Butwal Today

स्वास्थ्य चौकीमा कर्मचारी र औषधी अभाव, सडकको गुणस्तरमा प्रश्न

७ श्रावण २०८३, बिहीबार
अ+
अ-

नवलपरासी  । स्थानीय नागरिकबाट प्राप्त गुनासोका आधारमा भ्रष्टाचारविरुद्ध नागरिक निगरानी संस्था (सिटिजन जुरी) नवलपरासीले रामग्राम नगरपालिकाका स्वास्थ्य संस्था र सडक निर्माण स्थलमा अनुगमन गरेको छ ।

अनुगमनका क्रममा स्वास्थ्य चौकीमा कर्मचारीको अनुपस्थिति, आवश्यक औषधिको अभाव तथा सडक निर्माणको गुणस्तरमा कमजोरी देखिएको संस्थाले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समन्वयमा सञ्चालित सिटिजन जुरीले रामग्राम नगरपालिका–१० स्थित मन्झरिया स्वास्थ्य चौकी र वडा नं. ३ को घोडपालीमा निर्माण गरिएको पीसीसी सडकको स्थलगत निरीक्षण गरेको हो । संस्थाले जनगुनासोका आधारमा स्थलगत अनुगमन गरी सम्बन्धित कार्यालय र अख्तियारमा प्रतिवेदन बुझाउने व्यवस्था प्रभावकारी बन्दै जाँदा नागरिकका गुनासोसमेत बढ्दै गएको जनाएको छ ।

संस्थाका अध्यक्ष रामजी ज्ञवालीको नेतृत्वमा गरिएको अनुगमनमा नागरिक समाजका पूर्व अध्यक्ष शम्भु उपाध्याय, पत्रकार तथा संस्थाका प्रतिनिधिको सहभागिता थियो । टोलीले स्वास्थ्य चौकीको सेवा प्रवाह, कर्मचारीको उपस्थिति, औषधी व्यवस्थापन, सरसफाइ तथा सेवाग्राहीलाई उपलब्ध गराइने सुविधाको निरीक्षण गरेको थियो ।

अनुगमनपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष ज्ञवालीले वर्षायाममा झाडापखाला, डेङ्गु, हैजा, टाइफाइडलगायत सङ्क्रामक रोगको जोखिम बढ्ने भएकाले स्वास्थ्य संस्था थप जिम्मेवार र तयारी अवस्थामा रहनुपर्ने बताए । उनले जनगुनासोकै आधारमा अनुगमन गरिएको स्पष्ट पारे ।

अनुगमनका क्रममा स्वास्थ्य चौकीमा स्वीकृत दरबन्दीअनुसार छ जना कर्मचारी हुनुपर्नेमा दुई जना मात्र उपस्थित रहेको पाइएको उनले जानकारी दिए । पर्याप्त जनशक्ति नहुँदा सेवाग्राहीले समयमै उपचार सेवा पाउन कठिनाइ हुने भन्दै नियमित कर्मचारी उपस्थितिको व्यवस्था मिलाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

त्यसै गरी, आधारभूत स्वास्थ्य संस्थाबाट निःशुल्क उपलब्ध गराइनुपर्ने ८८ प्रकारका औषधीको सूची टाँसिएको भए पनि सोअनुसार औषधी उपलब्ध नभएको पाइएको छ । आवश्यक औषधीको अभाव हुँदा बिरामी निजी औषधि पसलबाट औषधी खरिद गर्न बाध्य हुने अवस्था सिर्जना भएको भन्दै संस्थाले औषधीको नियमित आपूर्तिको व्यवस्था गर्न आग्रह गरेको छ ।

यसैबिच, रामग्राम–३ घोडपालीमा करिब पाँच लाख रुपैयाँ लागतमा निर्माण गरिएको पीसीसी सडकको गुणस्तरबारे स्थानीयले गरेको गुनासोपछि गरिएको अनुगमनमा निर्माण कार्य सम्झौताअनुसार नभएको प्रारम्भिक रूपमा देखिएको संस्थाले जनाएको छ ।

अनुगमनका क्रममा सडकको सतहमा सिमेन्टको मात्रा न्यून देखिएको, केही स्थानमा कङ्क्रिट राम्रोसँग नजमेको तथा निर्माण गुणस्तर सन्तोषजनक नरहेको संस्थाको निष्कर्ष छ । स्थानीयवासीले निर्माण सम्पन्न भएको छोटो समयमै सडकमा क्षति देखिन थालेको भन्दै प्रयोग भएका निर्माण सामग्री, सिमेन्ट–बालुवा–गिट्टीको अनुपात तथा सडकको मोटाइ प्राविधिक रूपमा परीक्षण गर्न माग गरेका छन् ।

अध्यक्ष ज्ञवालीले सार्वजनिक बजेटबाट निर्माण हुने पूर्वाधारमा गुणस्तर कायम गर्नु निर्माण व्यवसायी र सम्बन्धित निकायको दायित्व भएको बताउँदै प्राविधिक परीक्षण गरी आवश्यक कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको जानकारी दिए ।

उक्त सडक अमृत कन्स्ट्रक्सनले कोटेसन प्रक्रियामार्फत निर्माण गरेको बताइएको छ । यता रामग्राम नगरपालिकाका इन्जिनियर महेश्वर ठाकुरले भने सडक निर्माण लागत अनुमान (स्टिमेट) अनुसार नै सम्पन्न भएको दाबी गरेको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?