Butwal Today

जेनजीले देखाएको मार्गबाट एक इन्च पनि विचलित हुने छैनौँ:  रवि लामिछाने

२३ भाद्र २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई ‘नयाँ जागरणको विस्फोट’ का रूपमा उल्लेख गरेका छन् ।

जेनजी शहीद दिवसको अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले वर्षौँदेखि जरा गाडेर बसेको भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत असक्षमता, नागरिकका मौलिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताले सिर्जना गरेको निराशाविरुद्ध जेनजी पुस्ता सडकमा उत्रिनुपरेको अवस्था स्मरण गरेका छन् ।

‘एक थोपा पनि रगत नबगाई पार्टी स्थापना गरेका हामीलाई परिवर्तनको आवाज बोल्दा युवा पुस्ताको रगत बगेको देख्नु सबैभन्दा पीडादायी क्षण हो । भदौ २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् । परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस् भन्ने कामना गर्दै नागरिक अधिकार, विधिको शासन र भ्रष्टाचारमुक्त समाजको माग गर्दै आवाज उठाउँदा जीवन गुमाउन पुगेका सम्पूर्ण अमर सहिदहरूप्रति म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । साथै, कर्तव्य पालनका क्रममा ज्यान गुमाउने अमर प्रहरीहरूप्रति पनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु,’ उनले वक्तव्यमा भनेका छन् ।

उनले आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् । राजनीतिमा चासो नराख्ने भनिएको पुस्ता सडकमा उत्रिएर परम्परागत राजनीतिक शैलीलाई अस्वीकार गरेको उनको भनाइ छ ।

युवाहरूले सडकबाट उठाएका हरेक प्रश्नको जवाफ दिने ठाउँमा आज रास्वपालाई उभ्याएको पनि लामिछानेले उल्लेख गरेका छन् । साथै, जेनजी आन्दोलनले देखाएको मार्गबाट आफूहरू एक इन्च पनि विचलित नहुने उनले बताएका छन् ।

‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ । र, यो पनि सम्झाएको छ– हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ,’ उनले भनेका छन् ।

उनले युवा, नागरिक समाज तथा आम जनसमुदायलाई रास्वपाको कामप्रति निरन्तर खबरदारी र निर्मम समीक्षा गर्नसमेत आग्रह गरेका छन् ।

‘म सम्पूर्ण युवा, नागरिक समाज र आम जनसमुदायमा विनम्र अपिल गर्दछु– यहाँहरूको रचनात्मक खबरदारी र हाम्रा कार्यसम्पादनको निर्मम समीक्षा निरन्तर चलिरहोस् । तर, आम मनोविज्ञानमा निराशाको भाष्य भने स्थापित हुन नदिऔँ ।

नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ । जागरणको त्यो आँधीले कोरेको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मार्गबाट हामी एक इन्च पनि विचलित हुने छैनौँ भन्ने दृढ सङ्कल्प व्यक्त गर्दछु,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?