© 2026
उन्नाइसौँ शताब्दीदेखि सुरु भएको औद्योगीकरण र यातायात तथा विलासिताका प्रविधिको विकासले मानव समुदायलाई निकै सजिलो त बनाएको छ, साथसाथै विश्वलाई सङ्कटग्रस्त समेत बनाउँदै लगेको छ ।
खास गरी इन्धनको प्रयोगले पृथ्वीमा हरित गृह प्रभाव उत्पन्न भई विश्वव्यापी उष्णिकरणको अवस्था आएको छ, जसको प्रत्यक्ष असर पृथ्वीको जलवायु–चक्रमा परिरहेको छ । वैज्ञानिकहरूका अनुसार पछिल्लो सय वर्षमा पृथ्वीको तापक्रम, मौसम–चक्र र हावापानीमा निकै हेरफेर भइरहेको छ । सन् १९५० को दशकको तुलनामा हाल विश्वको औसत तापक्रम लगभग १.० देखि १.२ डिग्री सेल्सियसले वृद्धि भएको छ ।
सन् १८५०–१९०० (पूर्व–औद्योगिक काल) सँग तुलना गर्ने हो भने पृथ्वीको कुल औसत तापक्रम १.३ देखि १.४५ डिग्री सेल्सियस सम्म बढिसकेको छ । सन् १९५० पछि मात्रै यसको झन्डै ८०% हिस्सा वृद्धि भएको हो । जलवायु परिवर्तनका प्रभाव विशेष गरेर नेपाल जस्ता गरिब, विकासोन्मुख, भूपरिवेष्टित तथा पर्वतीय मुलुकहरूमा बढी देखिएको छ ।
अधिकांश नेपालीहरूको आर्थिक अवस्था कमजोर भएकोले हरित गृह ग्याँस उत्सर्जन गर्ने मोटरगाडी र बिलासिताका साधनहरूको प्रयोग निकै कम मात्रामा भइरहेको पाईन्छ । अनि नेपालमा औद्योगीकरण पनि नगन्य मात्रामा छ ।
यी कारणहरूले गर्दा नेपालले विश्वको कूल हरित गृह ग्याँसको करिव ०.०२७ प्रतिशत मात्र उत्सर्जन गर्ने गरेको छ । नेपालले न्यून मात्रामा हरित गृह ग्याँस उत्सर्जन गरे पनि वायुमण्डलीय तापक्रम बृद्धिका् कारण प्रभावित हुँदै गएको छ । सन् १९७४–२०१४ मा नेपालको तापक्रम औसत ०.५६ डिग्री सेल्सियसले बढेको देखिन्छ । प्रक्षेपणहरूले देखाए अनुसार भविष्यमा औसत तापक्रम पनि सन् २०१६–२०४५ मा ०.९२–१.०७ र सन् २०३६–२०६५ मा १.३–१.८२ डिग्री सेल्सियसले बढ्ने अनुमान छ ।
अध्ययन अनुसार, शताब्दीको अन्त्य सम्ममा, बर्षा औसत ११–२३ प्रतिशत र औसत तापक्रम १.७२–३.५८ डिग्री सेल्सियसले बृद्धि हुने अनुमान गरिएको छ । जलवायु परिवर्तनको ६० प्रतिशत भन्दा बढी प्रभाव जलस्रोतमा पर्ने बताईन्छ ।
पछिल्ला वर्षहरूमा मुसलधारे वर्षा हुने दिनको संख्या बढ्दैछ । पानी पर्ने समय र अवधिमा परिवर्तन भइरहेको छ । तीब्र गतिमा हिमगलन हुँदै जानाले हिमनदीहरू पातलिंदै र छोट्टिंदै गएको र हिमतालको आकार बढ्दै गएको विभिन्न अध्ययनहरूले देखाएका छन् ।
