© 2026
नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–६ का महिलाहरूले आफ्नै करेसाबारीलाई पोषण, स्वास्थ्य र आम्दानीको आधार बनाएका छन् ।
सुनौलो हजार दिनका आमाहरूले विभिन्न आमा समूह गठन गरी विषादीरहित प्राङ्गारिक तरकारी उत्पादन सुरु गरेपछि उनीहरूको दैनिकी मात्र होइन, सोच र जीवनशैलीसमेत परिवर्तन हुन थालेको छ ।
केही वर्ष अघिसम्म घरायसी प्रयोजनका लागि सीमित मात्रामा तरकारी उत्पादन गर्ने महिलाहरू अहिले भने आफ्नै बारीमा फलाएका तरकारी बजारसम्म पु¥याउन सफल भएका छन् । घरपरिवारलाई ताजा र पोषणयुक्त खाना उपलब्ध गराउनुका साथै अतिरिक्त उत्पादन बिक्री गरेर आम्दानी गर्न थालेपछि उनीहरूमा आत्मविश्वास पनि बढेको छ ।
राप्ती सोनारी–६ कमैयाँडाँडाकी मिना कुमारी थारुको बारी अहिले हराभरा छ । करेला, कटहर, फर्सीको मुन्टा, खुर्सानी, भिन्डी, भन्टा लगायतका तरकारीले भरिएको उनको करेसाबारी अहिले परिवारको पोषणको स्रोत मात्र होइन, आम्दानीको माध्यम पनि बनेको छ ।
“पहिले घरमै खान पुग्ने गरी मात्रै तरकारी लगाउँथ्यौँ, अहिले घरमा खाएर बाँकी रहेको तरकारी पोषण मेलामा बेचिरहेका छौँ,” उनले भनिन् । विजया स्वास्थ्य आमा समूहकी सदस्यसमेत रहेकी मिना कुमारीका अनुसार समूहले पोषण, महिला स्वास्थ्य र सरसफाइसम्बन्धी विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ ।
विशेष गरी पोषण मेलाले महिलाहरूलाई आफ्नै उत्पादन प्रदर्शन तथा बिक्री गर्ने अवसर प्रदान गरेको उनको अनुभव छ । “थोरै भए पनि आफ्नै उत्पादनबाट आम्दानी गर्न पाएका छौँ । यसले आर्थिक सहयोग मात्र होइन, कामप्रति थप उत्साह पनि दिएको छ,” उनले भनिन् ।
राप्ती सोनारी गाउँपालिकाको आयोजना तथा भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) द्वारा सञ्चालित पोषण परियोजनाअन्तर्गत पोषण मेला आयोजना हुँदै आएको छ । मेलामा स्थानीय महिला स्वास्थ्य आमा समूहहरूले उत्पादन गरेका तरकारी, फलफूल, गेडागुडी, पोषणयुक्त खाद्य सामग्री तथा घरायसी बगैँचाका उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि राखिन्छन् ।
विशेष गरी विषादीरहित र स्थानीय रैथाने उत्पादनलाई प्राथमिकता दिइने मेलामा बजार मूल्यभन्दा केही सस्तो दरमा सामग्री बिक्री हुने भएकाले उपभोक्ताको आकर्षण पनि बढ्दो छ । आमा समूहकी अर्की सदस्य ज्योति कुमारी थारुका अनुसार पोषण मेलाले महिलाहरूलाई उत्पादन बढाउन थप प्रेरणा दिएको छ । “अन्य समूहका दिदीबहिनीहरूले उत्पादन गरेका तरकारी र फलफूल देख्दा हामीलाई पनि अझ बढी उत्पादन गर्नुपर्छ भन्ने हौसला मिल्छ,” उनले भनिन् ।
‘स्वस्थ नागरिक, समृद्ध समाज, दिगो कृषि र पोषणयुक्त आहार’ भन्ने नारासहित सञ्चालन हुँदै आएको यो अभियानले स्थानीय उत्पादनको प्रवर्द्धन, पोषण सुधार र अर्ग्यानिक खेती विस्तारमा महत्त्वपूर्ण योगदान पु¥याइरहेको छ ।
