© 2026
पुराना दल र नेपाली राज्यसत्ताका सबै संयन्त्रहरू आफूहरू सफल हुन नसके पनि नयाँलाई असफल बनाउनचाहिँ सफल हुन्छन्, सक्छन् । धेरै पटक लेखेको विषय हो यो, पुनः दोहो¥याइयो ।
हिजोका कुशासकले रोपेका भ्रष्टाचार र दुष्टाचारका विषबृक्षमा मलजल गर्नेहरूले, अहिले त्यही हुर्केर, फुलेर, फलेर समाजमा पारेको नराम्रो असर देखेर आजका नौसिका इमान्दार सयदिने शाषकलाई धारेहात लगाएर सरापेको देख्दा समयले पनि कस्तो मानेको होला ?
गणेश नेपालीको आत्मदाह नयाँ शासकको अनुभवहीनताको कमजोरी संगसंगै पुरानै परम्पराको निरन्तरता र अवशेष नहोला र ? हरेक दिन १५ देखि २० जना नेपालीले आत्महत्या गर्ने हुनाले नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई विदेशमा बेच्ने दल, नेता र सरकारको सानो दृष्टान्तको पटाक्षेप भएकै छ । अनि भएकै छ विचौलिया दिपक भट्टको सञ्जालको पर्दाफास पनि ।
यस्ता घटनाका फाइल खुल्न थाल्दा वित्तिकै राजनीति र समाजका उच्चासनमा रहेर तुच्छ क्रियाकलाप गरेकाहरू उफ्रनु नाजायज हैन । हिजोको शासन कस्तो थियो, विकास निर्माणका कामबाट कसरी कमिशन बटुलिन्थ्यो र योजना पारिन्थ्यो भन्ने विषयमा टिकाराम यात्रीले एमाले नेता योगेश भट्टराईसँग लिएको अन्तर्वार्ता हेरे पुग्छ । अनि पुग्छ, उनैले सदनमा ‘हाम्रो छानबिन गर्ने को हो, कस्ले गर्छ ?’ भन्दै कुर्लेको पनि ।
जनतालाई थाहा छ संघीय सरकार मात्र रास्वपाको हो । सातोटै प्रदेश सहित सबै पालिकामा पुरानै दलको शासन छ । पुराना दलका सरकारका काम कस्ता हुन्छन् र तिनीहरूले के गर्छन् ? प्रदेश र पालिकातिर हेरे पुग्छ । अनि बालेन शाह नेतृत्वको सरकारले सयदिनमा के ग¥यो ? त्यो पनि हेरेर तुलना गर्दा हुन्छ ।
दुवैतिर हेरेर कसलाई कति नम्बर दिने वा नदिने जानताले आफै जानेका छन् । कसैले देखाउन पर्दैन । अनि जनतालाई थाहा छ – रास्वपाले पालेका र पसालेका न्यायाधीश, आयुक्त, प्रशासक, वुद्धिजीवी, प्राध्यापक, वकिल, पत्रकार, शिक्षक, नागरिक अगुवा र विश्लेषकहरू छैनन् भन्ने विषय पनि ।
माने वा नमाने पनि कांग्रेस, एमाले, नेकपा र जसपा जस्ता पुराना दल रास्वपाका लागि सांसद र कार्यकर्ता उत्पादन गरिदिने कारखानामा परिणत भएका छन् । जति पनि रास्वपाका सांसद र मन्त्री भएका छन्, ती सबै पुरानै दलबाट गएका हुन् । जन्मेको पाँचवर्ष पनि पुगेको छैन रास्वपा । आकाशबाट झरेको र पातालबाट उक्लेको हैन । त्यसको गर्भाधान र जन्म कल्कत्ता वा विहारतिर भएको पनि हैन ।
त्यसैले पुराना दलले जस्तो राजनीति गर्न सिकी सकेको छैन, अनुभवी हैन । नेपालको इतिहासमा जेन–जी विद्रोह मात्र एउटा त्यस्तो घटना थियो, जो लोकतन्त्रभित्रै लोकतन्त्र कम भयो भनेर भएको आन्तरिक प्रतिरोध थियो, जसलाई आह्वान गर्ने केही थिए तर नेतृत्वगर्ने कोही थिएन ।
