Butwal Today

विश्व खेलकुद पत्रकार दिवस

१८ असार २०८३, बिहीबार
अ+
अ-

आज विश्व खेलकुद पत्रकार दिवस । विश्वमा हरेक दिन जसो कुनै न कुनै दिवस परिरहन्छन् । आज बिहीबार विश्व खेलकुद पत्रकार दिवसको औपचारिकता पूरा गरिँदै छ । निश्चित रूपमा विश्वमा खेलकुदको विकासका लागि खेल पत्रकारहरूको भूमिका ठुलो छ ।

खेल पत्रकारहरूकै कारण विश्वको कुनै एक कुनामा भइरहेको खेल अर्को कुनामा प्रत्यक्ष हेर्न र सुन्न सकिने व्यवस्था भएको छ । यो भनेको खेल पत्रकारसँगै प्रविधिमा आएको विकास र परिवर्तनकै कारण हो । यो दिवस मनाई रहँदा अहिले विश्व फुटबलको महाकुम्भ जारी छ ।

खेलाडीमा मात्र होइन खेल प्रेमीमा समेत विश्व फुटबलले उत्साह सिर्जना गरेको छ । वास्तवमा खेल पत्रकारले नेपालको खेलकुदको विकासमा मात्रै होइन, नेपालकै गौरव बढाएका छन् । नेपालमा अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना गर्न नसकिए पनि कम्तीमा पनि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको विश्वकप फुटबलले नेपालमा खेलकुदको लहर सिर्जना गर्न खेल पत्रकारको भूमिका छ ।

यो खेल कुम्भले नेपालमा राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय स्तरकै खेलाडी र पत्रकार छन् भन्ने प्रमाणित गरेको छ । खेल पत्रकारले जोखिम लिएर अनि रातदिन नभनी खेल पत्रकारिताको विकासमा समर्पित भइरहँदा पेसाको ग्यारेन्टीको अभाव छ । खेल पत्रकारजस्तै सबै आम पत्रकारहरूको यो समस्या हो । जेहोस विश्व फुटवल महाकुम्भले विश्वका खेल प्रेमीलाई उल्लास छरेको छ ।

त्यसका लागि रातदिन नभनी प्रत्यक्ष खेल देखाउने पत्रकारहरूको योगदान महत्त्वपूर्ण छ । नेपालको सन्दर्भमा खेल पत्रकारको पेसागत ग्यारेन्टी छैन । युवा खेल पत्रकारहरू नेपालमै अवसर सिर्जना हुन्छ कि भन्ने सपनामा छन् तर पछिल्ला केही कारणहरू यस्ता छन् जसले खेल पत्रकारहरूको स्थायित्वमा अवरोध सिर्जना गरिरहेका छन् ।

नेपाली खेलाडीहरू जस्तै खेल पत्रकारहरू पनि नेपालमा अवसर नभएकै कारण विदेश पलायन हुन बाध्य भइरहेको अवस्था छ । सरकारले राष्ट्रका लागि आशालाग्दा खेल पत्रकार र खेलाडीलाई स्वदेशमै रोजगारीको अवसर प्रदान गरोस् । राष्ट्रलाई खुसी दिने एक मानकमध्ये खेलकुद पनि एक माध्यम हो भन्दा फरक पर्दैन ।

खेलकुद पत्रकारिता क्षेत्र नेपालको परिचय अन्तर्राष्ट्रिय रूपमा स्थापित गराउने महत्त्वपूर्ण एवं प्रभावकारी माध्यम पनि हो । वास्तवमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेलाडीले राष्ट्रकै प्रतिनिधित्व गरेका हुन्छ भने खेल पत्रकारहरूले ती खेलाडीको प्रतिभालाई विश्वमाझ चिनाउन भूमिका खेलेको हुन्छ । मैदानमा खेलाडीले गर्ने प्रदर्शन र देखाउने व्यवहारसँग देशको प्रतिष्ठा र चिनारी गाँसिएको हुन्छ ।

त्यस्तै खेल पत्रकारले पनि विश्व खेलकुम्भमा प्रतिनिधित्व गर्दा देशको नाम र सान विविध माध्यमबाट प्रदर्शन गरिरहेको हुन्छ । त्यसैले खेलाडीलाई सम्बन्धित राष्ट्रको सद्भावना दूतका रूपमा हेरिएको हुन्छ भने खेल पत्रकारलाई राष्ट्रिय दुतको पथ प्रदर्शकका रूपमा चिनिन्छ । खेलकुदको गौरव बढाउन खेल पत्रकारले खेलेको भूमिका सायद विर्सन सकिदैन् । तर, सरकारको चासोको विषयभित्र खेल पत्रकार नपर्नु अहिलेसम्मको यथार्थ हो । अहिलेमात्रै होइन, यसअघि बनेका कुनैपनि सरकारले खेल पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी गरेनन् ।

जुन जोगी आएपनि कानै चिरेको यसपटक नहोस् । जसरी नेपालको खेलकुद विकासमा भौतिक पूर्वाधारको ठुलो अभाव छ, त्यसैगरी नेपालको खेल पत्रकारिताको सम्बद्र्धनमा पनि राज्यको लगानी, संरक्षण र प्रतिवद्धताको अभाव छ ।

अव खेलाडीहरूले नेपालमै भविष्य देख्ने र यहीँ रोजगारीको अवसर पाउन सक्ने वातावरण वनोस् । त्यसैगरी खेलको विकासमा जोडिएका खेल पत्रकारहरूको जीवनको सुरक्षामा समेत राज्यले ध्यान दिनु जरुरी छ । राज्यले दायित्व लिएर उनीहरूको पेसागत हित र सुरक्षाको ग्यारेन्टी गरोस् । खेलकुद पत्रकार दिवसको अवसरमा खेल सम्बद्ध पत्रकारहरूमा बधाई ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?