कृषि तथा खाद्यान्न, जलस्रोत, वनजङ्गल तथा जैविक विविधता, स्वास्थ्य, पर्यटन तथा पूर्वाधार लगायतका हरेक क्षेत्रहरूमा जलवायु परिवर्तनको प्रतिकूल प्रभाव पर्न थालेको छ । बाढी, पहिरो डढेलोको साथै खडेरी, अतिवृष्टि अनावृष्टिका घटनाहरूमा तीव्रता आएको छ ।
यी कारणबाट नेपालमा अत्यधिक मात्रामा धनजनको क्षति हुनुको साथै जीविकोपार्जनमा असर पारेको देखिन्छ । जीविकोपार्जनको लागि कृषि र वनमा आश्रित रहनुपर्ने तथा नेपालको कमजोर भुबनोटको कारणले नेपालमा निम्न वर्गीय परिवारमा जलवायु परिवर्तनको नकारात्मक असर बढी देखिएको छ ।
जलवायु परिवर्तनको असर र नागरिकहरूको आर्थिक–सामाजिक अवस्थालाईसंगै हेर्दा नेपालमा गरिवहरू भएका क्षेत्रहरू नै जलवायु परिवर्तन र पर्यावरणीय दृष्टिले सबैभन्दा जोखिमपूर्ण अवस्थामा रहेको देखिन्छ । यसो हुनुको मुख्य कारण भूमिको असमान वितरण, कृषिमा निर्भरता , पानीको उपलब्धता जस्ता कारणहरू जिम्मेवार देखिन्छन् ।
नेपालको ५१ प्रतिशत खेतबारी २० प्रतिशत परिवारको स्वामित्वमा भएकोले अधिकांश परिवारहरू हातमुख जोर्न पुग्ने उब्जनी गर्न पुग्ने खेतवारी नभएकाहरू छन् । हातमुख जोर्नको लागि गरिवहरू प्रकोपको दृष्टिले जोखिमपूर्ण भीरपाखा र खोलानदि किनारमा खेतीपाती र बसोबास गर्न बाध्य छन् । प्रकोप सम्भावित स्थानमा गरिवहरूको उपस्थिति बढी भएकोले बाढी, पहिरो, अतिवृष्टि र हिमताल विस्फोटनको पहिलो शिकार गरिवहरू नै भैरहेका छन् ।
नेपालमा ३५ लाख ५७ हजार ७६४ हेक्टर खेतीयोग्य जमिन रहेको भएपनि २०८२ फाल्गुन मसान्तसम्म करिब ४४.६३ प्रतिशत जमिन सिंचाई गर्न सकिने सिंचाई पूर्वाधार निर्माण गरिएको छ ( आर्थिक सर्वेक्षण २०८२/८३ ). । सिंचाई पूर्वाधार नपुगेका खेतबारी मात्र नभई खहरे र साना खोलामा आधारित अधिकांश सिंचाई प्रणालीहरू समेत आकाशे पानीमै निर्भर रहेका छन् ।
जलवायु परिवर्तनको कारणले पानी पर्ने समय र पानीको मात्रामा परिवर्तन आएको कारणले नेपालीहरूको कृषिकर्म नराम्ररी प्रभावित भइरहेको छ । वेमौसमी वर्षा, अतिवृष्टि र खडेरीले गर्दा कृषि उत्पादनमा तीव्र गिरावट आइरहेको छ । तापक्रममा आएको घटबढ, माटोको ओसिलोपनाको क्षय, हुरीबतास र असिनापानीजस्ता घटनाहरूले परम्परागत कृषि प्रणालीलाई नराम्ररी प्रभाव पारेको छ ।
बढ्दो बाढी पहिरो खडेरीले पनि जमिनको क्षेत्रफल तथा माटोको ऊर्वराशक्तिलाई घटाईरहेको छ । त्यसैगरी जलवायु परिवर्तनका कारण नयाँ प्रजातिका झारपात, रोग र किराहरूको सङ्क्रमण पनि बढ्दै गएको छ । यस्ता गतिविधिले थोरै जमिनमा खेतीपाती गर्ने र अर्काको जमिन अधिया, ठेक्कामा लिएर खेतीपाती गरि जीवन निर्वाह गर्ने गरिवहरू नै बढी पिडित भैरहेका छन् ।
