© 2026
गण्डकी । कास्की प्रहरीले सञ्चालन गरिरहेको ‘अपरेसन ३६५’ अन्तर्गत स्वरूप परिवर्तन गरिएका तथा ध्वनि प्रदूषण गर्ने १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
गए राति पोखरा महानगरपालिकाका विभिन्न स्थानमा गरिएको विशेष जाँचका क्रममा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ११ वटा र वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले सात वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार गत वर्षदेखि सञ्चालनमा रहेको ‘अपरेसन ३६५’ अन्तर्गत हालसम्म ७४० वटा सवारीसाधन र ३६ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त पहलमा सञ्चालन भइरहेको उक्त अभियानअन्तर्गत समाजमा त्रास सिर्जना गर्ने तथा जाँचका क्रममा प्रहरीसँग वादविवाद गर्ने सवारी चालकलाई पनि नियन्त्रणमा लिएर कारबाही गर्ने गरिएको छ ।
मोटरसाइकलका पार्टपुर्जा परिवर्तन गरी स्वरूप फेरबदल गर्ने, साइलेन्सरबाट अत्यधिक तथा पड्किने आवाज निकाल्ने, रातिको समयमा ध्वनि प्रदूषण गर्ने तथा समाजको शान्ति सुव्यवस्थामा असर पुग्ने गतिविधि बढेपछि प्रहरीले ‘अपरेसन ३६५’ सञ्चालन गरेको जनाएको छ ।
प्रहरीले मोटरसाइकलमा होहल्ला गर्दै हिँड्ने, ध्वनि प्रदूषण गर्ने वा स्वरूप परिवर्तन गरिएका मोटरसाइकल देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणसँग अनुरोध गरेको छ ।
प्रचलित कानुनअनुसार अनुमति नलिई सवारीसाधनको साइलेन्सर, सिट, रङ, स्वरूप, नम्बर प्लेट, लुकिङ ग्लास, सक, ह्यान्डल, इन्जिन वा चेसिसमा परिवर्तन गर्ने अथवा ध्वनि प्रदूषण हुने खालका पार्टपुर्जा जडान गरेमा सवारी तथा यातायात व्यवस्था ऐन बमोजिम १५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।