Butwal Today

सादगी नेता गोविन्द ‘बा’ को सम्झनामा

१ श्रावण २०८३, शुक्रबार
अ+
अ-

कालीगण्डकी सभ्यता र धार्मिक वैभवले सम्पन्न, प्राकृतिक रूपमा विकट तर वैचारिक रूपमा सदैव अग्रगामी धवलागिरी क्षेत्र र विशेष गरी बागलुङ जिल्ला नेपालको राजनीतिक, धार्मिक एवं सामाजिक रूपान्तरणको एउटा ऐतिहासिक केन्द्र हो ।

निरङ्कुशता विरुद्धको सङ्घर्ष, क्रान्ति र चेतनाको यो उर्वर भूमिले देशलाई सङ्कट पर्दा जहिले पनि आफ्नो स्वाभिमान, विद्रोही चेत र वीर योद्धाहरू प्रदान गरेर राष्ट्रिय राजनीतिलाई मार्ग निर्देश गरिरह्यो ।

यही गौरवमय इतिहास बोकेको मध्ये बागलुङको ऐतिहासिक स्थल बिहुँकोट पोखरामा वि.सं. १९९५ साल पुस १० गते जन्मनुभएका हजुरबुबा गोविन्दप्रसाद शर्मा कँडेल नेपाली राजनीतिका एक सादगी, निष्कलङ्क र निष्ठावान् नेता हुनुहुन्थ्यो । तत्कालीन समाजको प्रतिष्ठित ‘साहु खलक’ का अनन्त कँडेल तथा आमाहरू मन्दिरादेवी र कलावतीका ज्येष्ठ सुपुत्रका रूपमा सम्भ्रान्त परिवारमा जन्मेका उहाँले प्रारम्भिक शिक्षा धम्जाको गुरुकुलबाट र उच्च शिक्षा भारतको मद्रास (चेन्नई) बाट पूरा गर्नुभयो ।

शैक्षिक प्रवासकै क्रममा जननायक विश्वेश्वरप्रसाद कोइराला (बीपी) बाट प्रभावित भई उहाँकै हातबाट वि.सं. २०११ सालमा नेपाली कांङ्ग्रेसको सदस्यता लिएसँगै उहाँको राजनीतिक यात्रा सुरु भयो । वि.सं. २०१५ सालको आम निर्वाचनमा उहाँका पिता स्थापित शक्ति ‘गोरखा परिषद्’ का खम्बा रहँदा उहाँ भने प्रजातान्त्रिक समाजवादको पक्षमा वैचारिक विद्रोह गर्दै मैदानमा उत्रिनु भएको थियो ।

उहाँको पारिवारिक र राजनीतिक जीवनलाई नियाल्दा परिवारमा र समाजमा समान व्यवहार, फरक विचारधाराको सम्मान र प्रतिशोध शून्य राजनीति उहाँका मुख्य आदर्शहरू थिए भन्ने प्रष्ट हुन्छ । एउटै घरको धुरीमा दुई विपरीत राजनीतिक दलका झन्डाहरू फहराउँदा र उहाँका पिता र उहाँ चुनावी मैदानमा आमनेसामने हुँदा समेत उहाँले कहिल्यै पारिवारिक सम्बन्ध र वैचारिक मर्यादाको सीमा नाघ्नुभएन ।

कालान्तरमा उहाँकै यही शालीन आन्दोलन, उच्च संस्कार र निष्ठाबाट प्रभावित भई उहाँका पिता अनन्त कँडेलले समेत आफ्नो पुरानो सोच त्यागी नेपाली काङ्ग्रेसको सदस्यता लिनुभएको थियो । पछिसम्म पनि उहाँका भाइ छोराहरू फरक विचारधार राखेर राजनीतिमा देखिएपनि उहाँले सबैलाई सम्मान र समान अवसर प्रदान गर्दै प्रेरणा प्रदान गरिरहनुभयो ।

