© 2026
टमाटरको उचित मूल्य नपाएको भन्दै बुधबार बिहान काठमाडौँको माइतीघर मण्डलामा किसानहरूले टमाटर सडकमा फालेर विरोध प्रदर्शन गरेको घटना सरकारका लागि साङ्केतिक दबाब हो ।
यसअघि चितवनका कृषकले टमाटरदेखि दूध समेत सडकमा पोखेर किसानको वास्तविक पीडा प्रदर्शन गरेकै थिए । धेरै पटक किसानले आफूहरूको समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् तर जुन कुनै सरकारले पनि किसानको वास्तविक पीडा सम्बोधनको प्रयास गरेनन् । बालेन नेतृत्वको सरकारले पनि पुरानै सरकारको निरन्तरता दोहो¥याएको छ ।
अर्थात् किसानको पीडामाथि मल्हम लगाउने काममा सरकारको आँखा गएको छैन । उत्पादनको उचित मूल्य सुनिश्चित गर्न, बजार व्यवस्थापन प्रभावकारी बनाउन तथा किसानको हित संरक्षण गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका किसानहरूसँग बालेन सरकारले वार्ता समेत गर्न आनाकानी गर्नु लाखौँ किसानको पीडामाथि घात गर्नु हो भन्दा अत्युक्ति हुँदैन ।
किसानहरूले टमाटरको उचित मूल्य, सहज बजार पहुँच तथा बिचौलियाको प्रभाव न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण हुनुपर्ने माग राखेका छन् । किसानका जायज मागप्रति सरकार गम्भीर हुनु जरुरी छ । किसानको उत्पादनले उचित बजार र उचित मूल्य पाउने व्यवस्था गर्न बजार व्यवस्थापन, आपूर्ति प्रणाली सुदृढीकरण तथा बजार विस्तारका कार्यलाई थप प्रभावकारी बनाउनु जरुरी छ ।
किसानका लागि जुन कुनै सरकार आए पनि अवस्था उस्तै छ । अर्कोतर्फ मूल्यवृद्धिको बढ्दो भारले पछिल्लो समय किसानहरू समस्यामा गर्दै गएका छन् । आफूले उत्पादन गरेको बस्तुभन्दा उत्पादन लागत नै बढी पर्न थालेको किसानको गुनासो छ ।
यसले किसानहरू बढ्दो मूल्य चुनौतीको सामना गर्दैछन भन्ने स्पष्ट हुन्छ । त्यसै त बिचौलियाका कारण उपभोक्तासंग प्रत्यक्ष पहुँच नपाउने किसानहरू अहिले मूल्यबृद्धिले समस्यामा परेको गुनासो गर्दैछन् । यद्यपि पछिल्लो समय कृषि पेशाप्रति आकर्षण बढेजस्तो देखिएपनि किसानले सोचेजस्तो आम्दानी लिन सकिरहेका छैनन् ।
राज्यले किसानलाई प्रोत्साहन गर्ने खालको नीति ल्याउन नसकेका कारण तरकारी उत्पादनदेखि पशुपालन लगायतका क्षेत्रमा लागेका किसानहरूले सोंचे अनुरूप आम्दानी र प्रतिफल पाउन नसक्नु चिन्ताको कुरा हो । पछिल्लो समय टमाटरमात्रै होइन, दूध किसानको समस्या पनि उही छ । गाउँघरमा उत्पादन भएको दुधले बजार नपाउंदा कृषकलाई लागत खर्र्च उठाउन समस्या भएको छ ।
लागत मूल्य दिन प्रतिदिन बढ्दै जाने र उत्पादित सामानले बजार नपाउने अवस्था रहिरहने हो भने पशुपालन गर्ने किसान यो व्यवसायवाट विस्थापित हुनु वाहेक अर्को विकल्प छैन । अव सरकारले दाना, चोकर र घाँसमा आधारित पशुपालनलाई प्रोत्साहन गर्न जरुरी छ । साथै दुधमा मुलुकलाई आत्मर्निभर बनाउन अनुदान भन्दा किसानमैत्री नीति वनाउने तर्फ नेपाल सरकारको ध्यान केन्द्रित हुनुपर्दछ । नीति निर्माताहरूले पनि किसानको समस्या बुझेर सोही अनुसारको नीति बनाउनेतर्फ ध्यान दिनु अत्यावश्यक छ ।
नेपाल कृषिप्रधान देश हो । जसको आर्थिक मेरुदण्ड नै कृषि हो । मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा यो क्षेत्रको योगदान करिब २४ प्रतिशत छ । एकातिर मुलुक कृषिले धानिएको छ, अर्कोतिर युवाहरू विदेशिने र सहर छिर्ने क्रम बढेकाले कृषि उत्पादन घट्दै गएको छ । खेती बाँझो भो भनेर सरकारी पदाधिकारी र नेता आफैं रुवाबासी गरिरहेका छन् ।
यस्तो अवस्थामा कृषि क्षेत्रलाई आकर्षित तुल्याई यसमा लागेकालाई टिकाउने र अरू थप किसानलाई भित्राउने काममा सरकारको ध्यान पुग्नुपथ्र्यो तर विडम्बना किसानलाई हतोत्साहित गरि कृषि क्षेत्रलाई नै अवहेलना गर्ने परम्परा रोकिएको छैन ।
अहिले वास्तविक किसानले अनुदान समेत पाउन मुस्किल छ । यो बेला किसानको टमाटर, दूध लगायत अन्य बालीले बजार भाउ पाउने वातावरण वनाउनेतर्फ सरकारको ध्यान किन गएन ? कृषिमैत्री दावी गरिएको सरकार जवाफ देऊ ।