Butwal Today

इतिकथाः आफ्नै गाउँ ठूलाखर्कको 

३२ असार २०८३, बिहीबार
अ+
अ-

जब म ठूलाखर्कको नाम लिन्छु वा यसका बारेमा दुई शब्द कोर्न कलम समात्छु, तब मेरो मन भावविह्वल हुन पुग्छ । मेरो स्मृतिमा हाम्रो घर, टाकुरादेखि पुछारसम्मको त्यो सुन्दर दृश्य र त्यहाँका खोल्साखाल्सीहरू सजीव भएर आउँछन् ।

चुदरपानीमा पानी भर्न पालो पर्खिँदै गरेका ती दिनहरू अझै ताजा लाग्छन् । त्यहाँका डाँडा, बेलारुख, बाख्रे, सिख्रे, टापु र वेदवा, मैदान जस्ता ठाउँहरू, अनि भद्रेपाटा र जोर्तेपोखराका ती पाखापखेरा र जंगलहरूले अहिलेपनि मलाई बोलाइरहेझैँ लाग्छ ।

प्रकृतिले हुर्काएका चुदरपानीका फँडेरका रुखहरू र आफ्नै ख¥यानका चिउरीका बोटहरू सिरसिरे हावाको कम्पनसँगै हल्ली–हल्ली मलाई जिस्काइरहेका छन् जस्तो लाग्छ । यस्तो लाग्छ, यो आत्मीयताले मलाई भनिरहेछ– ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।’

हाम्रा पुर्खाहरू इतिहासको एउटा कालखण्डमा गुल्मीको रूपाकोट र अर्घाखाँचीको खाँचीकोट हुँदै वर्तमानको ठूलाखर्कमा आई बसोबास गर्नुभएको रहेछ । त्यतिबेला ठूलाखर्क एउटा घना वन थियो । हाम्रा पिता–पुर्खाले निकै सङ्घर्ष र पसिना बगाएर यो उजाड भूमिलाई आबाद गर्नुभयो । उहाँहरूले आफ्नो रगत र पसिनाले यो भूमि सिञ्चित गरी एउटा उर्वर भूमिमा रूपान्तरण गर्नुभयो ।

पुर्खाले आफ्नो रीतिथिति र संस्कारलाई जोगाउँदै यो भूमिलाई पुण्यभूमि पनि बनाउनुभयो । ठूलाखर्कको माटो केवल अन्न फलाउने भूमि मात्र रहेन । यो त ज्ञान र संस्कारको संगमस्थल बन्यो । समयक्रममा आधुनिक स्कूलहरू खुल्दै गए । शिक्षादीक्षाको विकास भयो । अनि त यो ठाउँ ‘पढेलेखेकाहरूको गाउँ’ भनेर चिनिन थाल्यो । एउटा यस्तो समय आयो– जब वल्लो गाउँ, पल्लो गाउँ वा छिमेकी जिल्लाहरूमा धर्म, संस्कृति, न्याय–निसाफ र परम्परागत रीतिरिवाज जस्ता संवेदनशील विषयमा मतमतान्तर हुन्थ्यो, तब कुरा हुन्थ्यो–‘ठूलाखर्कले के भन्छ ?’

अर्थात् ठूलाखर्कको विद्वत्तापूर्ण निर्णय नै सबैका लागि सर्वमान्य र अन्तिम हुन्थ्यो । यहाँ सुरु भएको गुरुकुल परम्पराले शिक्षाको बलियो जग हालेको थियो । ज्यो. तोयनाथ र दुर्गादत्तले आ–आफ्ना घरमा पिंढी पाठशाला राखी बटुकहरूलाई शिक्षा दान गर्नुभयो । ती पाठशालामा धेरै टाढा टाढाबाट पनि बालकहरू पढ्न आउँथे ।