अगुवा कृषक विमला गिरीका अनुसार पहिले घरायसी प्रयोजनका लागि मात्र उत्पादन गरिने करेला, बोडी, भिन्डी र टमाटरजस्ता तरकारी अहिले आम्दानीको स्रोत बन्न थालेका छन् । “पहिले घरमा बढी भएको तरकारी छिमेकीलाई बाँड्ने चलन थियो । अहिले प्राङ्गारिक खेतीबाट स्वस्थ खाना खान पाइने र अतिरिक्त उत्पादन बिक्री गरेर आयआर्जन पनि हुने भएको छ,” उनले भनिन् ।
राप्ती सोनारी गाउँपालिका १ र ६ मा स्थानीय सरकारको सहकार्यमा विभिन्न सङ्घसंस्थाले पोषण परियोजना सञ्चालन गरेका छन् । परियोजनाअन्तर्गत सुनौलो हजार दिनका आमाहरूलाई ‘किसान कार्ड’ वितरण गरिएको छ । उक्त कार्डमार्फत बीउ बिजन, कृषि सामग्री तथा आवश्यक कृषि सामग्री खरिदमा आर्थिक सहुलियत उपलब्ध गराइँदै आएको छ ।
आमा समूहकी सदस्य कृष्णी कुमारी थारुका अनुसार परियोजनाबाट प्राप्त सहयोगले कृषिमा पहुँच विस्तार हुनुका साथै कुपोषण न्यूनीकरणमा समेत सकारात्मक प्रभाव पारेको छ । “हामीलाई विभिन्न चरणमा आर्थिक सहयोग उपलब्ध गराइयो ।
त्यही सहयोगबाट बीउ बिजन खरिद गरी खेती विस्तार गर्न सहज भयो,” उनले भनिन् । उनका अनुसार कार्यक्रमको मुख्य उद्देश्य आमाहरूलाई आफ्नै करेसाबारीमा विषादीरहित तरकारी उत्पादन गर्न प्रोत्साहन गर्नु र आमा तथा बालबालिकामा पोषणको कमी हुन नदिनु हो ।
ऋतिका आमा समूहकी सदस्य राधादेवी चौधरीले आर्थिक अभावका कारण बीउ बिजन खरिद गर्न नसक्ने महिलाका लागि यो कार्यक्रम निकै प्रभावकारी बनेको बताइन् । “पहिले रासायनिक मल र केही विषादी प्रयोग गथ्र्यौं । अहिले प्राकृतिक मल, जैविक विधि र रोग–कीरा नियन्त्रणका घरेलु उपाय अपनाउन सिकेका छौँ,” उनले भनिन् ।
राप्ती सोनारी–६ का वडा अध्यक्ष लबराज खरेलका अनुसार समुदायमा कुपोषणविरुद्ध जनचेतना फैलाउन र पोषणयुक्त खानाको महत्त्व बुझाउन पोषण मेलाको आयोजना गरिएको हो । “विशेष गरी गर्भवती महिला, सुत्केरी आमा र बालबालिकामा पोषणको कमी नहोस् भन्ने हाम्रो उद्देश्य हो । पोषणयुक्त भोजनको महत्त्व घर–घरमा पु¥याउन यस्ता कार्यक्रम प्रभावकारी बनेका छन्,” उनले बताए ।
गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुले पालिकाका सबै वडामा कुपोषणको समस्या देखिएकाले आगामी नीति तथा कार्यक्रममार्फत यस्ता कार्यक्रम विस्तार गरिने बताइन् । “बालबालिकाको तौल र पाखुरा नाप्ने क्रममा धेरै वडामा कुपोषणको समस्या देखिएको छ । त्यसैले आगामी बजेटमार्फत सबै वडामा यस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका छौँ,” उनले भनिन् ।
उनका अनुसार प्राङ्गारिक खेतीप्रति किसानको आकर्षण बढाउने, स्थानीय उत्पादनलाई बजारसँग जोड्ने तथा पोषणसम्बन्धी जनचेतना विस्तार गर्ने उद्देश्यले गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
राप्ती सोनारी–६ मा मात्र १२ वटा आमा समूहमा करिब ६ सय महिला आबद्ध छन् । उनीहरू अहिले आफ्नै करेसाबारीमा फलाएको विषादीरहित तरकारीबाट परिवारको स्वास्थ्य सुधार्दै, कुपोषणविरुद्ध लड्दै र आत्मनिर्भरताको नयाँ कथा लेख्दै छन् ।
सानो करेसाबारीबाट सुरु भएको यो अभियान आज महिला सशक्तीकरण, पोषण सुधार र दिगो कृषिको सफल नमुनाका रूपमा स्थापित हुँदै गएको छ ।