© 2026
आज साउन ७ गते नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको सम्झना गर्ने दिन पुष्पलाल स्मृति दिवस ।
पुष्पलाल जसले नेपालमा कम्युनिष्ट आदर्शको स्थापना, विकास तथा सुदृढीकरणमा लागि जुन बेलादेखि सङ्घर्ष प्रारम्भ गर्नुभयो त्यसको अभाव निरन्तर चल्दै रह्यो र कुनै पनि सङ्कट चुनौती आँधीबेहरीले उहाँलाई कहिल्यै विचलित गर्न सकेन ।
उहाँले नेपालका बहुसङ्ख्यक श्रमजीवी शोषित पीडित जनताको हितहरूको पक्षपोषण गर्ने राजनीतिक सङ्गठन नेपाल कम्युनिष्ट पार्टीको जन्म मात्र दिनु भएन, वि सं २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने काम देखि पार्टीको सङ्गठन बिस्तार र पार्टीको पक्षबाट जनताको अधिकारहरूको रक्षाका निम्ति सङ्घर्ष र राष्ट्रियताको पक्षमा निरन्तर दृढतापूर्वक लागि रहनुभयो ।
आज दुःख एवं खेदका भन्न परिरहेको छ– कम्युनिष्टको नकाब भिरेका गैर कम्युनिष्ट चरित्रका छद्मभेषी तत्त्वहरू कम्युनिष्ट पार्टीको नेतृत्वमा हाबी छन् । नेपाली अनुहारका विदेशी एजेन्ट यो वा त्यो नाममा कम्युनिष्ट पार्टीभित्र घुसपैठ गरी पार्टीको अस्तित्व मात्रै होइन देशकै अस्तित्वमाथि पनि धावा बोलिरहेका छन् । तर जनता अझै के भ्रममा छन् भने भ्रष्टाचार, राष्ट्रघातक, सङ्गठित अपराध, कुशासन, देशद्रोही, जनघात र छलकपटजस्ता साङ्घातिक रोगले ग्रस्त यो तत्त्वहरू हाम्रा सहारा हुन् ।
हाम्रो प्रजातान्त्रिक अधिकार बृहत्तर हितका लागि यी बाहेक अरू कसैको सामथ्र्याले काम गर्न सक्दैनन् । चाहे जतिसुकै कुकर्म गरुन् यिनीहरूको निम्ति यी सबै क्षम्य छन् । यिनको विकल्प अरू कुनै हुन सक्दैन भन्ने मनोविज्ञानबाट पार्टीका अन्य अन्धभक्त कार्यकर्ता, अवोध मतदाता, आम सर्वसाधारण, अशिक्षित जनता ग्रस्त बनेका छन् । त्यसैले हरेक आवधिक निर्वाचनमा यिनैले टिकट पाउँछन् ।
यिनै निर्वाचित हुन्छन् । पटक पटक दोहोरिँदै यिनै सांसद बन्दछन् । यिनै मन्त्री बन्दछन्, प्रधानमन्त्री बन्छन् र पदीय मर्यादा, जनताप्रतिको उत्तरदायित्व राष्ट्रप्रतिको जिम्मेवारी सबै कुरालाई लात हानेर जनताले केही कुरा थाहा पाउँदैनन् र बुझ्दैनन् भन्ने सोची जनतालाई हेपेर आफ्नै मतदातालाई आफ्नै कार्यकर्तालाई हिच्याएर पार्टीभित्र भाँडभैलौ र राष्ट्रमा ताण्डव नृत्य मच्चाउन तल्लीन रहन्छन् ।
प्रजातन्त्रको पुनर्स्थापना पछि खास गरी गणतन्त्रको स्थापनायता यही उपक्रम दोहरिँदै आइरहेको छ । यद्यपि अहिले जेनजी आन्दोलनपछि केही फरक राजनीतिक परिवेश छ । कम्युनिष्ट पार्टीको नेतृत्व तहमा र सांसद तथा मन्त्री एवं विशिष्ट ओहदाका शक्तिशाली पदहरूमा विराजमान बहालवालाका कम्युनिष्ट पार्टी जनताको पार्टी हो ।