त्यहाँ धर्मशास्त्र, पुराण, कर्मकाण्ड र ज्योतिष शास्त्र जस्ता प्राचीन विषयमा राम्रो पढाइ हुन्थ्यो । ज्योतिषमा ख्यातिप्राप्त विद्यापति जसले गर्भे चिना लेख्नुभयो, उहाँका पुत्र पद्मलोचन र नाति दधिराम (तल्लार) को नाम ज्योतिष ज्ञानमा निकै श्रद्धाका साथ लिइन्छ । उहाँहरूले पश्चिम नेपालमै ज्योतिष विधामा एउटा अलग्गै पहिचान बनाउनुभयो । ढुङ्गे पण्डितका नामले परिचित पं पद्मनिधि, छोरा चूडामणी र नाति खेमराजको पाण्डित्यमा विशेष नाम छ । खेमराज चाँहि औपचारिक शिक्षामा डिग्रिधारी हुन् ।

शिक्षाको क्षेत्रमा पं चक्रपाणिको नाम बिशेषरूपले आउँछ । उहाँ बल्कोट पौवामा खुलेको पाठशालाको पहिलो प्र.अ. हुनुभयो भने पाल्पा तानसेनसम्म पुगेर अध्यापन गर्नुभयो । उहाँका छोरा दिव्यदेवको नाम कथा वाचन र राजनीतिमा प्रख्यात हो । त्यस्तै उहाँका छोरा बाबुकृष्ण कर्मकाण्डी ज्ञानमा प्रख्यात हुन् । कथा वाचनको प्रसंगमा दिव्यदेव, बाबुराम (तल्लार) को नाम पश्चिम क्षेत्रमै निकै नामी र स्थापित भयो ।

खुतानन्द पनि कथा वाचक हुनुहुन्थ्यो भने उहाँका छोरा पशुपति कर्मकाण्डमा बिशिष्ट हुनुभयो । प्रो. विष्णुप्रसाद (वेदवा) पुराण इतिहासका विशिष्ट विद्वान् हुनुहुन्थ्यो । उहाँका हजुरबुबा देवमणि र दिवाकर (पिप्लारुख) को नाम अग्रणी बैदिकको रूपमा आउँछ । समयको परिवर्तनसँगै यहाँ आधुनिक शिक्षा, विज्ञान, प्रविधि र राजनीतिमा दक्ष जनशक्ति तयार भए, जसले देश–विदेशमा ठूलाखर्कको नाम राखेका छन् ।

प्रशासन, राजनीति र समाजसेवा 
चूडामणि ठूलाखर्कबाट उच्च प्रशासकका रूपमा सरकारी सेवामा प्रवेश गर्ने पहिलो व्यक्ति हुनुहुन्थ्यो । राजनीतिमा जागेश्वर, भेषराज र कृष्णमणिको सक्रियता स्मरणीय छ । कानुन र लेखापढीको क्षेत्रमा रघुनाथ (पिपलारुख) को नाम विशेष आदरका साथ लिइन्छ ।

जागेश्वर, भेषराज, योगराज, जयलाल, मोतीकृष्ण र नेत्रलाल जस्ता अगुवाहरूको योगदानले ठूलाखर्कको सामाजिक संरचनालाई दह्रो बनायो । माधव, रुक्मांगत, तोयनाथ, बिनिराम, खुमानन्द, दुर्गादत्त, दण्डपाणि, पहलसिंह, जागेश्वर, बलिराज र चेतनारायणको भजन किर्तनमा विशेषरूपमा नाम आउँछ । औद्योगिक क्षेत्रमा कौशलमणि ।

सीप र दक्षता
औषधि उपचारमा चिन्तामणि (पुच्छार), उहाँका छोरा टोपलाल र जयलाल (बेदवा) । पशु चिकित्सामा पुनाराम (पुच्छार), खुमानन्द, कृष्णमणि र रमेश । झारफुकमा तिलकराम (डाँडा), रविलाल न्यौपाने, परमानन्द, कुलराज (उपल्लाबारी) र नारायण (टाकुरा) । काष्टकलामा परमानन्द, कुलराज र लालबहादुर अधिकारी । अधिकारी–उपाधि । फलामका औजार निर्माणमा मेघ बहादुर, नरबहादुर र लोकबहादुर । यी यस्ता सिपालुको कारिगरी र निपुणतालाई ठूलाखर्कबासीले सधैं उच्च सम्मान दिन्छन् । व्यापारमा ‘दोकानीबा’ नमनिधि, जनार्दन, कृष्णमणि, टोप बहादुर घर्ती र चेतनारायण ।