वि.सं. २०१७ मा नेपाली कांग्रेसले राजाको निरंकुश कदमविरुद्ध रणनीति तय गर्न भारतको पटनामा एउटा ऐतिहासिक सम्मेलन आयोजना गरेको थियो । बागलुङको पहरेदारका रूपमा आफूविरुद्ध जारी गरिएको स्थानबद्धताको कडा सरकारी आदेशलाई तोड्दै, लुकिछिपी र कठीन यात्रा तय गरी पटना सम्मेलनमा सहभागी हुन जाँदा, उहाँ मूल सम्मेलन समापन हुनासाथ मात्र पुग्न सफल हुनुभयो ।

सम्मेलनको मुख्य कार्यक्रम सकिएतापनि त्यहाँ उहाँको नेपाली कांग्रेसका शीर्षनेताहरूसँग महत्त्वपूर्ण राजनीतिक भेटघाट भयो । राजाको कदमपछिको बागलुङको जटिल राजनीतिक वस्तुस्थिति र संगठनको अवस्थाबारे जानकारी गराएपछि नेताहरू सुवर्ण शमशेर राणा र काशिनाथ गौतम लगायतको उच्च नेतृत्वले उहाँको साहसको कदर गर्दै बागलुङको पार्टी सभापतिको वैधानिक जिम्मेवारी प्रदान गर्यो । उहाँ पटना सम्मेलनको क्रान्तिकारी निर्णय बमोजिमका पर्चा–पम्प्लेटहरू लिएर भूमिगत रूपमा बागलुङ फर्कनुभयो ।

यसै सिलसिलामा वि.सं. २०२७ सालमा गुल्मी, अर्घाखाँची र पाल्पाको सङ्गठन विस्तारका क्रममा पक्राउ परी उहाँले राजद्रोहको मुद्दामा कुल ८ वर्ष कठोर कारावास सजाय भोग्नुभयो । व्यक्तिगत सिकाई र बीपीसँग अङ्ग्रेजी पढ्ने अवसरभन्दा पार्टीको जिम्मेवारीलाई सर्वोपरि ठान्ने उहाँले धवलागिरी अञ्चलकै सर्वसम्मत कमाण्डरका रूपमा वि.सं. २०३६ को जनमत सङ्ग्रह, २०४२ को सत्याग्रह र २०४६ को जनआन्दोलनका क्रममा पटक–पटक लामो जेल जीवन र अमानवीय यातना भोग्नुभयो तर व्यवस्थासँग कहिल्यै सम्झौता गर्नुभएन ।

प्रजातन्त्रको पुनर्बहालीपछि वि.सं. २०४८ सालको निर्वाचनमा उहाँ बागलुङ क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा भारी बहुमतले निर्वाचित हुनुभयो र संसद्मा रहँदा राजकीय सुविधा तथा भत्ता वृद्धि नगर्ने जनमुखी अडान लिएर उहाँले राजनीतिमा त्याग र इमानदारिताको उच्च नमुना प्रस्तुत गर्नुभएको थियो ।

राजनीतिक व्यक्तित्वसँगै उहाँको सामाजिक र शैक्षिक योगदान उत्तिकै अनुकरणीय थियो । पुख्र्यौली गौचरनको ऐतिहासिक पोखरी पुरेर बिहुँकोट पोखरामा अमर नमुना माध्यमिक विद्यालयको स्थापना गरिएको हो । जसको स्थापना उहाँकै नेतृत्वमा भएको हो । यस विद्यालयको जग बसाल्न र यस क्षेत्रमा शिक्षाको उज्यालो फैलाउन उहाँले खेल्नुभएको अभिभावकीय एवं अग्रणी भूमिका तथा अन्य परोपकारी सामाजिक कार्यहरूले उहाँलाई यस क्षेत्रका जनमानसमा सदैव जीवन्त बनाई राखिरहेका छन् ।

राजनीतिक उचाइसँगै उहाँको व्यक्तित्व र बाग्लुङको भूमिलाई थप सुदृढ, गौरवशाली र अनुकरणीय बनाउने पाटो उहाँको प्रगाढ आध्यात्मिक चेत पनि हो । उहाँ गुरुकुलीय शिक्षा पद्धतिबाट सुशिक्षित एवं दीक्षित हुनु भएकाले सनातन परम्परा र वैदिक वाङ्मयको अगाध ज्ञानप्रति सधैँ नतमस्तक रहनुहुन्थ्यो । ब्रह्मलीन स्वामी परमानन्द सरस्वती महाराज जस्ता महान साधु–सन्तहरूको सत्सङ्ग, सामीप्य र आध्यात्मिक प्रवचनबाट प्रभावित हुनुभएका उहाँले सनातन संस्कृतिको जगेर्नामा आफूलाई समर्पित गर्नुभयो ।

