© 2026
दोहा, कतार । भोटेकोशीमा आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा पुनः स्थापनाका लागि गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (नआरएनए) (एनसीसी) कतारले सञ्चालन गरेको उद्धार तथा राहत सङ्कलन अभियानमा सहयोग गर्ने क्रम जारी छ ।
एनआरएनए एनसीसी कतारको राहत अभियानमा ऐक्यबद्धता जनाउँदै कतारमा स्थापित विभिन्न सामाजिक सङ्घसंस्था तथा सामाजिक व्यक्तित्वहरूले सात लाख २७ हजार ५४७ रुपैयाँ सहयोग गरेका छन् ।
दलित एकता सञ्जाल कतार, विश्वकर्मा सेवा समाज कतार र परियार मित्रता समाज कतारले संयुक्त रूपमा १ लाख २६ हजार २०२ रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै, नेपाली महिला समाज कतारले ४५ हजार ८९५ रुपैयाँ र कोसी प्रदेश समन्वय परिषद् कतारले १ लाख ११ हजार १११ सहयोग गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासङ्घ कतार तथा महासङ्घमा आबद्ध सम्पूर्ण मातृसंस्थाहरूले संयुक्त रूपमा २ लाख ३१ हजार ३७७ रुपैयाँ सहयोग गरेका छन् । त्यसै गरी, नेपाली फिटनेस टिम कतारले २२ हजार ९२७ रुपैयाँ सच्चाई केन्द्र नेपाल शाखा कतारले ५५ हजार ५०० रुपैयाँ,र न्यु सेखा स्यालुनले ३४ हजार ५३५ रुपैयाँ सहयोग गरेका छन् ।
कतारमा स्थापित विभिन्न सामाजिक सङ्घसंस्था तथा सामाजिक समूहबाट सङ्कलित ७ लाख २७ हजार ५४७ रुपैयाँ रकम भोटेकोशी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा पुनः स्थापनाका लागि एनआरएनए एनसीसी कतारलाई हस्तान्तरण गरिएको हो ।
गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् कतारको समन्वयमा गठित उद्धार तथा राहत मूल समितिको निर्णयअनुसार राहत सङ्कलन अभियान ११ सेप्टेम्बर २०२६ शुक्रबार सम्म मात्र सञ्चालन हुने र त्यसको भोलिपल्ट १२ सेप्टेम्बरदेखि अभियान औपचारिक रुपमा बन्द गरिने एनसीसी कतारले जनाएको छ ।
कतारमा स्थापित विभिन्न सामाजिक सङ्घसंस्था तथा सामाजिक व्यक्तित्वहरूले सङ्कलन गरेको सहयोग रकम एनआरएनए एनसीसी कतारको टिमसँग समन्वय गरी हस्तान्तरण गरिदिनसमेत एनसीसी कतारले अनुरोध गरेको छ ।
एनआरएनए एनसीसी कतारका अध्यक्ष कृष्ण पन्थीले एनसीसी कतारले सञ्चालन गरेको राहत तथा उद्धार अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन कतारमा रहेका नेपाली व्यवसायी, सङ्घसंस्था तथा विभिन्न समुदायलाई सहयोगका लागि जुटन थप अपिलसमेत गरेका छन् ।