© 2026
हरेक घरमा झुन्डाइएका भित्ताका क्यालेन्डर वर्षैपिच्छे फेरिएको फेरिएकै छन् । नयाँ वर्षको आगमनसँगै क्यालेन्डर फेरिन्छन्, वर्ष फेरिन्छन् ।
यो निरन्तर चलिरहने प्रक्रिया हो । तर, नेपालको राजनीतिक आकाशले साउन ६ र ७ गते आउने दिनलाई स्मृतिको मानसपटलबाट कहिल्यै फेर्न सकेको छैन । त्यो महत्त्वपूर्ण र ऐतिहासिक दिन नेपाली राजनीतिका शिखर पुरुष स्व. बिपी कोइराला र पुष्पलाल श्रेष्ठको स्मृतिको दिन हो ।
बिपी कोइरालाको ४४ औँ स्मृति दिवस बुधबार विविध कार्यक्रमको आयोजना गरि मनाइयो भने पुष्पलालको स्मृति दिवस बिहीबार मनाईदैछ । संयोग कस्तो छ भने बिपीको स्मृति दिवस साउन ६ गते पर्दछ भने पुष्पलालको साउन ७ गते ।
२०३९ साल साउन ६ गते स्वर्गीय हुनुभएका बिपी कोइराला अहिले पनि नेपाली राजनीतिमा सर्वाधिक नाम लिइने, चर्चित र चिरकाल पर्यन्त नर्विसिने महापुरुष हुनुहुन्छ । एकतन्त्रीय राणा शासन अन्त्य गरी मुलुकमा प्रजातान्त्रिक आन्दोलनलाई संस्थागत ढङ्गले अघि बढाएर नेपाली काँग्रेसलाई प्रभावशाली राजनीतिक दलको रूपमा स्थापित गराउनमा बिपी कोइरालाले महत्त्वपूर्ण भूमिका खेल्नुभएको थियो ।
बिपीको ठुलो सपना थियो । दूरदर्शी राजनीतिज्ञको हैसियतले उहाँले देख्नुभएको सपना अझै पूरा हुन सकेको छैन । अर्कोतर्फ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवस साउन ७ अर्थात आज बिहीबारको दिन परेको छ ।
उहाँ दुवै नेता नेपालको राजनैतिक इतिहासमा सदा सदाका लागि अविस्मरणीय हुनुहुन्छ । त्यति मात्र होइन नेपालको राजनीतिक इतिहासमा दुई मूर्धन्य नेता बिपी र पुष्पलाल सर्वाधिक लोकप्रिय नेता हुन् भन्दा अत्युक्ति हुँदैन । नेपालको प्रजातान्त्रिक आन्दोलन र त्यसको जग बसाल्न उहाँहरूले पु¥याएको ऐतिहासिक योगदानको चर्चा जति गरे पनि कम नै हुन्छ ।
२००६ सालमा पुष्पलालको नेतृत्वमा स्थापित कम्युनिष्ट पार्टी विभिन्न चिरामा विभक्त हुँदै आज यहाँसम्म आइपुगेको छ । बिपीले नेपाली काँग्रेस र पुष्पलालले कम्युनिष्ट पार्टीलाई स्थापना र पछि मलजल नगरेको भए यी दुई शक्ति अहिलेको अवस्थामा आउने थिए वा थिएनन् ?
केवल कल्पनाको कुरा मात्रै हो । अर्थात नेपालको प्रजातान्त्रिक आन्दोलनले यो उचाई प्राप्त गर्न सक्थ्यो वा सक्थेन ? इतिहास पढ्ने जो कोहीले पनि संयुक्त जनआन्दोलनको नीति पुष्पलालले कार्यनीतिकै रूपमा तय गर्नुभएकै कारण बामपन्थी एउटा शक्तिको रूपमा यहाँसम्म आइपुगेको बुझ कठिन छैन ।
समय बित्दै जाने क्रममा मुलुकले धेरै परिवर्तनको अनुभूति गरेको छ तर भन्नपर्दछ– बिपी र पुष्पलालले देखेको सपना अझै पूरा भएको छैन । अहिले जेनजीको युग छ । तर जुनकुनै युगमा बिपी र पुष्पलालको योगदान कहिल्यै विर्सन सकिदैन् ।
नेपालीहरूको स्मृतिको पानामा उहाँहरूले खेलेको भूमिका सदैव अविस्मरणीय हुनेछ । पुष्पलालले जसरी र जुन उद्देश्य र कल्पनाका साथ कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो– उहाँको त्यो सपना अझै अधुरै छ । आज कम्युनिष्टका नाममा दर्जन बढी पार्टी सकृय छन । हरेक पटक जुटने र फुटने कम्युनिष्टहरूको दिनचर्या बनेको छ । उता नेपाली कांग्रेस पनि अहिले विभाजित अवस्थामा छ ।
जबसम्म पार्टी र सिद्धान्त भन्दा माथि सत्ता र स्वार्थ हावी हुन्छ, तबसम्म न नेपाली कांग्रेस र न त बामपन्थी पार्टी कसैको पनि भविष्य हुन सक्दैन् । यसअघि पनि धेरै पटक कम्युनिष्ट पार्टीको एकता र विभाजन देखेकै हो ।
तसर्थ आज बिपी र पुष्पलालको स्मृति दिवसमा दल र तिनका नेताहरूले संकल्प गर्ने दिन आएको छ, त्यो के भने उहाँहरूले छाडेर गएको अधुरो विरासतलाई पूरा गरौं । दलीय र पदीय स्वार्थभन्दा माथि देशलाई राखौं । अनिमात्रै बिपी र पुष्पलालप्रति साँचो अर्थमा श्रद्धाञ्जली अर्पण गरेको सार्थकता हुनेछ ।