त्यो प्रतिरोध त्यति ठूलो विस्फोटमा पुगेर नेपाली राजनीतिको परिदृश्य नै केही महिनामै यति ठूलो आयतनमा फेरिएला भनेर अनुमान गर्ने अहिले भेटिएलान्, त्यतिबेला थिएनन् । विद्रोहको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको त थिएन तर निर्वाचनसम्म पुग्दा त्यसको आधारमा बनेको जनमतको प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाको ठाउँ उक्त पार्टीले लिन पुग्यो ।’ विश्लेषक विष्णु सापकोटा निष्कर्ष हो यो, जो सत्यको नजिक छ ।
जेन–जी आन्दोलन पछिको जनमत आफुतिर तान्न भन्दा बढी बदनाम गर्न तम्सेका पुराना दल जनताबाट तिरस्कृत हुनाले रास्वपाले बाजी मार्ने मौका पाएर नसोचेको बहुमत जुटाएको हो । पुराना दलले पचाउन सकेका छैनन् यो । जसरी संविधान सभाको पहिलो निर्वाचनबाट अत्यधिक शक्तिशाली देखिएको माओवादीलाई पचाएका थिएनन्, उसैगरी ।
अहिले पनि उस्तै बाटो रोजेर संविधान संशोधनको बहसपत्र तयार पार्ने टिमबाट बाहिरिएका हुन् । रास्वपा शक्तिशाली रहुञ्जेल संविधान संशोधन हुनुपर्छ भन्न छाड्दैनन् र गर्न पनि दिदैनन् । नयाँ छ रास्वपा र बालेन नेतृत्वको सरकार । राजनीति र सत्ता सञ्चालनमा अत्यन्तै आलो–काँचो हुनाले अनुभवी छैन । उत्तर, दक्षिण र पश्चिमको सहयोग नलिएर शासन चलाउन खोजे पनि सम्भव छैन भन्ने विषय बुझ्दैन । त्यसैले एकोहोरो छ । इमान्दार रहेर, राम्रो काम गरेर, जनताको साथ पाउँछु भनेर, तीब्र गतिमा अगाडि बढेको छ, छ । दायाँ बायाँ नहेरी ।
चारैतिरबाट अवरोध सिर्जना गरेको विषयलाई वास्तै नगरी, नटेरी । बैमानहरूको दुनियामा इमान्दार बनेर बँच्न गाह्रो पर्छ भन्ने विषय समयमै बुझ्न नसके टिक्ला खै कसरी ? संविधान संशोधन हुनुपर्छ सवैले भन्छन्, तर आफैले गर्दैनन् । अरूले गर्न खोजे पनि सहयोग गर्दैनन्, दिदैनन् । राजनीतिभित्रको राजनीति हो यो । गर्नुपर्छचाहिँ भन्ने, आफैले नगर्ने, अरूले गर्न खोज्दा पनि नदिने ।
संविधान निर्माणका क्रममा भएको थियो यस्तै । पहिलो संविधान सभा असफल बनाएपछि दोश्रो पल्ट चुनाव गराउन पनि दलहरू आपसमा मिल्न सकेनन् । त्यसपछि बहालवाला प्रधान न्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा सरकार बनाएर दोश्रो चुनाव गराए । त्यो चुनावमा माओवादीको शक्ति खस्क्यो, घमण्ड पनि तोडियो । त्यसपछि बल्ल आन्तरिक र बाह्य शक्ति सन्तुलन मिलेर ०७२ सालमा संविधान बनेर जारी पनि भयो । प्रयोगमा आएको दश वर्ष पुग्यो ।
अभ्यासका क्रममा जति बाधा अडचन आए, ती गाँठा फुकाउन पर्छ भन्ने लागेको छ सवैलाई । तर अघि सरेर आफैले गर्ने सामथ्र्य देखाउन अरू तयार छैनन् । जस लिन चाहेर, अपजस सुन्न नचाहेर, आफ्नै कुकर्मले कमजोर भएर । उतिखेरको पहिलो संविधान सभाबाट माओवादीलाई संविधान बनाउन नदिएझै अहिले पनि रास्वपालाई संशोधन गरेर जनमतको संबोधन गर्न दिने छैनन् सबै शक्ति मिलेर ।
अत्यधिक बहुमत ज्ुटाएको रास्वपासँग शक्ति सन्तुलन नमिलेकोले । रास्वपाले जस पाएर पुरानाले गरेको नदेखिने हुनाले पनि । जसरी ०६३ सालका लोकप्रिय प्रचण्ड र बाबुरामलाई बदनाम गराएर विचल्लीमा पु¥याए, उसैगरी यतिबेलाका लोकप्रिय बालेन र रविलाई पनि उतै पु¥याउने प्रयास जारी छ । राजनीति हो यो । विपक्षीले गर्ने पनि त्यही हो ।