Butwal Today

आत्मदाहले उदाङ्गो पा-यो प्रशासनिक बेथितिको तस्बिर 

२८ असार २०८३, आइतबार
अ+
अ-

काठमाडौँको व्यस्त सडकमा घटेको एउटा हृदय विदारक घटनाले सिङ्गो देशलाई स्तब्ध बनाएको छ । एक व्यक्तिले आफ्नो शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरे ।

यो घटना केवल एक व्यक्तिको आवेग वा व्यक्तिगत निर्णय मात्र होइन, बरु यसले हाम्रो राज्य संयन्त्र, प्रशासनिक शैली र मानवता गुमाउँदै गएको सुरक्षा निकायको एउटा कुरूप तस्बिर सार्वजनिक गरेको छ ।

सामाजिक सञ्जालमा भाइरल भएका दृश्यहरूले हरेक संवेदनशील नागरिकलाई झकझकाएको छ । जति बेला ती व्यक्तिले आफ्नो जीवनको अन्त्य गर्ने कठोर निर्णय गरिरहेका थिए, त्यति बेला वरिपरि रहेका सुरक्षाकर्मीहरूको भूमिका ’रक्षक’ भन्दा पनि ‘दर्शक’ वा ’साक्षी’ को रूपमा देखिनु अत्यन्तै आपत्तिजनक र गम्भीर लापरबाहीको पराकाष्ठा हो ।

घटनाको प्रारम्भिक चरणदेखि नै देखिएको सुरक्षाकर्मीहरूको कार्यशैलीले उनीहरूको तालिम र संवेदनशीलतामाथि ठुलो प्रश्न उठाएको छ । पठाओ चालकले यात्रु झार्दै गर्दा महानगर प्रहरीले त्यो ‘नो पार्किङ’ क्षेत्र भएको भनी सचेत गराएर पठाउन सक्थ्यो । तर, त्यसो गर्नुको सट्टा मोटरसाइकलमा लक लगाउनु र त्यसपछि ट्राफिक प्रहरीले हतार–हतार जरिवानाको रसिद थमाउनुले सुरक्षा निकायमा विद्यमान ‘दण्ड दिने मानसिकता’ को पुष्टि गर्छ ।

यस्तो अवस्थामा प्रहरीको प्राथमिकता कानुनको कार्यान्वयनभन्दा पनि नागरिकलाई कसरी ‘सास्ती’ दिने भन्नेमा केन्द्रित देखिनु राज्यको असफलता हो ।

सबैभन्दा हृदय विदारक पाटो भनेको ती व्यक्तिले जब पेट्रोल खन्याउन थाले, तबसम्म पनि प्रहरी रमिते बनेर उभिनु हो । आफ्नो सामुन्ने कोही व्यक्तिले ज्यान जोखिममा पारिरहँदा पनि रोक्ने प्रयास नगर्नु, बरु ‘साक्षी’ बन्नु गैर जिम्मेवारीको चरम नमुना हो ।

प्रहरीको मुख्य कर्तव्य नागरिकको ज्यान बचाउनु हो तर यहाँ प्रहरीले आफ्नो कर्तव्य बिर्सिएर एउटा निरपेक्ष दर्शकको भूमिका निर्वाह ग¥यो । अझ लाजमर्दो त यो छ कि, शरीरमा आगो लागिसकेपछि पनि प्रहरीले आगो निभाउने पहल गर्नुको साटो सर्वसाधारण मानिसहरूले आफ्नो ज्यान जोखिममा राखेर आगो निभाउनुप¥यो ।

जबकि, नगर प्रहरी त्यही बेला ती व्यक्तिको मोटरसाइकल जफत गरेर लाने सुरसार गर्दै थिए । यो घटनाले राज्य कतिसम्म संवेदनहीन र भौतिक वस्तुमा लोभी बन्दै गएको छ भन्ने कुरा छर्लङ्ग पारेको छ ।

घाइतेलाई अस्पताल लैजाने क्रममा पनि प्रहरीको भूमिका शङ्कास्पद देखियो । आगोले जलेको व्यक्तिलाई एम्बुलेन्स वा प्रहरीको गाडीमा राखेर तत्काल अस्पताल पु¥याउनुपर्नेमा उनलाई हिँडाएर लैजानु र उपचारको लागि जलनको विशिष्टीकृत अस्पताल (कीर्तिपुर अस्पताल) मा नलगी सामान्य अवस्थाको वीर अस्पताल लैजानु घोर लापरबाही हो । जलनका बिरामीका लागि हरेक सेकेन्ड महत्त्वपूर्ण हुन्छ ।

यदि गलत अस्पताल छनोट गरिन्छ भने त्यसले बिरामीको ज्यान बचाउने सम्भावनालाई झनै न्यून बनाउँछ । यो प्रशासनिक निर्णयमा भएको ‘कमन सेन्स’ को अभाव र तालिमको कमजोरी हो ।

