Butwal Today

‘अब सीपसहितको नयाँ पाठ्यक्रम’

३२ असार २०८३, बिहीबार
अ+
अ-

साझा भविष्यका लागि सीप भन्ने नाराका साथ आज विश्व युवा दक्षता दिवस मनाईदैछ । सीप र कलालाई राष्ट्रिय योगदानसँग जोड्न सकिएन भने भोलीको भविष्य अन्धकार छ भन्ने तथ्यप्रति अहिले प्रायको ऐक्यबद्धता छ ।

अहिलेका युवाको भविष्य के हुने भन्ने सवालमा अव कतै पनि विचलित नभै युवालाई श्रम र उत्पादनसँग जोड्दै उद्यमशील, स्वरोजगार र आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिन सकेमा मात्रै नेपालमा मनाइँदै आएको युवा दक्षता दिवसको सार्थकता रहन्छ ।

आज विभिन्न क्षेत्रमा कला, सीप र कालीगढको खाँचो छ । सुनचाँदी व्यवसायीले वर्षौँदेखि भारतबाट सयौँ कालिगढ नेपाल ल्याएर व्यापार चलाउनु परेको छ । नेपालमै सीपयुक्त श्रमको ठुलो आवश्यकता छ तर नेपालीले समयमै नबुझ्दा समस्या हुने गरेको छ ।

सीपलाई राज्यले आर्थिक उपार्जनमा लगाउन नसक्नु तथा देशले नेपालको कला, सीप र कालीगढको उच्च व्यवस्थापन नगर्दा नेपालको सीपयुक्त श्रमशक्ति धरासायी बन्ने अवस्था छ । पछिल्लो समय युवालाई रोजगारीमा जोड्न सीपको आवश्यकता छ ।

युवालाई हरेक क्षेत्रमा दक्ष बनाउने अभियानको क्रममा यो दिवसले सार्थक सन्देश दिएको छ । साझा भविष्यका लागि सीप भन्ने नाराले कुनै एक युवाको सवाल मात्रै होइन, यसले हरेक युवालाई सिपसँगै रोजगारीको आवश्यकता र सम्भावनाको समेत एकसाथ उजागर गरेको छ ।

निश्चित रूपमा यो दिवसले रोजगारीको अवसर सिर्जना गरी बेरोजगारी तथा अर्ध बेरोजगारी न्यूनीकरण गर्दै युवाको हक अधिकार सुनिश्चित गर्ने अभियानमा सार्थक महत्त्व राख्छ । अबको दिनमा रोजगारीका लागि सीप तथा तालिमका अवसर वृद्धि गरी प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्तिको विकास गर्ने, वैदेशिक रोजगारलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै जाने अभियानमा अबको कार्यक्रम लक्षित हुनु जरुरी छ ।

सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई १५ मा दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्ति हटाउने उद्देश्य यो दिवसको मूल उद्देश्य हो भन्ने कुरा बुझ्न अव कत्ति पनि ढिलाई गर्नु हुँदैन । त्यही अनुसारको सीपयुक्त जनशक्ति उत्पादनमा जोड दिनु जरुरी छ ।

अहिले धेरै पालिकाले यो अभियानमा जोडिएका छन र युवालाई सीपसंग जोडन तालिम प्रदान गर्दै आएका छन् । युवालाई सीपयुक्त बनाउने हो भने नेपालमा नै श्रमको ठुलो सम्मान र संभावना रहेको कुरालाई नकार्न सकिदैन् । एकातिर मुलुक भित्रै रोजगारीको अवसर बन्न सक्छ भने अर्कातिर स्वरोजगारी विस्तार गर्न सकिन्छ । यसवाट रोजगारीका लागि विदेसिने जनशक्तिलाई रोक्न सकिन्छ ।

अबको दिनमा युवालाई दक्ष वनाउने हो भने सानैदेखि उनीहरूलाई सीपमा आवद्ध गराउनु जरुरी छ । सीपसहितको पाठ्यक्रम अबको आवश्यकता हो । घोकन्ते विद्यालाई प्रमुखता मान्ने हाम्रो नेपालमा सीपयुक्त शिक्षामा अव ध्यान दिन ढिलाई गरिनुहुँदैन ।

पढेका दक्ष युवालाई मात्रै होइन, पढ्ने अवसर नपाएका युवालाई पनि सीपमा दक्ष बनाएर रोजगार वनाउने सवालमा अभियान सञ्चालन गर्नु जरुरी छ ।  वास्तवमा अहिलेको सवैभन्दा ठुलो आवश्यकता भनेको युवालाई सीपमा दक्ष बनाउनु हो । सीपयुक्त पाठ्यक्रममा अव सवैभन्दा पहिलो प्राथमिकता हुनुपर्दछ । नेपालमै रोजगारीको संभावना खोज्ने हो भने सिपयुक्त दक्ष जनशक्तिको आवश्यकता छ ।

त्यसैपनि अध्ययन, रोजगारी, जीविकोपार्जन र अवसरको खोजीका लागि धेरै युवाहरू पहाडबाट सहर केन्द्रित भइरहेका छन् । युवालाई दक्ष वनाउने सवालमा अझै धेरै काम गर्नुपर्ने चुनौति छ । यस्तो बेला कम्तिमा पनि यो दिवसले विदेश पलायन रोक्ने र हरेक युवालाई आत्मनिर्भर बनाउन सीपमा आधारित रोजगारीको ढोका खोल्नेतर्फ सहयोग पु¥याउने विश्वास गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?