बढ्दो तापक्रमले माटोको ओसिलोपना घट्ने र हावामा सुख्खापन बढ्ने क्रम बढ्दै गएकोले पछिल्ला वर्षहरूमा नेपालका सबै वनहरूमा डढेलोका घटनाहरू बढिरहेका छन् । डढेलोले वन र वनस्पतिको विनास गर्दा पशुपालन , जडिबुटी तथा अन्य वन पैदावारहरूको संकलन , उपयोग र विक्री गरेर गुजारा चलाउने गरिवहरू समस्यामा पर्न थालेका छन् । डढेलोको कारण खानेपानी आपूर्ति र पर्यटकको घुमफिरमा समेत असर पुगिरहेको छ ।
जलवायु परिवर्तन गरिवहरूको स्वास्थ्यका निम्ति नयाँ र गम्भीर समस्याको रूपमा देखापरेको छ । जलवायुजन्य प्रकोपहरू तातो हावा (लू) चल्ने, शीतलहर, बाढी, आँधी, आगजनी र खडेरीजस्ता घटना वृद्धि हुने र महामारी छिटो फैलने भएकोले नेपालका गरिव वस्तीहरूमा वर्षेनी ठूला स्वास्थ्य समस्याहरू दोहोरीइरहेका छन् ।
गरिवका घरहरू माटो, काठ, स्याउला, खर जस्ता सामग्रीको प्रयोग गरि बनाइएका हुन्छन् । यसरी निर्माण गरिएका अधिकांश घरले आकस्मिक मौसमी परिवर्तनलाई थेग्न नसक्ने भएकोले शितलहर, लू, अतिवर्षाको कारण बाढीबाट गरिवहरू बढी प्रभावित हुने गरेका छन् ।
पृथ्वीको तापक्रममा वृद्धि र वर्षाचक्रमा आएको परिवर्तनले गरिवले प्रयोग गर्ने पानीका श्रोतहरू सुख्खा हुदै जाने क्रम बढ्दै गएर गरिवहरूले खानेपानीको लागि घन्टौँ समय खर्चिनु परेको र पानीकै कारणले वसाई सर्न वाध्य भएका खवरहरू अचेल धेरै सुनिन थालेका छन् ।
जलवायु परिवर्तनको सबैभन्दा गम्भीर असर हिमालमा देखिन थालेको छ । हाम्रा हिमालहरूले दक्षिण एसियाकै पानीको सुरक्षासुनिश्चित गर्छन् । तर यिनै हिमाल पग्ने क्रममा तीव्रता आउनु र हिमपातमा कमि आउनु जस्ता कारणले हिमाका चुचुराहरू काला देखिन थालेका छन् ।
यसबाट दक्षिण एशियामा जलविद्युत र खानेपानी आपूर्ति प्रभावित हुने निश्चित छ । नेपालको पर्यटन क्षेत्र मुलरूपमा प्राकृतिक श्रोत र भौगोलिक विशेषतामा आधारित छ । लुम्बिनी, चितवन र जनकपुरधामलाई छोड्ने हो भने बाँकी सबै चालु पर्यटकीय स्थलहरू पहाडी र हिमाली क्षेत्रमा नै छन् र आन्तरिक र विदेशी पर्यटकहरूको रोजाईको थलो पनि पनि हो ।
नेपालका सेता हिमाल, हरिया पहाड अनि कलकल बग्ने नदीहरूले पर्यटनको आधार निर्माण गरिरहेका छन् । पछिल्ला वर्षहरूमा नेपालमा बढ्दै गएका जलवायु परिवर्तनजन्य विपदले गर्दा पर्यटनका आधारहरूलाई कमजोर बनाउँदै गएको पाइन्छ । उच्च हिमाली क्षेत्रका वनस्पति र जीवजन्तुहरू लोप हुने अवस्थामा छन्। यार्चागुम्बा जस्ता बहुमूल्य जडीबुटीको उत्पादन घटेको छ। लामखुट्टेजन्य रोगहरू (डेङ्गु, मलेरिया) अहिले पहाडी र हिमाली जिल्लाहरूमा समेत देखिन थालेका छन् ।
