोग्य पर्यटन वर्ष घोषणा गरेको उल्लेख गर्दै उनले चालु आवमा पर्यटक आगमन अझै बढ्ने अपेक्षा गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?