© 2026
हजारौँ बिरामीको आस्थाको धरोहर, लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको अत्याधुनिक भवन निर्माणमा चिन्ता थपिएको छ ।
निर्माण व्यवसायीले तदारुकताका साथ काम अघि बढाएकोले समयमै निर्माण सम्पन्न हुने अपेक्षा गरिएको यो अस्पतालको निर्माणका काम बजेट अभावका कारण प्रभावित हुने अवस्था आएको छ ।
निर्माण कम्पनीले तीव्र गतिमा काम अगाडि बढाए पनि सरकारले समयमै रकम उपलब्ध गराउन नसक्दा आयोजना सम्पन्न गर्न चुनौती थपिएको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा भवन निर्माणका लागि विनियोजन गरिएको एक अर्ब रुपियाँमध्ये अधिकांश रकम अघिल्लो वर्षको बक्यौता भुक्तानीमै खर्च भएको छ ।
त्यसपछि निर्माण कम्पनीले अहिले पनि उधारोमा काम गरिरहेको छ । ठेक्का सम्झौता अनुसार आगामी असार मसान्तसम्म सरकारको कुल भुक्तानी दायित्व एक अर्ब ३८ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यति धेरै रकम अभावमा निर्माण व्यवसायीले काम अघि बढाउन सक्ने अवस्था छैन । जसका कारण लुम्बिनी प्रदेशको गौरवको आयोजना प्रभावित हुने हो कि भन्ने आम चिन्ता उत्पन्न भएको छ ।
निर्माण कम्पनीसँग गरेको सम्झौता अनुसार आवश्यक बजेट कुनै पनि वर्ष पूर्ण रूपमा विनियोजन हुन सकेको छैन । ठेक्का सम्झौता अनुसार निर्माण व्यवसायीले सम्पन्न कार्यको बिल पेस गरेको ५६ दिनभित्र भुक्तानी कानुनी गर्नुपर्ने व्यवस्था छ ।
निर्धारित अवधिभित्र भुक्तानी हुन नसके निर्माण कम्पनीलाई १० प्रतिशतसम्म जरिवाना दिनुपर्ने प्रावधान रहेको छ । तर, विगत सात आठ महिनादेखि कुनै पनि बिलको भुक्तानी हुन नसकेकाले सरकारमाथि थप आर्थिक दायित्व बढ्दै गएको छ ।
निर्माण व्यवसायीले सरकारले लामो समयदेखि भुक्तानी नगर्दा निर्माणका काम प्रभावित हुने अवस्था आएको जनाएको छ । दैनिक हजारौँ बिरामीको उपचार हुने यो अस्पतालप्रति सरकारले यसअघि पनि लापरबाही गर्दै आएको थियो । अस्पतालको गुरुयोजना अनुसारको निर्माणको काममा ढिलाइ हुनुहुँदैन । हजारौँ बिरामीको आस्थाको धरोहर यो अस्पतालप्रति कसैले खेलबाड गर्नु हुँदैन ।
अस्पतालजस्तो संवेदनशील विषयमा आवश्यक बजेट समयमै उपलब्ध गराउनेतर्फ सरकारको ध्यानाकर्षण होस् । यसप्रति प्रदेश सरकार मात्र होइन संघीय सरकारको समेत ध्यानाकर्षण हुनु जरुरी छ । लुम्बिनी प्रादेशिक अस्पताल बर्तमान स्वरूपमा आउन यसका संस्थापकहरूको धेरै ठूलो सहयोग कहिल्यै बिर्सन सकिदैन ।
अस्पतालमा अहिले सयौं चिकित्सक, स्वास्थ्यकर्मी सहित हजार बढीले रोजगारी पाएका छन् । यो अस्पताल हजारौँ बिरामीको जीवन बचाउने आस्थाको केन्द्र बनेको छ । तर, अस्पतालजस्तो अत्यन्त संवेदनशील क्षेत्रमा झेल हुने काम कतैबाट हुनुहुँदैन ।
यद्यपि अस्पताललाई साधन स्रोत र उपकरणको कमी हुन नदिने प्रतिवद्धता प्रदेश मन्त्रीबाट आएको छ । नेपाली मात्र नभई विदेशीहरू समेत उपचार गर्न आउने थलोको रूपमा अस्पतालको विकासमा प्रदेश सरकारले खुट्टा नकमाओस् ।
अस्पतालको भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको अवस्थामा यो अस्पताल नेपालकै ठूलो अस्पताल बन्ने भएकोले अस्पतालको अत्याधुनिक भवन बनाउन खुट्टा नकमाऔं । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामात्र होइन गण्डकी प्रदेशको केही जिल्लाका बिरामीको उपचार गर्ने केन्द्रको रूपमा यसको विकासमा अव पछाडी फर्किने अवस्था नआओस् ।
त्यसका लागि फेरीपनि प्रदेश सरकारले आफ्नो प्रतिवद्धता कार्यान्वयन गरोस् । संघीय सरकारले समेत यो अस्पतालको क्षमता बृद्धिमा ध्यान पु¥याओस् । अस्पतालको १२ तले भवनको लगानी सुनिश्चितता हुनुपर्दछ । अस्पतालजस्तो संवेदनशील क्षेत्रमा कुनै पनि मानेमा निर्माणमा ढिलासुस्ती हुनुहुँदैन । पछिल्लोसमय उपचार सेवा अत्यन्त महंगो हुँदै गएकोले नीजि अस्पतालमा आम नेपालीको पहुँच पुग्न सक्दैन ।
यो स्वयंसिद्ध तथ्य हो । तसर्थ सरकारी अस्पतालप्रति आम नेपालीको भरोसा बढाउने गरि उपचारसेवाका साथै प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माणमा कहिँकतैबाट अब ढिलासुस्ती नहोस् । त्यसका लागि संघीय सरकारदेखि प्रदेश सरकारले समयमै आवश्यक बजेट उपलब्ध गराउनेतर्फ ध्यान दिनु जरुरी छ ।