तापक्रम वृद्धिको असर मौसमचक्रमा परेको देखिदै गएको छ । अतिवृष्टि, अनावृष्टि र खडेरीका दिनहरू बढिरहेका छन् । यसको कारण बाढी, पहिरो, सुख्खापन र आगलागीका घटनाहरूमा तीव्रता आउनुको साथै नेपालमा वार्षिक वर्षा–चक्रमा हेरफेर, लामो समयसम्म खडेरी पर्ने तथा तीव्र वर्षा हुने गरेको छ ।
तीब्र गतिमा हिमगलन हुँदै जानाले हिमनदीहरू पातलिंदै र छोट्टिंदै गएको एवं हिमतालको आकार बढ्दै गएको छ भने नयाँ हिमतालहरू बन्दै फुट्ने खतरामा छ । पूर्वानुमान गर्न नसकिने गरि दोहोरिने बाढी पहिरो, शितलहर, लू जस्ता विपदबाट वर्षेनी ठुलो मात्रामा धनजनको क्षति भइरहेको छ । जलवायु परिवर्तनका कारणले कृषि तथा जलस्रोत व्यवस्थापनका क्षेत्रमा देशले कूल ग्राहस्थ उत्पादनको २ देखि ३ प्रतिशत सम्म नोक्सान व्यहोर्नु परेको छ । अर्काेतर्फ नेपालले कूल ग्राहस्थ उत्पादनको १.५ देखि २.० प्रतिशतसम्म थप खर्च व्यहोर्नुपर्ने अवस्था रहेको छ ।.
जलवायु परिवर्तनका अहिलेसम्म देखापरेका असराहरूले हाम्रो कठिन भविष्यको सङ्केत गरिसकेको छ । आउँदा दिनहरू कृषि, स्वास्थ्य, पर्यटन र सामान्य जीवनयापनको लागि सहज हुने छैनन् भन्ने कुरा सबै मानिसहरूले बुझ्न ढिला भैसकेको छ ।
हामी नेपालीहरूकै कारण जलवायु परिवर्तन नभएको भएपनि जलवायु परिवर्तनको शिकार हामीहरू हुनु परिरहेको छ । नेपालको प्रयासले मात्र जलवायु परिवर्तन रोक्न नसकिने भएपनि नेपालले जलवायु क्षतिपूर्तिका लागि अन्तर्राष्ट्रिय जगतमा निरन्तर आवाज उठाउने र दवाव दिने काम गर्नुपर्छ. कार्बल व्यापारलाई धनि राष्ट्रको दया नभई वातावरणीय सेवा गरिरहेका देशहरूको अधिकारको रूपमा स्थापित गर्न नेपालले हरित कुटनीति अपनाउनु पर्छ ।
जलवायु परिवर्तन गर्ने खालका कामहरू नगर्ने र प्रकृतिमैत्री जीवनयापन गर्न हामीहरू ढिला गर्नु हुदैन । जलवायु परिवर्तन अनुकुलन र जलवायु उत्थानशील निर्माण, खेतीपाती र अन्य व्यवसाय गर्ने कुरालाई नागरिकले नै प्राथमिकता दिनुपर्छ । राष्ट्रिय अनुकुलन योजना र स्थानीय अनुकुलन योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न तिनै तहका सरकार इमान्दार बन्नुपर्छ । यी कामहरू गर्न सकियो भने प्रकृति जोगिने छ र प्रकृतिले हामीलाई जोगाई रहनेछ ।