© 2026
काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको अधिकार सुनिश्चित गर्न पर्यटन ऐनमा सुधार गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
सगरमाथा आरोही सङ्घको २५औँ स्थापना दिवसका अवसरमा आज आयोजित ‘रजत महोत्सव’ कार्यक्रममा पर्यटन ऐनलाई समयसापेक्ष बनाउँदै आरोहीमैत्री बनाउनुपर्नेमा जोड दिइएको हो ।
महोत्सवको उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य मिङ्मा डेविड शेर्पाले पर्यटन क्षेत्रलाई समयसापेक्ष बनाउन तथा आरोहीको अधिकार सुनिश्चित गर्न विद्यमान पर्यटन ऐनमा सुधार गर्नुपर्ने बताए ।
उनले विसं २०३५ मा बनेको पर्यटन ऐन अहिलेसम्म पूर्ण रूपमा परिवर्तन हुन नसक्नु समस्याका रूपमा रहेको उल्लेख गरे । “हामी अझै पनि २०३५ सालको कानुनमा हिँडिरहेका छौँ । अब यसलाई परिवर्तन गर्ने सुनौलो अवसर आएको छ । यसमा तपाईँहरूको साथ र सहयोगको खाँचो छ”, उनले भने ।
राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले पर्यटन प्रवर्द्धन तथा यससँग जोडिएका विषयलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै प्रतिनिधिसभा सदस्य शेर्पाले आरोहीको आवाज बुलन्द गर्न जनताले आफूलाई संसद्मा जिम्मेवारीसहित पठाएको र उक्त जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
सगरमाथा आरोहण सुरु भएको ७३ वर्ष पुगिसक्दा पनि धेरै आरोहीले उचित सम्मान र सुरक्षा नपाएको उनको भनाइ छ । “हामीले थुप्रै आरोही गुमाएका छौँ । कति महिला एकल भएका छन्, बालबालिका टुहुरा भएका छन् । आरोहीको अधिकारका लागि सरकारले के गर्यो भन्ने प्रश्न अझै जीवितै छ”, शेर्पाले भने ।
नेपाली युवा विदेश पलायन भइरहेको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनले युवाले मुलुकको पर्यटन क्षेत्रमा भविष्य देख्ने वातावरण बनाएर रोजगारी तथा अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । नेपाल पर्वतारोहण सङ्घ (एनएमए) का अध्यक्ष फुर गेल्जे शेर्पाले पर्वतीय पर्यटनको विकास भए मात्र देशको समग्र विकास सम्भव हुने बताए ।
नेपाल विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएकाले यसको विकास, प्रचारप्रसार, प्रवर्द्धन तथा संरक्षणमा सबैले ध्यान दिनुपर्ने उनले आग्रह गरे । नेपाल पर्वतारोहण सङ्घले प्रत्येक दुई वर्षमा आरोहीलाई सम्मान गर्दै आएको जानकारीसमेत उनले दिए ।
सगरमाथा आरोही सङ्घकी अध्यक्ष माया शेर्पाले आरोही तथा माउन्टेन गाइडको सुरक्षा, हकहित र सामाजिक सुरक्षाका लागि सरकारले प्रभावकारी नीति निर्माण गर्नुका साथै छुट्टै कल्याणकारी कोष स्थापना गर्नुपर्ने बताइन् ।
नेपालको पर्यटन तथा पर्वतारोहण क्षेत्रलाई विश्वमाझ चिनाउन आफ्नो जीवन जोखिममा राख्ने आरोही र माउन्टेन गाइडको भविष्य सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिइन् । सङ्घका प्रथम उपाध्यक्ष दिवस पोखरेलले आरोही तथा गाइडले हिमाल आरोहणका क्रममा अत्यधिक चिसो, हिमपहिरो तथा अन्य जोखिमको सामना गर्नुपर्ने र कतिपयले ज्यानसमेत गुमाउनुपरेको बताए ।
आरोही तथा गाइडको सुरक्षा र अधिकार सुनिश्चित गर्न सङ्घीय तथा प्रदेश तहमा स्पष्ट र व्यावहारिक नीति आवश्यक रहेको उनको भनाइ छ ।
“संसारले हाम्रा अग्ला र सेता हिमाल देख्छ । तिनको सौन्दर्यको प्रशंसा गर्छ । तर ती हिमालका चुचुरामा देशको झण्डा फहराउने आरोही तथा गाइडको वास्तविक दुःख, पीडा र सङ्घर्ष भने प्रायः ओझेलमा पर्ने गर्छन्”, उनले भने ।
सङ्घका महासचिव शिवबहादुर सापकोटाले दुर्घटनामा परेका आरोहीको निःशुल्क तथा गुणस्तरीय उपचार र ज्यान गुमाएका आरोहीका बालबालिकाका लागि उच्च शिक्षा तथा छात्रवृत्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।
“जबसम्म हाम्रा गाइड र आरोही सामाजिक तथा आर्थिक रूपमा सुरक्षित हुँदैनन्, तबसम्म नेपालको पर्यटन क्षेत्रको दिगो विकास सम्भव छैन”, उनले भने । कार्यक्रममा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने आरोही तथा पर्वतीय पर्यटन क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।
सङ्घले आफ्नो २५औँ स्थापना दिवसका अवसरमा प्रकाशन गरेको ‘रजत स्मारिका’समेत कार्यक्रममा विमोचन गरिएको थियो ।