© 2026
लस एन्जलस ।
विश्वकप फुटबलको उद्घाटन खेलमा इरानको राष्ट्रगानका क्रममा दर्शकदीर्घाबाट उठेको विरोध र समर्थनबीच इरानी खेलाडी रामिन रेजियानले त्यसलाई इरानीहरूको आन्तरिक विषय भएको बताउँदै बाह्य हस्तक्षेप आवश्यक नरहेको धारणा व्यक्त गरेका छन् । लस एन्जलसमा भएको खेलले खेलकुदसँगै इरानको राजनीतिक विभाजनलाई पनि अन्तर्राष्ट्रिय मञ्चमा पुनः उजागर गरेको छ ।
न्युजिल्यान्डविरुद्ध २–२ को बराबरीमा सकिएको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै इरानका गोलकर्ता रेजियानले राष्ट्रगान बजिरहेका बेला दर्शकबाट उठेको विरोधको आवाजबारे सोधिएको प्रश्नमा संयमित तर स्पष्ट प्रतिक्रिया दिए ।
“यदि हामीबीच कुनै समस्या छ भने, त्यो हाम्रो विषय हो, तपाईंहरूको होइन”, उनले भने, “म तपाईंलाई सम्मान गर्छु, तर यो हामीबीचको कुरा हो र हामी आफैँ समाधान गर्नेछौँ । चिन्ता नगर्नुहोस् ।”
लस एन्जलसमा ठूलो इरानी–अमेरिकी समुदाय बसोबास गर्दै आएको छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान छाडेका नागरिक र तिनका सन्तानहरूको उल्लेखनीय उपस्थिति रहेको यस सहरलाई कहिलेकाहीँ ‘तेह्रान्जेल्स’ भनेर पनि चिनिन्छ ।
खेलअघि सयौँ प्रदर्शनकारी रङ्गशालाबाहिर भेला भएका थिए । उनीहरूले ड्रम बजाउँदै नारा लगाएका थिए र इरानी राष्ट्रिय टोलीलाई तेहरान सरकारको प्रचार माध्यमका रूपमा प्रयोग गरिएको आरोप लगाएका थिए । प्रदर्शनमा सहभागी धेरैले इस्लामिक क्रान्तिअघिको इरानी झण्डा बोकेका थिए, जुन हालका सरकारविरोधी समूहहरूबीच लोकप्रिय प्रतीक बनेको छ ।
रङ्गशालाभित्र राष्ट्रगान सुरु हुनेबित्तिकै समर्थन र विरोधका आवाज मिसिएका थिए । केही दर्शकले राष्ट्रगानप्रति असहमति प्रकट गरेका थिए भने अरूले समर्थनमा जयजयकार गरेका थिए । खेलभरि पनि इरानी टोलीप्रति दर्शकहरूको प्रतिक्रिया मिश्रित देखिएको थियो ।
कडा सुरक्षा व्यवस्थाबीच सम्पन्न उक्त खेलमा राजनीतिक तनावको छाया देखिए पनि मैदानमा प्रतिस्पर्धा रोमाञ्चक रह्यो । रेजियानले एक गोल गर्नुका साथै अर्को गोलका लागि अवसर सिर्जना गर्दै टोलीको बराबरीमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
तर खेलपछि उनले राजनीतिक विवादमा थप टिप्पणी गर्न अस्वीकार गर्दै आफूहरू फुटबलकै विषयमा बोल्न आएको स्पष्ट पारे ।
“वास्तवमा हामी यहाँ फुटबलसम्बन्धी प्रश्नहरूको जवाफ दिन आएका छौँ”, उनले भने, “इरानका मेरा मानिसहरू धेरै राम्रा छन् । अहिले संसारले पनि मेरा मानिसहरूको बारेमा थाहा पाएको छ ।”
विश्वकपजस्तो विश्वव्यापी प्रतियोगितामा इरानको उपस्थितिसँगै देशभित्र र प्रवासी समुदायमा रहेका राजनीतिक मतभेद फेरि सतहमा देखिएका छन् । तर इरानी खेलाडीहरूले भने आफूहरूलाई खेलमै केन्द्रित राख्न खोजिरहेको सङ्केत दिएका छन् । रासस