© 2026
पाल्पा । पछिल्ला वर्षहरूमा गिद्ध संरक्षणप्रति जनचेतना बढ्दै जाँदा नेपालमा गिद्धको सङ्ख्या क्रमशः सुधार हुँदै गएको सरोकारवालाहरूले बताएका छन् ।
मानव गतिविधि, विषादीयुक्त औषधीको प्रयोग तथा वासस्थानको विनाशका कारण एक समय सङ्कटमा परेको गिद्ध संरक्षणमा समुदाय स्तरबाट भएका प्रयासले सकारात्मक परिणाम दिन थालेको उनीहरूको भनाइ छ ।
डिभिजन वन कार्यालय पाल्पाले आयोजना गरेको गिद्ध संरक्षणसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले गिद्ध प्रकृतिको महत्त्वपूर्ण सफाइकर्मी पक्षी भएकाले यसको संरक्षणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
कार्यक्रममा पक्षीविद् भरत पन्थीले गिद्धलाई प्रकृतिको ‘कुचीकार’को संज्ञा दिँदै यसको अस्तित्व पर्यावरणीय सन्तुलनसँग प्रत्यक्ष रूपमा जोडिएको बताए । “गिद्धले वातावरणलाई स्वच्छ राख्न महत्त्वपूर्ण भूमिका खेल्छ । यदि गिद्ध लोप हुने अवस्था आयो भने त्यसले सम्पूर्ण पारिस्थितिक प्रणालीमा नकारात्मक असर पार्न सक्छ,” उनले भने ।
पन्थीका अनुसार नेपालमा हाल नौ प्रजातिका गिद्ध पाइन्छन् । रैथाने, सुन, राज, खैरो, डंगुर, लामोठुँडे र हिमालयनलगायतका प्रजाति नेपालमा अभिलेख गरिएका छन् । गिद्ध वैज्ञानिक दृष्टिले मात्र नभई धार्मिक र सांस्कृतिक हिसाबले समेत महत्त्वपूर्ण पक्षी रहेको उनले बताए ।
उनका अनुसार पशुमा पीडा कम गर्न प्रयोग हुने ‘डाइक्लोफेनाक’ नामक औषधि गिद्धका लागि घातक साबित भएपछि यसको प्रयोग तथा बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो । साथै आहारको अभाव, वासस्थानको क्षयीकरण तथा विद्युत् प्रसारण लाइनका कारण पनि गिद्धको सङ्ख्या घटेको थियो ।
गिद्धले वर्षमा सामान्यतया एउटा मात्र फुल पार्ने भएकाले यसको प्रजनन दर निकै कम हुने पन्थीले बताए । संरक्षण अभियानअन्तर्गत विभिन्न स्थानमा गिद्ध आहार केन्द्र तथा ‘जटायु रेस्टुरेन्ट’ स्थापना गरिएकाले संरक्षणमा थप सहयोग पुगेको उनको भनाइ छ ।
कार्यक्रममा डिभिजन वन कार्यालय पाल्पाकी वरिष्ठ वन विकास अधिकृत मुना शर्माले वन्यजन्तुबाट हुने क्षति तथा राहतसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिए । उनले जङ्गली जनावरका कारण खेती बाली, फलफूल तथा पशु चौपायामा क्षति पुगेमा सरकारले उपलब्ध गराउने राहत र क्षतिपूर्ति प्राप्त गर्ने प्रक्रिया स्पष्ट पारेका थिए ।
कार्यक्रममा तानसेन, रिब्दीकोट, बगनासकाली, रामपुरलगायत क्षेत्रका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सहभागीहरूले गिद्ध संरक्षणलाई जैविक विविधता संरक्षणसँग जोडेर हेर्नुपर्ने र भविष्यमा चरा पर्यटनको विकासमार्फत स्थानीय आर्थिक गतिविधि प्रवद्र्धन गर्न सकिने धारणा व्यक्त गरेका थिए ।