© 2026
सल्यान । सल्यानको लुहाम–काभ्रा–कालीमाटी हुँदै दाङ जोड्ने सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।
कालीमाटी गाउँपालिका, १ स्थित दलपुरे नजिकै ठुलो पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो । गए राती त्यहाँ पहिरो झर्न सुरु भएको बताइएको छ ।
सडक माथिबाट निरन्तर ढुङ्गा, माटो तथा पहिरो झरिरहेको हुँदा तत्काल सडक खुलाउन कठिन भएको कालीमाटी गाउँपालिका–१ का वडाध्यक्ष रविलाल बस्नेतले जानकारी दिए । पहिरो झर्ने क्रम नरोकिएकाले यात्रु तथा सवारीसाधनलाई जोखिम मोलेर उक्त सडक खण्डमा यात्रा नगर्न आग्रह गरिएको छ ।
वडाध्यक्ष बस्नेतका अनुसार पहिरो सडकको माथि अप्ठ्यारो भूगोलबाट खसिरहेकोले डोजर लगाएर पहिरो पन्छाउने अवस्था समेत छैन । पहिरोको जोखिमका कारण सोमबार दिनभर उक्त सडक खण्ड बन्द रहने जानकारी दिँदै वडा कार्यालयले पहिरो झर्ने क्रम रोकिएपछि मात्र सडक खुलाउने प्रयास गरिने जनाएको छ ।
पहिरो पन्छाउन डोजर प्रयोग गर्दा समेत माथिबाट खस्ने ढुङ्गा तथा माटोका कारण थप जोखिम हुन सक्ने भएकाले अवस्था सामान्य भएपछि मात्र सडक खुलाउने तयारी गरिएको हो ।