© 2026
सल्यान । अविरल वर्षासँगै पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध भएको राप्ती लोकमार्ग अन्तर्गत सल्यान–दाङ सडक खण्ड करिब १३ घण्टापछि सञ्चालनमा आएको छ ।
सडक खण्डका विभिन्न स्थानमा पहिरो तथा ढुङ्गा, माटो खसेर आवागमन प्रभावित बने पनि मुख्य दुई स्थानको पहिरो हटाएपछि मंगलबार बिहानदेखि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
रातभर सडक अवरुद्ध हुँदा सल्यानबाट दाङ लगायतका क्षेत्रतर्फ जाने र दाङबाट सल्यान, रोल्पा, रुकुमतर्फ आउने यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका थिए । लामो समयसम्म सडक नखुल्दा यात्रुले सास्ती खेप्नुपरेको थियो ।
कपुरकोट गाउँपालिका ५ स्थित खारखोलामा सोमबार राति ८:५० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । उक्त पहिरो मंगलबार बिहान १०:१३ बजे हटाइएपछि सडक खुलेको हो ।
यद्यपि खारखोलामा पहिरो हटाएर सडक खुले पनि साना सवारीसाधनका लागि मात्रै आवागमन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए ।
यसैगरी कपुरकोट गाउँपालिका, ३ स्थित चोरखोलामा पनि सोमबार राति ८:५० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । उक्त स्थानको पहिरो मंगलबार बिहान ९: १३ बजे हटाइएपछि सडक सञ्चालनमा आएको हो ।
पहिरोले खारखोलामा मानवीय क्षतिसमेत गराएको छ । सोमबार राति खारखोलामा पहिरोमा परेर एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
यस सडकखण्डमा वर्षायाममा पटकपटक पहिरो खस्दा यातायात अवरुद्ध हुँदै आएको छ । सडक अवरुद्ध हुँदा यात्रु घण्टौँसम्म बीच बाटोमै रोकिनुपर्ने र गन्तव्यमा पुग्न ढिलाइ हुने समस्या दोहोरिँदै आएको छ ।
प्रहरीले वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण रहेकाले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । विशेषगरी पहिरोको जोखिम रहेका क्षेत्रमा अनावश्यक रूपमा यात्रा नगर्न र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न प्रहरीको आग्रह छ ।