निष्कर्ष र वर्तमानको चुनौतीः 
समयको बहाव र कामको खोजीमा भएको अनपेक्षित बसाईसराईले ठूलाखर्कको त्यो वैभव बिस्तारै एकादेशको कथा जस्तै भएको छ । हिजो पुर्खाले सिँगारेको यो भूमि आज बिस्तारै सुनसान बन्दै गएको देख्दा मन रुन्छ । यद्यपि, ठूलाखर्कको त्यो गौरवलाई जोगाउन जहाँ भए पनि ठूलाखर्कबासीहरू आ–आफ्नो सामथ्र्य अनुसार प्रयासरत छन् ।

विभिन्न क्षेत्रमा विशेष स्थान लिएका ठूलाखर्कबासीहरूसँग मेरो एउटै प्रार्थना छ— यस पवित्र भूमिको अस्तित्व जोगाउने र यसलाई पुनः जागृत गराउने अभियानमा हामी सफल हुन सकौँ । यसका लागि सबैको आशीर्वाद र साथ मिलोस् । ठूलाखर्क केवल एउटा भौगोलिक नाम होइन, यो हाम्रो पहिचान, पुर्खाको त्याग, ज्ञानको परम्परा र संस्कृतिको जीवन्त इतिहास हो ।

गाउँका घरहरू रित्तिए पनि सम्झनाहरू रित्तिँदैनन्, खेतबारी बाँझिए पनि पुर्खाले रोपेको संस्कार कहिल्यै बाँझिँदैन । अब हाम्रो दायित्व केवल विगतको गौरव सम्झेर भावुक हुनु मात्र होइन, त्यस गौरवलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नु पनि हो । जहाँ रहे पनि हामी सबैले आफ्नो जन्मभूमिप्रतिको माया, उत्तरदायित्व र अपनत्वलाई कर्ममार्फत् प्रमाणित गर्न सके, ठूलाखर्कको इतिहास केवल पुस्तकका पानामा सीमित रहनेछैन; त्यो फेरि नयाँ पुस्ताको प्रेरणा, पहिचान र गौरवको आधार बन्नेछ । यही विश्वास, यही सङ्कल्प र यही आशाका साथ म आफ्नो जन्मभूमि ठूलाखर्कप्रति श्रद्धाभाव अर्पण गर्दछु ।

आज ठूलाखर्कका सन्तानहरू देशका विभिन्न जिल्ला र विश्वका अनेकौँ मुलुकमा फैलिएका छन् । उनीहरूले शिक्षा, प्रशासन, राजनीति, व्यवसाय, प्राविधिक सेवा, अनुसन्धान, स्वास्थ्य, उद्योग तथा विभिन्न पेशा–व्यवसायमा आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् । जहाँ पुगे पनि उनीहरूको परिचयमा ठूलाखर्कको संस्कार, इमानदारी, परिश्रम र ज्ञानको सुगन्ध मिसिएको छ ।

यही नै हाम्रो गाउँको सबैभन्दा ठूलो सम्पत्ति हो । अब आवश्यकता छ—यस बौद्धिक, सामाजिक र सांस्कृतिक पुँजीलाई पुनः गाउँसँग जोड्ने, नयाँ पुस्तालाई आफ्ना पुर्खाको इतिहाससँग परिचित गराउने र गाउँको विकास, संरक्षण तथा पुनर्जागरणका लागि साझा अभियान सञ्चालन गर्ने । जबसम्म हामी आफ्नो जन्मभूमिसँगको सम्बन्धलाई जीवन्त राख्छौँ, तबसम्म ठूलाखर्कको गौरव कहिल्यै मेटिने छैन ।

नोटः (यो आलेख घनश्याम, हरि, टामलाल, मनोज र मधुको सहकार्यमा तयार गरिएको हो । छुटपुटमा थप्ने र पछिल्लो प्रगतिलाई अद्यावधिक गर्ने जिम्मा अबको पिंढीलाई । ले.)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?