© 2026
झापा
इलामको रोङ गाउँपालिका–६ स्थित सलकपुरमा सुन्तला खेतीबाट वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुँदै आएको छ। सुन्तला खेती यहाँका स्थानीयको मुख्य आम्दानीको स्रोत बनेको छ। सुन्तला बिक्रीसँगै बगान घुम्न र ताजा सुन्तला खान आउने पर्यटकको सङ्ख्या पनि बढेको छ।
झापाको काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरमा पर्ने सलकपुरको ९० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ। अहिले बगानमा सुन्तला पाकेर पहेँलपुर बनेका छन्। बोटमै फलेका सुन्तला टिपेर खान र बगानमा घुम्न आन्तरिक तथा भारतीय पर्यटक पुग्ने गरेका छन्।
वडाध्यक्ष सत्यम राईका अनुसार सलकपुरमा दैनिक करिब एक सय पर्यटक आउने गरेका छन्। यहाँ वार्षिक ४५० देखि ६०० मेट्रिक टनसम्म सुन्तला उत्पादन हुन्छ। मौसम अनुकूल हुँदा र रोगकिराको प्रकोप कम हुँदा उत्पादन अझ बढ्ने गरेको छ।
सुन्तला बिक्रीबाट मात्रै वार्षिक तीन करोडदेखि चार करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ। गाउँका एक सयभन्दा बढी घरपरिवार सुन्तला खेतीमा संलग्न छन्। पुराना बोट रोगका कारण मर्न थालेपछि किसानले नयाँ बगान विस्तार गरिरहेका छन्।
सलकपुरमा उत्पादन हुने सुन्तला स्वादिलो र रसिलो भएकाले बोटबाटै बिक्री हुने गरेको छ। यहाँको सुन्तला झापाको काँकरभिट्टा, बिर्तामोड र दमक तथा मोरङको विराटनगरसम्म पुग्ने गरेको छ। भारतीय बजार सिलिगुडी र नक्सलबारीमा पनि सलकपुरको सुन्तला बिक्री हुँदै आएको छ।
इलाम, झापा, मोरङ र सुनसरीका साथै भारतको सिलिगुडी, दार्जिलिङ र कोलकाताबाट समेत पर्यटक सलकपुर पुग्न थालेका छन्। स्थानीय देबेन खड्काका अनुसार गाउँका करिब ३० घरमा घरबास सञ्चालनमा छन्। विशेषगरी शुक्रबार र शनिबार घरबासमा पाहुनाको चाप बढ्ने गरेको छ।
सलकपुरमा ३० वटा ठूला सुन्तला बगान छन्। बजारमा सुन्तला प्रतिकिलो २१० देखि २२० रुपैयाँसम्म बिक्री भइरहँदा बगानमै पुग्ने पर्यटकले प्रतिकिलो १३० रुपैयाँमा ताजा सुन्तला किन्न पाउँछन्। व्यापारीसमेत बगानमै पुगेर सुन्तला खरिद गर्ने गरेका छन्।
शुक्रबार र शनिबार निन्दा–सलकपुर (कदम पदमार्ग) हुँदै पर्यटकको आवागमन बढ्ने गरेको छ। झापाको बिर्तामोड, दमक र धुलाबारी, मोरङको उर्लाबारी तथा भारतबाट समेत गरी ती दुई दिनमा ३०० देखि ५०० जनासम्म पर्यटक सलकपुर पुग्ने गरेको खड्काले बताए।
खड्काले पनि १० रोपनी जमिनमा सुन्तला खेती गरेका छन्। उनका अनुसार यस वर्ष विगतका वर्षको तुलनामा सुन्तला उत्पादन राम्रो भएको छ। बगान घुम्न आउने पर्यटकले सुन्तलाको स्वाद लिनुका साथै नजिकै रहेको गुर्धुम डाँडाबाट सूर्योदयको दृश्यसमेत हेर्ने गरेका छन्।
सलकपुरमा सुन्तला खेतीको सुरुवात विसं २००४ मा दार्जिलिङबाट बसाइँ सरेर आएका गौरीलाल लामाले गरेका थिए। उनले दार्जिलिङबाट ल्याएका बिरुवा रोपेर सुरु गरेको खेती अहिले व्यावसायिक बनेको छ। अहिले पाल्पाबाट ल्याइएका उन्नत जातका बिरुवाले राम्रो उत्पादन दिइरहेका छन्।
सलकपुरसँगै कुवापानी र जौबारी क्षेत्र पनि सुन्तला खेतीका लागि परिचित छन्। यी क्षेत्रमा सुन्तलासँगै अलैँची, अकबरे खुर्सानी, अम्लिसो र मह उत्पादन हुँदै आएको छ। यहाँ उत्पादित सुन्तला भारतको कोलकातामा प्रत्येक वर्ष आयोजना हुने सुन्तला महोत्सवमा समेत प्रदर्शन तथा बिक्रीका लागि लगिने गरिएको छ।