यसले जनताको जनवादी अधिकारहरूको रक्षा गर्छ र ती अधिकार प्राप्त गर्नको लागि जनतालाई संगठितरूपमा गोलबन्द गरी आफ्ना आवाज बुलन्द गर्न र देशलाई सबैभन्दा माथि राखी काम गर्न शिक्षा दिन्छ । तर, नेपालमा नामै फेर्नुपर्छ । नेपाल नाम राखिनु हुँदैन । वर्तमान नेपालको चन्द्र सूर्य अङ्कित झन्डा फेर्नुपर्छ ।
नेपालको राष्ट्रिय पोशाक फेर्नुपर्छ र राष्ट्रिय चिन्हहरू बदल्नु पर्छ भन्दै क्रान्तिकारीताको नाममा राष्ट्रको पहिचानलाई जरैदेखि उखेलेर र राष्ट्रको उपस्थितलाई नै नामेट बनाएर राष्ट्रिय एकतालाई भताभुंग पारेर देशमा वितण्डाबाद फैलाएर अराजकतालाई मुल्लो झोसी देश जलिरहेको हेर्न चाहाने तत्त्वहरू समेत आज कम्युनिष्ट पार्टीको नाममा यहाँसम्मका हरकदहरू हुन सक्दा रहेछन् भन्ने कसैले नचिताएको परिघटनाहरू घटाईरहेका छन् ।
यो सबै देख्दा एउटा इमानदार देशभक्त कम्युष्टिको नाताले आज यस पंक्तिकारको मनमा अत्यन्त पार्टी र उनको मातहतका छाता संगठनका नेतृत्वदायी यो तहमा तर्कसंगत, न्यायसङ्गत, सन्र्दभसंगत कुराहरू र विषयहरूले ठाउँ पाउन छाडेका छन् । सबै कुराहरू माथिबाट थोपारिन्छन् र माथि कुन विदेशी शक्तिबाट परिचालित बन्ने गरेको छ । त्यो सबै बुझ्न अत्यन्त कठिन छ ।
कम्युनिष्ट पार्टीको मूल सांगठनिक सिद्धान्त जनबादी केन्द्रीयता केवल पार्टीका दस्ताबेजहरूमा सीमित छ, व्यवहारमा गैर जनवादी मात्रै होइन गैर राष्ट्रवादी चरित्रले नेताहरूलाई दिग्भ्रमित भई दिशानिर्देश गरिरहेको छ । कम्युनिष्ट सेवाभावबाट बिमुख भई जनआकांक्षादेखि सर्वथा पृथक तथा जनभावनाको सर्वथा प्रतिकूल ब्यक्तिपरक तथा सत्तामुखी राजनीतिको परिपोषणमा तल्लिन छन् भन्ने कुरा उनीहरूका व्यवहारबाट घाम जत्तिकै छर्लङ्ग छ ।
यस तर्कमा कमै मात्र इमानदार व्यक्ति असहमत होलान् जो दूरदराज ग्रामीण क्षेत्रमा बस्ने अशिक्षित, निर्धामुखी विचरा संसार नबुझेका गौ प्राणीहरू । त्यसैले अब कोही यहि छन् बाँकी भने खाँटी कम्युष्टहरू भने सबै कम्युनिष्ट कार्यकर्ताहरूले आ– आफ्नो गुटभित्र मौलाउँदै यस किसिमको अन्धकारमय वातावरणमा सुधार ल्याई जनताका वास्तविक अधिकार गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार भन्ने सहिदहरूका सपनालाई पार्टीहरूका निर्वाचन घोषणापत्रहरूमा मात्र सीमित रहन नदिई व्यवहारमा उतार्नका लागि आन्दोलन ग¥यौ ।
