Butwal Today

स्वास्थ्यमाथि खेलबाड नगर 

१४ असार २०८३, आइतबार
अ+
अ-

दम तथा दीर्घकालीन फोक्सो रोगको उपचारमा प्रयोग हुने चर्चित औषधीसँग मिल्दोजुल्दो नक्कली औषधी बुटवलमा बिक्री वितरण भइरहेको सुन्दा आश्चर्य लाग्नु स्वाभाविक छ ।

स्वास्थ्य जस्तो संवेदनशील विषयमा यो हदको लापरबाही कसरी होला ? तर, बुटवलमै यही अवस्था देखिएको छ । औषधी व्यवस्था विभागले समेत भारतीय औषधी उत्पादक कम्पनी सिप्ला लिमिटेडद्वारा उत्पादित ‘सेरोफ्लो रोटाक्याप्स’ को नक्कली स्वरूप बजारमा भेटिएको पुष्टी गरिसकेको छ । ‘सेरोफ्लो रोटाक्याप्स’ दम तथा सिओपिडीका बिरामीमा श्वासप्रश्वास सहज बनाउन प्रयोग गरिने औषधी हो ।

यसले श्वासनली खुला राख्न तथा सास फेर्न हुने कठिनाइ कम गर्न सहयोग पु¥याउँछ । औषधी विभागले सम्बन्धित ब्याचका औषधीको विशेष निगरानी गर्न र कुनै शंका लागेमा तत्काल जानकारी गराउन सबै सरोकारवालासँग आग्रह गरेको छ ।

केही दिनअघि बुटवल बजारमा बिक्री भइरहेको केही औषधि गुणस्तरहीन भएको समाचार प्रकाशमा आएको थियो । प्रहरी प्रशासनले गरेको अनुगमनका क्रममा बुटवलको सैनामैना फार्मेसीमा श्वासप्रश्वास सम्वन्धि नक्कली औषधी बिक्री गरिरहेको भन्दै संचालक पक्राउ परेका थिए ।

एक त रोगका कारण बिरामीको अवस्था नाजुक भएको हुन्छ, त्यसमाथि उसले प्रयोग गर्ने औषधि नै नक्कली भएपछि बिरामीको स्वास्थ्यमा कस्तो असर पर्ला ? विरामीले प्रयोग गर्ने औषधि नै मापदण्ड विपरीत भएको थाहा पाएपछि यस्ता औषधि सेवन गरिरहेका बिरामीमा त्रास उत्पन्न हुनु स्वाभाविक छ । मानिसको स्वास्थ्यमाथि खेलवाड गर्नेमाथि हदैसम्मको कारबाही हुनु जरुरी छ ।

त्यसैले औषधिजस्तो संवेदनशील विषयमा राज्य गम्भीर बन्नैपर्छ । औषधीमा निरन्तर अनुगमन हुनु जरुरी छ । तीन बर्षअघि पनि बुटवलको दिपनगरबाट प्रशासनले अबैध औषधी नियन्त्रणमा लिएको थियो । भारतबाट नक्क्ली औषधी मगाएर लेबलिङ गरि विक्री वितरण गर्न लागिएको अवस्थामा ठूलो मात्रामा नक्कली औषधी वरामद भएको थियो ।

बजारमा विक्रीका लागि आएको औषधि गुणस्तरहीन र मापदण्ड विपरीत हुन सक्ने कुरालाई मध्यनजर गरी सम्बन्धित निकायले बजार अनुगमनलाई तीब्र बनाउनु जरुरी छ । औषधी व्यवसायी संघ रूपन्देहीले समेत नक्कली तथा प्रतिवन्धित औषधी विक्री जस्तो कार्यले आम नागरिकको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गर्नुका साथै सम्पूर्ण औषधि व्यवसायप्रतिको विश्वास कमजोर बनाउने भएकाले दोषी प्रमाणित हुने व्यक्ति वा संस्थामाथि प्रचलित कानुन अनुसार कडा कारबाही हुनुपर्ने धारणा राखेको छ ।

संघले नागरिकको जीवन र स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने औषधि व्यवसाय अत्यन्त संवेदनशील क्षेत्र भएकाले यस क्षेत्रमा संलग्न सबै पक्षले उच्चतम सावधानी, नैतिकता र जिम्मेवारीका साथ सेवा प्रवाह गर्नुपर्नेमा समेत जोड दिएको छ ।

कानुनविपरीत कार्य गर्ने, गुणस्तरहीन वा शंकास्पद औषधिको कारोबार गर्ने, सेवाग्राहीलाई भ्रमित पार्ने तथा औषधि खरिद–बिक्री र वितरण प्रणालीलाई अव्यवस्थित बनाउने गतिविधि कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सबै पक्षले विशेष सावधानी अपनाउनुपर्ने जरुरी छ ।

नक्कली औषधीको प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम उत्पन्न गर्न सक्ने कुरामा विवाद छैन । विरामीको स्वास्थ्यमाथि खेलवाड गरि नक्कली औषधी प्रयोग हुनु दुःखद हो । यसमा सरकारले गंभीर तरिकाले छानबिन गरेर दोषीमाथि कडाभन्दा कडा कारबाही गर्नेतर्फ ढिलाई नगरोस् ।

अवको दिनमा नक्कली औषधी बिक्री वितरण गर्नेलाई कडाभन्दा कडा कारबाही गरेमात्रै यो समस्याको न्यूनिकरण हुनसक्छ । ठूलो कमिसनको नाममा नक्कली औषधीको विक्री गर्नु भनेको फार्मेसीहरूको समेत ठूलो अपराध हो । स्वास्थ्य जस्तो मानवीय सम्बेदनशीलतासंग जोडिएको विषयमा गंभीर लापरबाही गर्नेमाथि हदैसम्मको कारबाही गरियोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?