यसैक्रममा आफ्ना पूजनीय पिताजीले तिरो तिरेर संरक्षण गर्नुभएको ऐतिहासिक, पावन एवं अलौकिक भूमि ‘रामकोट’ को भूमिलाई थप सुव्यवस्थित तुल्याउँदै त्यहाँ गुरुकुल तथा आश्रम स्थापना गर्न उहाँले अग्रणी र प्रेरणादायी भूमिका निर्वाह गर्नुभयो । आज रामकोट धौलागिरी क्षेत्रकै एक अनुपम आध्यात्मिक र धार्मिक धरोहरका रूपमा प्रख्यात छ ।

त्यस गुरुकुलमा अध्ययन गरेका शताधिक छात्रहरूले देशका विभिन्न निकायमा रहेर राष्ट्रसेवा गरिरहेका छन् । स्वामी परमानन्द सरस्वती महाराजलाई आफ्नो आदर्श र मार्गदर्शक मान्ने उहाँले त्यस क्षेत्रमा आयोजना हुने प्रत्येक धार्मिक, आध्यात्मिक एवं पारमार्थिक अनुष्ठानहरूमा सदैव तन, मन र वचनले महत्त्वपूर्ण योगदान पु¥याउनु भयो । उहाँको जीवन राजनीति र अध्यात्मको एउटा यस्तो दुर्लभ सङ्गम थियो, जहाँ लोककल्याणको भावना र आत्मिक शुद्धता सँगसँगै प्रष्फुटन भएका थिए ।

जीवनको उत्तरार्ध काल वि.सं. २०६२÷०६३ को दोस्रो जनआन्दोलनमा समेत सक्रिय रहँदै दुईपटक जेल पर्नुभएका उहाँले जीवनको अन्तिम क्षणसम्म पनि आफ्नो सिद्धान्त र विचार डगमगाउन दिनुभएन । देश र जनताको सेवामा समर्पित जनप्रिय नेता तथा हामी सबैका अभिभावक उहाँको गतवर्ष वि.सं. २०८२ साल असार १५ गते चितवनबाट काठमाडौँ जाने बस कुरिरहेकै अवस्थामा पूर्व चितवनमा असामयिक निधन भयो ।

उहाँ भौतिक रूपमा हामीमाझ नरहेपनि उहाँले स्थापित गर्नुभएको पारिवारक सदाचार, अभिभावकीय दायित्व, आपसी भाइचारा सम्बन्ध, त्याग र निष्ठाको आदर्श मार्गले हामी सबैलाई सधैँ सही बाटो देखाइरहनेछ । अन्त्यमा उहाँको पाञ्चभौतिक देहको महाप्रस्थान भएको तिथि अनुसार आज एक वर्ष पूरा भएको छ । घरमा उहाँको वार्षिक पुण्यतिथिको अवसरमा वैदिक परम्पराअनुसार औध्र्वदैहिक कर्महरू भइहेका छन् ।

यस अवधिमा हामी परिवारपूर्ण रूपमा अभिभावकविहीन भएको महसुस गरिरहेका छौँ । उहाँ हाम्रो परिवारकालागि नेता भन्दा पनि ज्यादा आदर्श अभिभाव हुनुहुन्थ्यो । परिवारको साहारा र प्रेरणा हुनुहुन्थ्यो । जीवनको हरेक परिस्थितिहरूमा उहाँको उपस्थिति, अभिभावकत्व र सही मार्ग निर्देशनको अभाव समाजलाई, हामीलाई र अझ बढिमलाई सधैँ खट्किरहनेछ । उहाँले देखाउनु भएको निष्ठा र सत्यको बाटोलाई आत्मसात गर्दै, यस प्रथम पुण्यतिथिका अवसरमा मेरा आदरणीय अभिभावक तथा हजुरबुबा प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दछु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?