Butwal Today

गुल्मीका आधारभूत अस्पताल: तामझामको शिलान्यास, निर्माण अधुरै

१२ जेष्ठ २०८३, मंगलवार
अ+
अ-

गुल्मी (तम्घास)  । शिलान्यास भएको पाँच वर्ष भन्दा बढी हुँदा पनि गुल्मीका अस्पताल बिरामी भएर थलिएका छन् ।

२०७७ साल मङ्सिर १५ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका तीन सय ९६ स्थानीय तहहरूमा एकै दिन अस्पतालहरूको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था दयनीय छन् ।

अस्पतालको शिलान्यास गर्नका लागि केन्द्रीय मन्त्री, पूर्व मन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यहरूले गाउँ–गाउँमा पुगेर एकै दिन दुई तीन वटा अस्पतालको शिलान्यास गर्नसमेत हतार हतार गरेका थिए । शिलान्यास भएको झन्डै पाँच वर्ष पुग्न लाग्दा पनि थुप्रै स्थानीय तहका अस्पताल निर्माणको कामले गति लिन नसकी यसै थलिएर बसेका छन् ।

छत्रकोट अझै अन्योलमा 
छत्रकोट गाउँपालिकाको १५ शैयाको अस्पताल तत्कालीन लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलान्यास गरे । वडा नं. ४ श्रृङ्गामा अस्पतालको शिलान्यास गरेको झन्डै पाँच वर्ष पुग्न लाग्दासमेत अस्पताल बन्ने हो कि होइन भन्नेमै अन्योल रहेको छ ।

शिलान्यास गरिएको जग्गा भवन मापदण्ड अनुसार नभएकाले शिलान्यास गरिएको जग्गाको करिब तीन सय मिटर पर लामो कसरत पश्चात् जग्गाको व्यवस्थापन गर्ने कार्य सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेका अनुसार जग्गा प्राप्तिको कार्य सम्पन्न भई डिपीआरलगायतका कार्य सम्पन्न भए पनि पछिल्लो अवस्थामा स्रोतको सुनिश्चिततामा अन्योल नै कायम रहेकाले बोलपत्र आह्वान गर्नमा पनि अन्योल नै रहेको छ ।

मालिकाको बल्ल सुरु
मालिका गाउँपालिका वडा नं. ४ अर्खबाङ्गमा पूर्व मन्त्री तथा तत्कालीन सङ्घीय सांसद गोकर्णराज विष्टले तामझामका साथ अस्पतालको शिलान्यास गरे । उक्त शिलान्यास गरिएको अस्पताल लामो समयसम्म शिलान्यासमै मात्र सीमित रहन पुग्यो ।

शिलान्यास गरिएको जग्गामा मापदण्ड नपुगेकाले नजिकै जग्गाको व्यवस्थापन गरी अस्पताल निर्माणको कार्य अगाडि बढेको छ । गाउँपालिकाका इन्जिनियर विष्णु अर्यालका अनुसार हालसम्म ३० प्रतिशत भौतिक र २२ प्रतिशत वित्तीय प्रगति भएको छ ।

धुर्कोटमा ३० प्रतिशत काम
धुर्कोट गाउँपालिकाको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको बेस (घडेरी मा) पहिरो आएका कारण निर्माणको कार्य अगाडि बढ्न सकेको थिएन ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम खनालका अनुसार लामो समयको कसरत पश्चात् मन्त्रालयबाट डिपिआर र नक्सा केही परिवर्तन गरी गत वर्षबाट अस्पतालको निर्माण कार्य सुरु गरिएको छ ।

अहिले अस्पताल निर्माणको भौतिक र आर्थिक प्रगति करिब ३० प्रतिशत भएको उनको भनाइ छ । पूर्व मन्त्री समेत रहेका गोकर्णराज विष्टले शिलान्यास गरेको अस्पताल निर्माणको जिम्मा रविना–अर्जुन–न्यू लिजा जेभीले १३ करोड बढीको लागतमा पाएको छ ।

