Butwal Today

नमेटिने भदौ २४ को पीडा: अशान्तिको छायामा लुम्बिनीको पर्यटन

२४ भाद्र २०८३, बुधबार
अ+
अ-

सिद्धार्थनगर । लुम्बिनीको मायादेवी मन्दिर परिसरमा पर्यटकको चहलपहल बढ्नुपर्ने बेला होटेलका कोठा खाली छन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा विदेशी पर्यटकको आगमनले गति लिन नसक्दा यहाँ खुलेका ठुला होटेलदेखि साना पर्यटन व्यवसायसम्म प्रभावित भएका छन् । पर्यटनको मुख्य सिजन नजिकिँदै गर्दा व्यवसायीहरू भने अझै विश्व बजारमा नेपालको सुरक्षा अवस्थाबारे फैलिएको नकारात्मक सन्देश हट्न नसकेको भन्दै चिन्तित छन् ।

गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनपछि नेपालको राजनीतिक अवस्थामा ठुलो परिवर्तन आयो । तर, आन्दोलनका क्रममा देखिएका हिंसात्मक दृश्यले नेपालको पर्यटन क्षेत्रमा भने अपेक्षितभन्दा लामो असर पारेको व्यवसायीहरूको अनुभव छ ।

आन्दोलनका दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत विश्वभर पुगेपछि नेपाल भ्रमणको तयारीमा रहेका कतिपय विदेशी पर्यटकले भ्रमण रद्द गरे । त्यसको प्रत्यक्ष असर लुम्बिनीको पर्यटन व्यवसायमा परेको छ ।

होटेल एसोसिएसन नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष तथा केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठका अनुसार आन्दोलनको समयमा नेपाल असुरक्षित रहेको सन्देश अन्तर्राष्ट्रिय पर्यटन बजारमा गएको छ । “आन्दोलनपछि विदेशी पर्यटकले पहिले गरेका बुकिङ धमाधम रद्द गरे,” श्रेष्ठले भने, “आन्दोलन सकिएको र नयाँ सरकार बनेको लामो समय भइसक्दा पनि पर्यटकको मनबाट त्यो त्रास पूर्ण रूपमा हटिसकेको छैन ।”

लुम्बिनीमा पर्यटन व्यवसायको विस्तार पछिल्ला वर्षहरूमा तीव्र गतिमा भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि विदेशी पर्यटकको आगमन बढ्ने र लुम्बिनी आसपासमा होटेल तथा पर्यटन पूर्वाधारमा गरिएको ठुलो लगानीले प्रतिफल दिने व्यवसायीहरूको अपेक्षा थियो । तर, विमानस्थल सञ्चालनमा आए पनि अपेक्षित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा त्यो आशा पूरा हुन सकेको छैन ।

अर्बौँ रुपियाँ लगानी गरेर निर्माण गरिएका होटेलहरू अहिले न्यून अकुपेन्सीको समस्यामा छन् । बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर होटल निर्माण गरेका व्यवसायीलाई नियमित किस्ता र ब्याज भुक्तानीको दबाब छ । पर्यटक नआउँदा आम्दानी घटेको छ भने सञ्चालन खर्च भने निरन्तर बढिरहेको छ ।

लुम्बिनीमा मात्रै होइन, रुपन्देहीसहित प्रदेशका अन्य पर्यटकीय गन्तव्यमा समेत यसको प्रभाव देखिएको व्यवसायीहरू बताउँछन् । लुम्बिनीलाई केन्द्र बनाएर कपिलवस्तुको तिलौराकोट, रुपन्देहीकै देवदह र पश्चिम नवलपरासीको रामग्रामलाई जोडेर पर्यटन गतिविधि विस्तार गर्न सकिने सम्भावना भए पनि त्यसअनुसार पर्यटकको बसाइ लम्ब्याउने पूर्वाधार अझै पर्याप्त छैन । लुम्बिनीको पर्यटन विकाससँग सबैभन्दा बढी जोडिएको विषय गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हो ।

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार वर्ष पुगिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा त्यसको प्रत्यक्ष असर लुम्बिनीको पर्यटनमा परेको छ । विदेशबाट सीधा लुम्बिनी आउन सक्ने वातावरण बन्न सकेमा पर्यटकको सङ्ख्या बढ्ने मात्र होइन, उनीहरूको बसाइ पनि लम्ब्याउन सकिने व्यवसायीहरूको विश्वास छ । तर, अन्तर्राष्ट्रिय उडानको निरन्तरताबारे अझै अनिश्चितता कायम छ ।

“गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा नआएसम्म लुम्बिनीले आफ्नो वास्तविक पर्यटकीय सम्भावना उपयोग गर्न सक्दैन,” श्रेष्ठले भने, “सरकारले विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक र व्यावहारिक पहल तत्काल बढाउनुपर्छ ।”

उनका अनुसार लुम्बिनीको पर्यटन विकासका लागि विमानस्थल मात्र पर्याप्त छैन । सडक, होटल, पर्यटकीय स्थलसम्मको पहुँच, सूचना तथा पर्यटकमैत्री सेवा पनि उत्तिकै आवश्यक छ ।

लुम्बिनीमा आउने अधिकांश पर्यटकलाई एक दिनमै फर्किनुपर्ने अवस्थाबाट मुक्त गर्न बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक स्थललाई एउटै पर्यटकीय सर्किटमा जोड्नुपर्ने व्यवसायीहरूको माग छ ।

