© 2026
जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ आज २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८३ देभैभरी मनाइँदै छ । यो वर्ष खडेरी पर्ने चेतावनीबिच किसानले धान रोपाई सुरु गरेका छन् तर अधिकांश स्थानमा भने अहिले पनि खेतमा धुलो उडेको अवस्था छ ।
आज असार १५ अर्थात् दही चिउरा खाने दिन पनि हो । तर, अझै पर्याप्त सिँचाइको अभावमा धान खेत बन्जर छन् । तर पनि हामी आज धान दिवस तथा रोपाई महोत्सव मनाउने औपचारिकता पूरा गर्दैछौं । नेपालमा धान दिवस तथा रोपाई महोत्सव वि.सं २०६१ सालदेखि मनाइँदै आइएको सर्वविदितै छ । धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।
आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक लगायतको महत्त्व रहेको धानबालीलाई एउटा बालीका रूपमा मात्र नभई औसत नेपालीको जीवन पद्धतिका रूपमा हेरिने गरिएको छ । धानको यिनै विविध महत्वलाई दृष्टिगत गरी उत्पादन वृद्धि एवं आधुनिकीकरण र व्यवसायिकीकरण गर्न हरेक वर्ष धान दिवस मनाउने गरिएको छ । धान दिवस तथा रोपाई महोत्सव मनाई रहँदा यो वर्षको चिन्ताको विषय बनेको छ– खडेरी ।
मौसमबीदहरूले यो वर्ष पानी कम पर्ने प्रक्षेपण गरेका छन् । जसका कारण धान उत्पादनमा भारी कटौती हुने बताइएको छ । राष्ट्रिय कृषि गणना २०७८ का अनुसार नेपालका ४१ लाख ३१ हजार कृषक घरधुरीमध्ये २७ लाख ६५ हजार परिवार धान खेतीमा आबद्ध छन् । कुल खेतीयोग्य जमिनको ५४ प्रतिशत भू– भागमा धान खेती हुने गरेको छ ।
कृषि गार्हस्थ्य उत्पादनमा धानको हिस्सा १३ प्रतिशत र कुल खाद्यान्न उत्पादनमा ५० प्रतिशत रहेको छ । वार्षिक करिब दुई खर्ब रुपैयाँ बराबरको योगदान धानबालीले मात्रै मुलुकको अर्थतन्त्रमा पु¥याउँदै आएको छ । तर, अर्को चिन्ताको कुरा के छ भने नेपालका लागि करिव ७० लाख मेट्रिक टन धान आवश्यक रहेकोमा अझै वार्षिक १० लाख मेट्रिक टन धान अपुग छ ।
बर्से धानले मात्रै नपुग्ने अवस्था भएपछि धानमा आत्मनिर्भर बन्न सरकारले चैते धानको क्षेत्र विस्तार, उन्नत बीउमा अनुदान र न्यूनतम समर्थन मूल्य निर्धारण जस्ता कार्यक्रमलाई प्राथमिकता दिनु जरुरी देखिएको छ ।
आज चिन्ता गर्नुपर्ने अर्को विषय हो– सहर बजार कङ्क्रिटमय बन्दै छन् । खेतका टारीमा सिमेन्टका कङ्क्रिट ठडिएका छन् । जसका कारण खेतीयोग्य जमिनको क्षेत्रफल बर्सेनि घटदै गएको छ । असार १५ मनाई रहँदा धान रोप्ने तयारीमा रहेका किसान आकास हेरेर बस्नु परिरहेको छ । पर्याप्त सिँचाइको व्यवस्था छैन् ।
नेपालमा धानखेतीका लागि तराई र भित्री मधेस तथा पहाडका फाँटलाई उर्वरभूमि मानिन्छ । पछिल्लो समय उन्नत जातको धानखेतीका लागि सरकारले कृषकलाई प्रोत्साहन गरेको छ भने रैथाने पुराना बीउ प्रवद्र्धनमा पनि जोड दिँदै आएको छ । तर, धान किसानले भने जस्तो प्रोत्साहन नपाएको गुनासो गर्दै आएका छन् ।
जेहोस यो वर्षको धान दिवसको नाराले कृषक र अन्य पक्षलाई यस्ता विषयमा सचेत र जागरुक तुल्याई धान उत्पादन एवं उत्पादकत्व बढाउन महत्वपूर्ण सहयोग पुगोस् । धान दिवसकै अवसरमा पालिकामा रोपाई महोत्सव गरेर खुसियाली मनाइएको छ । तर, दुर्गम गाउँमा बस्नेहरूमा धान दिवसले खुसी ल्याउन सकेको छैन । अझैपनि धान दिवसलाई औपचारिकतामा सीमित गरिएको छ ।
आखिर यसरी कतिञ्जेल कृषि क्रान्तिको कुराले मुलुक धानिन्छ ? खडेरीसंगै मल नपाएका कारण उत्पादन घटना चिन्ता छ । सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिने हो भने सवैभन्दा पहिले सिँचाइको व्यवस्था गरोस् । त्यसपछि चाहेको बेला मल पाउने वातावरण तयार होस् ।