इश्मामा ४५ प्रतिशत काम
गाउँपालिकाका इन्जिनियर हरिप्रसाद पाण्डेका अनुसार इस्मा गाउँपालिका–४ दोहली स्थित गुरुङ्गाडेमा १५ शैयाको अस्पताल निर्माणको कार्य ४५ प्रतिशत भौतिक प्रगति भएको छ । १० करोड ८५ लाख ३६ हजारको लागतमा सुनिल समिर निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ ।

रुरुक्षेत्रमा ८५ प्रतिशत काम
गाउँपालिकाका इन्जिनियर सुशिल पन्थीका अनुसार रुरुक्षेत्र गाउँपालिकाको वडा नं. १ को रातामाटामा निर्माणाधीन अस्पतालको करिब ९० प्रतिशत भौतिक प्रगति भएको छ । अस्पतालको लुम्बिनी प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिलान्यास गरेका थिए । प्रकृति–पिटिआर–अधिकारी–राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाख ८२ हजार ६ ५९ रुपियाँको लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।

कालीगण्डकीमा ५५ प्रतिशत भैतिक प्रगति
तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाजागाजा र तामझामका साथ शिलान्यास गरेको अस्पतालको ५५ प्रतिशत भौतिक र आर्थिक प्रगति भएको छ । गाउँपालिकाको वडा नम्वर ३ कनौटामा करिब साढे १२ करोडको लागतका खिम्ती–श्रेष्ठ–अन्जना जेभिले अस्पताल निर्माणको कार्य गरेको छ । उक्त अस्पतालको शिलान्यास गरे लगत्तै मन्त्री ज्ञवाली प्रभुको हेली मार्फत पोखरा हुँदै मन्त्रीपरिषदको बैठकमा सामेल हुन हतारमा काठमाडौँ फर्किएका थिए ।

सत्यवती गाउँपालिकामा १५ शैयाको अस्पताल वडा नं. ६ जोहाङमा निर्माणाधीन अवस्थामा छ । गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डेका अनुसार ८५ प्रतिशत भौतिक प्रगति र ६० प्रतिशत भन्दा बढी आर्थिक प्रगति भएको छ । १२ करोड बढीको लागतमा आशिष योगेश्वर जेभी काठमाण्डौँ निर्माण सेवाले निर्माण कार्यको जिम्मा पाएको छ ।

मदाने गाउँपालिकामा वडा नं. ६ पुर्कोटदहमा अस्पताल निर्माणको भौतिक प्रगति ७२ र वित्तीय प्रगति ६८ प्रतिशत रहेको छ । हिमदुम–एसी निर्माण कम्पनी बाग्लुङले १२ करोड ४८ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको छ ।

मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुष्कर गौतमका अनुसार मुसिकोट नगरपालिका वडा नं. ७ मा १५ शैयाको अस्पतालको निर्माण कार्य ९० प्रतिशत भौतिक प्रगति र ८४ प्रतिशत वित्तीय प्रगति भएको छ । उक्त अस्पतालको निर्माणको जिम्मा खिम्ती–श्रेष्ठ–कालीगण्डकी जेभीले पाएको छ । ११ करोड १० लाख २६ हजार १०८ रुपियाँ लागतमा अस्पताल निर्माण हुनेछ ।

दुई अस्पताल सम्पन्न भई सञ्चालनमा 
गुल्मी दरबार गाउँपालिकाको वडा नं ३ को झाँक्री डाँडामा १५ शैयाको अस्पताल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा ल्याएको छ । उक्त अस्पताल बिकोइ–अर्जुन–न्यू लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको थियो ।

चन्द्रकोट गाउँपालिका वडा नम्वर ४ शान्तिपुरमा पनि अस्पताल निर्माण कार्य सम्पन्न भई सञ्चालनमा आएको छ । कुल १३ करोड ६६ लाख ४४ हजार सात सय ३६ रुपियाँमा तुल्सीभक्त–अर्जुन बिल्डर्स जेभीले निर्माण सम्पन्न गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?