© 2026
युवाको आशा र आकाङ्क्षा सफल पारौँ भन्ने नाराका साथ यो वर्षको विश्व जनसङ्ख्या दिवस नेपालमा पनि शनिवार मनाइएको छ ।
बढ्दो जनसङ्ख्या विश्वकै लागि चुनौती बनिरहेको सन्दर्भमा यो दिवसले जनसङ्ख्याको सन्तुलित व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा एउटा मार्ग निर्देश तयार गर्नुपर्ने आवश्यकता छ । यद्यपि यो दिवस नेपालमा औपचारिकताकै लागि मनाउने गरिन्छ ।
नेपालले जनसङ्ख्या वृद्धिको चुनौती खासै सामना गर्नुपरेको छैन । बरु केही पालिकाले त बसाइसराइका कारण जनसङ्ख्या घटिरहेकोमा बढी सन्तान जन्माउनेलाई प्रोत्साहन दिन थालेका छन् । पाल्पाको रामपुर नगरपालिका त्यसको एक उदाहरण हो ।
रामपुर वडा नंं ४ ले दुई भन्दा बढी सन्तान जन्माउने दम्पत्तिको छोरा छोरीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ । कतै जनसङ्ख्या वृद्धिको चुनौती छ भने कतै कम जनसङ्ख्या समस्याको रूपमा देखापरिरहेको अवस्था छ ।
यो दिवस मनाउँदै गर्दा यसको गहिराईमा पुग्नुपर्ने आवश्यकता छ । त्यो के भने सन. १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या ५ अर्ब पुगेको अवसरमा आयोजना भएको पपुलेशन समिटले हरेक वर्षको जुलाई ११ लाई विश्व जनसङ्ख्या दिवस मनाउने घोषणा गरेपछि हरेक बर्ष यो दिवस मनाउने औपचारिकता सुरू भएको हो ।
शनिवार विश्व जनसङ्ख्या दिवस मनाईरहँदा जनसङ्ख्या मूख्य चुनौतिका रूपमा देखापरिरहेको छ । यद्यपि कुनै देशमा भने जनसङ्ख्या वृद्धिको ऋणात्मक संकुचन अर्को चुनौती बन्दै गएको छ । जनसङ्ख्या वृद्धि वास्तवमा अवसर हो या चुनौती भन्ने विषयमा विवाद हुने अवस्था पनि छ । किनभने कहीँ जनसङ्ख्या बृद्धि चुनौती भैरहेको छ भने कहीँ अवसरका रूपमा समेत हेर्ने गरिएको छ ।
जेहोस पछिल्लोसमय विश्वका लागि जनसङ्ख्या बृद्धि चुनौतिका रूपमा देखापरिरहेको छ । अहिले विश्वका विकसित भन्दा अविकसित मुलुकहरूमा घट्दो जनसंख्याका कारण समस्या उत्पन्न भैरहेको छ । सन्तुलित जनसङ्ख्या बिना कुनैपनि देशको सुरक्षा, विकास र दिगो भविष्यको कल्पना पनि गर्न सकिन्न ।
यही नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने नेपालले समेत जनसङ्ख्या वृद्धिको चुनौती सामना गर्नुपर्ने अवस्था छ । राष्ट्रिय तथ्यांक विभागका अनुसार नेपालको जनसङ्ख्या करिव ३ करोड ११ लाख पुगिसकेको अवस्था छ । जसमध्ये पुरुषको तुलनामा महिलाको जनसङ्ख्या धेरै रहेको छ । पछिल्लो दसकमा नेपालको वार्षिक जनसङ्ख्या वृद्धिदर ०.९२ प्रतिशत रहेको छ ।
यो जनसङ्ख्या बृद्धिदर त्यतिधेरै चुनौतिको बिषय त होइन तर जनसङ्ख्या वृद्धिको अनुपात नियन्त्रणमै राख्नुपर्छ भन्ने जनसांख्यिक मान्यता रहेकोले नियन्त्रणमा ध्यान दिनु जरुरी छ । त्यसमाथि लुम्बिनी प्रदेश नेपालमा तेश्रो धेरै जनसङ्ख्या हुने प्रदेश हो । जनगणना २०७८ का अनुसार लुम्बिनी प्रदेशमा नेपालको १७.५६ प्रतिशत जनसङ्ख्या रहेको छ ।
लुम्बिनी प्रदेशमा एक दशकमा ६ लाख २२ हजार ८०६ जनसङ्ख्या थपिएको छ । जनसङ्ख्या बृद्धि यसरी नै बढ्दै जाने हो भने चुनौती हुनेछ । जनसङ्ख्या बृद्धि नियन्त्रणको एउटा उपाय भनेको परिवार नियोजन हो । अतः यसको सर्वसुलभता र जनचेतना नियन्त्रणको महत्वपूर्ण आयाम बन्न सक्छ । तर, परिवार नियोजनका साधनको प्रयोगमा समेत रुची कम हुँदै गएको विभिन्न अध्ययनले देखाएका छन् ।
जनसङ्ख्या बृद्धि नियन्त्रण नहुनुको यो एक कारण हुन सक्छ । अव जनसङ्ख्या बृद्धिका कारक र चुनौतिहरूलाई अहिलेदेखि नै सम्बोधन गर्दै नियन्त्रणमा ध्यान दिनुपर्ने आवश्यकता छ । अवको दिनमा दिवस मनाएर मात्रै जनसङ्ख्या नियन्त्रण हुन सक्दैन । यो एउटा सचेतनाको माध्यम मात्रै हो । जनसङ्ख्या बृद्धि नियन्त्रण गर्ने हो भने फरक शैली र कार्यक्रमको खाँचो छ ।
त्यसका विषयमा नेपाल सरकारको ध्यान जाओस् । सरकारको जनसङ्ख्या नीति के हो ? सवैभन्दा पहिले त्यो स्पष्ट हुनु जरुरी छ । अनिमात्रै नियन्त्रणको कुरा सार्थक हुन सक्छ ।