Butwal Today

गोलपार्क–चिडियाखोला सडक: ठेकेदार फेरिए, सडकको नियति फेरिएन

८ श्रावण २०८३, शुक्रबार
अ+
अ-

बुटवल । बुटवलको मुख्य व्यापारिक क्षेत्र जोड्ने गोलपार्क–चिडियाखोला सडक विस्तार आयोजना सुरु भएको करिब १० वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।

पहिलो निर्माण कम्पनीबाट ठेक्का रद्द गरी नयाँ कम्पनीलाई जिम्मेवारी दिइए पनि काम समयमै नसकिएपछि तेस्रो पटक म्याद थप गरिएको छ ।

सडक डिभिजन कार्यालय बुटवलका अनुसार अहिले निर्माणको जिम्मा पाएको बाबुल दर्शन मालिका जेभी, भैरहवालाई २०८३ असोज २० गतेसम्मका लागि पुनः म्याद थप गरिएको छ । यसअघि निर्माण कम्पनीले असार मसान्तभित्र सबै काम सक्नुपर्ने सम्झौता भए पनि तोकिएको समयभित्र काम पूरा गर्न नसकेपछि पुनः समय थपिएको हो ।

यो सडक विस्तारको पहिलो ठेक्का २०७३ चैत १७ गते कञ्चनजङ्घा–बिरुवा जेभीसँग ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपियाँमा भएको थियो । २०७६ सालभित्र सडक विस्तार सम्पन्न गर्ने लक्ष्य राखिए पनि पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन सकेन। अन्ततः सडक डिभिजन कार्यालयले २०८१ वैशाखमा उक्त ठेक्का रद्द गरेको थियो ।

त्यसपछि २०८१ असोज १८ गते बाबुल दर्शन मालिका जेभीसँग करिब ३३ करोड रुपियाँमा नयाँ ठेक्का सम्झौता गर्दै एक वर्षभित्र बाँकी काम सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको थियो । तर नयाँ निर्माण कम्पनीले पनि निर्धारित अवधिमा काम पूरा गर्न नसकेपछि लगातार म्याद थप्दै लैजानुपरेको छ ।

सडक डिभिजन कार्यालय बुटवलकी सूचना अधिकारी प्रज्ञा शर्माका अनुसार निर्माण कम्पनीलाई पहिलो पटक २०८२ चैत १२ गतेसम्म, त्यसपछि दोस्रो पटक असार मसान्तसम्म र अहिले तेस्रो पटक २०८३ असोज २० गतेसम्मका लागि म्याद थप गरिएको हो ।

उनका अनुसार सडक निर्माणका केही काम अन्तिम चरणमा पुगे पनि बाँकी काम पूरा गर्न अझै समय आवश्यक परेकाले म्याद थपिएको हो ।
हाल राजमार्ग चौराहादेखि मिलनचोकसम्म एकतर्फी सर्भिस लेनमा कालोपत्रे गर्ने काम भइरहेको छ ।

निर्माण कम्पनीले दुई दशमलव दुई किलोमिटर सर्भिस लेनमध्ये अधिकांश भागमा कालोपत्रे सम्पन्न गरिसकेको छ । मुख्य क्यारिज वेको करिब छ किलोमिटरमध्ये तीन दशमलव नौ किलोमिटरमा कालोपत्रे सम्पन्न भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

त्यसै गरी दुई दशमलव सात किलोमिटर फुटपाथ निर्माणको काम सम्पन्न भइसकेको छ भने दुबैतर्फ गरी करिब एक दशमलव चार किलोमिटर रेलिङ जडान गरिएको छ । बाँकी क्षेत्रमा कालोपत्रे, फुटपाथ, नाली तथा अन्य संरचनाको काम जारी रहेको कार्यालयले जनाएको छ ।

निर्माण कम्पनीले यस पटक भने थपिएको समयभित्र सबै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । आवश्यक निर्माण सामग्री र जनशक्ति बढाएर कामको गति तीव्र बनाइएको कम्पनीको दाबी छ । यता लामो समयदेखि सडक निर्माण अधुरै रहँदा स्थानीयवासी र व्यवसायी भने सबैभन्दा बढी प्रभावित भएका छन् । धुलो, हिलो र सवारी जामका कारण दैनिक आवागमन कष्टकर बन्दै गएको उनीहरूको गुनासो छ ।

बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले बुटवलको मुख्य व्यापारिक मार्ग वर्षौँदेखि निर्माणाधीन रहँदा स्थानीय व्यवसायमा प्रत्यक्ष असर परेको बताए । उनले सडक निर्माणमा भएको ढिलाइका कारण धुलो–धुवाँ, अस्तव्यस्त यातायात र ग्राहकको आवागमन घट्दा व्यवसायीले ठूलो क्षति बेहोर्नुपरेको उल्लेख गरे ।

बुटवलको सबैभन्दा व्यस्त सडकमध्ये एक मानिने गोलपार्क–चिडियाखोला सडकको निर्माण पटक–पटक म्याद थपिए पनि अझै पूरा हुन नसक्दा स्थानीयवासीले भने यस पटक थपिएको समय सीमाभित्र काम सम्पन्न हुनेमा आशङ्का व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?