अब पार्टीभित्र शुद्धीकरणको अभियानमा आन्दोलनमा लागौँ । हिजोका दिनहरूको आन्दोलनमा अनेकौँ सङ्गठित माध्यमहरू सित कम्युनिष्ट पार्टी एकीकृत बनाएर निरङ्कुशताका विरुद्ध प्रशासनिक अत्याचार दमन तथा बर्बरताका विरुद्ध लड्यौ । भारतीय बिस्तारबाद र अमेरिकी साम्राज्यवाद विरुद्ध जनतालाई जागरूक बनायौ । निर्दलीयताको नाममा एकदलीय शासन मूलकमा जे चलिरहेको थियो त्यसको अन्त्य गरी बहुदलीय प्रजातान्त्रिक शासन प्रणालीको निम्ति लड्यौ ।
बहुदल पनि प्राप्त ग¥यौ । त्यतिले मात्र पुगेन गणतन्त्र पनि ल्यायौ । हामी के कुरामा ढुक्क थियौ भने गणतन्त्र आएपछि अब शासनमा सुधार आउने छ । शासकहरू जनताप्रति जबाफदेही हुनेछन् । प्रधानमन्त्री मन्त्री र उच्च ओहदामा रहेका प्रशासकहरू एव राष्ट्रपति, न्यायाधीश आदि सबैले कानुनको अधीनमा रहेर काम गर्नेछन् । आफूलाई जनता भन्दा माथि रहेको ठान्ने छैनन् । जनभावनाको उपेक्षा हुनेछैन ।
आफ्नो व्यक्तिगत स्वार्थ पूरा हुने राजनैतिक र आर्थिक क्रियाकलापमा लाग्ने छैनन् । जनता भ्रष्टाचार, महँगी, अन्याय, अत्याचार, अभाव, अशान्ति, दुराचार, हत्याहिंसा, बलात्कार, हप्ता असुली, फिरौती, मिटर ब्याज, विदेश पलायन, बेरोजगार, घुस, कमिसन सेटिङ, दलाली, गुण्डागर्दी आदि तमाम समस्याबाट मुक्त भई खुल्ला आकाशमुनि रमाएर आ– आफ्ना पेसामा रही सरकारको नुनको सोझो र जनताको तथा राष्ट्रको सेवा गर्न पाउनेछन् । नागरिकले सास्ती बेहोर्नुपर्ने छैन ।
देशको बर्बादीका लागि जिम्मेवारीका लागि जिम्मेवार रहेका जनविरोधी तथा राष्ट्रघाती भ्रष्ट तत्त्वहरूलाई नेल हतकडी सित जेलमा जाकिने छ र उनीहरूले पदको दुरुपयोग गरी कमाएको गैर कानुनी अकुत सम्पत्ति राष्ट्रियकरण गरी राष्ट्रको विकासमा कोषमा दाखिला गरिने छ तर आज वास्तविक यथार्थमा जे भइरहेको छ र हामीले जे जे देखिरहेका छौ । त्यो सब सबैका सामु छर्लङ्ग छ ।
कम्युनिष्ट नामधारी ठूला साना सत्तामा रहेका वा सत्तामा नरहेका नेकपा, एमाले, मसाल, जनमोर्चा, विप्लव, मार्क्सवादी आदि सबै कनिष्ट घरका इमानदार कम्युनिष्टहरू आ– आफ्नो पार्टीको नेतृत्वमा आएको सैद्धान्तिक विचलन र नेतामुखी सोचलाई बदली पार्टीलाई नेता प्रधान होइन नीति प्रधान बनाउन अब भित्री सङ्घर्षको अभियान चलाऊँ । कम्युनिष्ट पार्टी राम्रो बने सबैको राम्रो बन्छ । कम्युनिष्ट पार्टी बिग्रिए सबैको बिग्रिन्छ । आज साउनको ७ गते कमरेड पुष्पलाल प्रति श्रद्धाञ्जली अर्पण गर्दै सबैमा यहि अपील गर्दछु ।