लुम्बिनी, तिलौराकोट, देवदह र रामग्रामलाई व्यवस्थित रूपमा जोडेर ‘बौद्ध पर्यटकीय सर्किट’ निर्माण गर्न सके विश्वभरका बौद्ध धर्मावलम्बीलाई आकर्षित गर्न सकिने श्रेष्ठको भनाइ छ ।

“लुम्बिनीमा आएर केही घण्टा बिताएर फर्किने पर्यटकलाई धेरै दिन बस्ने वातावरण बनाउनुपर्छ,” उनले भने, “बुद्धसँग सम्बन्धित सबै महत्त्वपूर्ण स्थललाई जोडेर पूर्वाधार निर्माण गर्न सकिए पर्यटकको सङ्ख्या मात्र होइन, उनीहरूको नेपाल बसाइ पनि बढाउन सकिन्छ ।”

यसका लागि तीनै तहका सरकारबिच समन्वय आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ । लुम्बिनी आउने पर्यटकलाई कपिलवस्तु, देवदह र रामग्रामसम्म लैजाने गरी यातायात, होटेल, पदमार्ग, सूचना केन्द्र र अन्य पर्यटन पूर्वाधार विकास गर्न सके यस क्षेत्रको अर्थतन्त्रमा व्यापक प्रभाव पार्न सकिने उनीहरूको विश्वास छ ।

‘जेन–जी’ आन्दोलनको असरबाट पर्यटन क्षेत्र पूर्ण रूपमा तङ्ग्रिन नपाउँदै भदौ १० गते भोटेकोसी, त्रिशूली र रसुवा क्षेत्रमा आएको भीषण बाढी पहिरोले नेपालको पर्यटन क्षेत्रलाई अर्को धक्का दिएको छ ।

गोसाइँकुण्ड, तिमुरे, स्याफ्रुबेँसी तथा केरुङ नाकालगायत पर्यटकीय र व्यापारिक दृष्टिले महत्त्वपूर्ण क्षेत्रमा भएको क्षतिले नेपालको समग्र पर्यटन छविमा थप असर पर्न सक्ने व्यवसायीहरूको चिन्ता छ । प्राकृतिक विपत्तिका कारण सडक तथा अन्य पूर्वाधारमा भएको क्षतिले पर्यटकीय आवागमनमा समेत प्रभाव पार्ने अवस्था छ ।

श्रेष्ठका अनुसार यस्ता विपत्तिका घटनाले अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको धारणा थप प्रभावित हुन नदिन सरकारले राहत र पुनर्निर्माणसँगै सकारात्मक पर्यटन प्रचारलाई पनि सँगसँगै अघि बढाउनुपर्छ ।

पर्यटन व्यवसायीहरू अहिले सरकारबाट तत्काल राहतका साथै दीर्घकालीन पर्यटन रणनीतिको अपेक्षामा छन् । व्यवसाय सुस्ताएको अवस्थामा बैङ्क ऋणको पुनर्संरचना, ब्याजमा सहुलियत र निजी क्षेत्रका लागि राहत प्याकेज ल्याउनुपर्ने उनीहरूको माग छ ।

नेपालको पर्यटन क्षेत्रले राज्यलाई कर तथा राजस्वमा योगदान गर्नुका साथै ठुलो सङ्ख्यामा रोजगारी सिर्जना गरेको भन्दै सङ्कटमा परेको निजी क्षेत्रलाई जोगाउनु सरकारको दायित्व भएको श्रेष्ठ बताउँछन् ।

“नेपाल सुरक्षित छ, पर्यटकलाई स्वागत गर्न तयार छ भन्ने सन्देश विश्व बजारमा फेरि बलियो रूपमा पु¥याउनुपर्छ,” उनले भने । लुम्बिनीका लागि चुनौती अब पर्यटक ल्याउने मात्र छैन, नेपालप्रतिको अन्तर्राष्ट्रिय विश्वास पुनः स्थापित गर्ने पनि हो । त्यसका लागि राजनीतिक स्थायित्व, सुरक्षित पर्यटन वातावरण, नियमित हवाई सम्पर्क र गुणस्तरीय पूर्वाधार आवश्यक छ ।

बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरबाट आउने पर्यटकको सङ्ख्या बढाउन सकिएमा त्यसको लाभ रुपन्देहीमा मात्र सीमित रहने छैन । कपिलवस्तु, नवलपरासी, पाल्पा हुँदै समग्र लुम्बिनी प्रदेशको पर्यटन अर्थतन्त्र चलायमान बन्न सक्छ ।

तर, त्यसका लागि पर्यटन व्यवसायीको एक्लो प्रयास पर्याप्त छैन । सरकारले नीति र पूर्वाधारमा नेतृत्व गर्ने, निजी क्षेत्रले लगानी र सेवा विस्तार गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा नेपाल सुरक्षित गन्तव्य भएको विश्वास दिलाउने काम एकसाथ अघि बढाउनुपर्ने देखिन्छ । विगतमा द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोरोना महामारीजस्ता सङ्कट पार गर्दै उठेको नेपाली पर्यटनका लागि अहिलेको चुनौती पनि असम्भव भने छैन ।

लुम्बिनीको मायादेवी मन्दिरमा फेरि विदेशी पर्यटकको चहलपहल फर्काउने हो भने अब पर्यटनको प्रचारभन्दा पहिले पर्यटकको मनबाट हटाउनुपर्ने डर हटाउनुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?