यस घटनाले हाम्रो समाजमा ‘पुलिस स्टेट’ को आभास गराएको छ । जहाँ नागरिकको गुनासो सुन्ने, उनीहरूलाई सहजीकरण गर्ने वा सुरक्षा प्रदान गर्ने भन्दा पनि कानुनको नाममा डन्डा चलाउने र जरिवाना असुल्ने संस्कृति मौलाएको छ । सुरक्षाकर्मीहरूमा नागरिकप्रति समानुभूतिको अभाव खट्किएको छ । उनीहरूलाई सायद यो सिकाइएको छ कि नागरिक भनेका केवल जरिवाना तिर्ने माध्यम हुन्, न कि राज्यका अभिन्न अङ्ग । आत्मदाहको प्रयास गरेका ती व्यक्तिको आक्रोश पक्कै पनि त्यसदिनको जरिवाना वा मोटरसाइकल लकसँग मात्र सम्बन्धित थिएन होला ।

यो त वर्षौँदेखिको राज्यको दमन, गरिबी, बेरोजगारी र प्रशासनिक झन्झटको परिणाम स्वरूप पोखिएको आक्रोशको उत्कर्ष हुनुपर्छ । तर, त्यस आक्रोशलाई मत्थर पार्नुको साटो झन् बल्झाउने काम गर्ने हाम्रो प्रहरी प्रशासनप्रति आज सिङ्गो समाज आक्रोशित छ । प्रहरी प्रशासनले अब दण्ड र जरिवाना मात्र होइन, संकट व्यवस्थापनमा विशेष जोड दिनुपर्छ ।

यस्ता घटनामा कसरी वार्ता गर्ने, कसरी ज्यान जोगाउने भन्ने कुरा उनीहरूको प्राथमिक शिक्षा हुनुपर्छ । जरिवाना लगाउनु कानुनको पाटो हो, तर कुन समयमा र कुन अवस्थामा लगाउने भन्ने विवेक हुनुपर्छ । मानिसको मनोदशा नबुझी गरिने प्रशासनिक कारबाहीले यस्तै दुर्घटना निम्त्याउँछ । यो घटनामा संलग्न प्रहरीहरूमाथि तत्काल छानबिन हुनुपर्छ ।

यदि उनीहरूले आफ्नो पदीय कर्तव्य निर्वाह गर्न चुकेका छन् भने कानुन बमोजिम कारबाही हुनुपर्छ । प्रहरी संगठनले जनतालाई जवाफ दिनुपर्छ कि किन एउटा व्यक्तिले आगो लगाउँदा उनीहरू रमिते बने ? जलनका बिरामीलाई कहाँ लैजाने र कसरी प्राथमिक उपचार गर्ने भन्ने कुरा ट्राफिक प्रहरीलाई समेत थाहा हुनुपर्छ । राज्यले यस्ता आपत्कालीन अवस्थाका लागि स्पष्ट प्रोटोकल बनाउनुपर्छ ।

आत्मदाहको यो प्रयास एउटा व्यक्तिको हार होइन, यो हाम्रो राज्य संयन्त्रको हार हो । एक नागरिकले जब आफूलाई बचाउने र सुरक्षा दिने ठाउँमा कोही देख्दैन, तब ऊ आफ्नो ज्यानको आहुति दिने बाटो रोज्छ । यो घटनाले सुरक्षाकर्मीहरूलाई एउटा ठुलो पाठ सिकाएको हुनुपर्छ । वर्दीको अर्थ नागरिकको ज्यानको रक्षा गर्नु हो, न कि कानुनका धाराहरू घोकाएर सास्ती दिनु ।

यदि यस्ता घटनामा सुधार गरिएन भने, भोलि अरू पनि यस्तै निराशाजनक घटना दोहोरिन सक्छन् । राज्यले नागरिकको सुरक्षा र मर्यादाको सम्मान गर्न नसिकेमा, त्यो राज्यको संरचना जतिसुकै ठुलो र शक्तिशाली भए पनि त्यो खोक्रो सावित हुन्छ । हामीले कस्तो समाज बनाउँदैछौँ ?

जहाँ एउटा मोटरसाइकलको साँचो मानिसको ज्यानभन्दा महत्त्वपूर्ण हुन्छ ? यो प्रश्नको उत्तर आज हरेक जिम्मेवार निकायले खोज्नुपर्ने बेला आएको छ । यो घटनाले केवल ती व्यक्तिलाई होइन, हामी सबैलाई जलाएको छ । अब राज्य मौन रहन मिल्दैन । पीडितलाई न्याय र प्रहरी प्रशासनमा व्यापक सुधारको अपेक्षा आजको आम नागरिकको आवाज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?