© 2026
भनिन्छ मान्छेलाई कुनै कुराको लत बसेपछि छुटाउन निकै अप्ठेरो पर्छ रे, त्यस्तै पत्रकारिता क्षेत्रमा काम गर्ने उत्सुकताले २०५६ सालमा दाङ जिल्लाको श्री सिद्ध रत्न नाथ नमुना माविबाट एस.एल.सी. पास गरी उच्च शिक्षाका लागि काठमाडौँ हानिएका थिए पत्रकार नुमाकान्त पौडेल, जो निरन्तर २५ वर्षदेखि आम सञ्चार क्षेत्रमा क्रियाशील छन् ।
वि.सं. २०३९ साल माघमा अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकाको एक सामान्य किसान परिवारमा जन्मिएका नुमा कान्त पौडेल, उनी एक महिनाको छँदा उनका बाबु–आमा बसाइँ सरी दाङ जिल्लाको तुलसीपुर नजिकै गणेशपुरमा आएका थिए ।
गाउँको दुर्गम बसाइँलाई अलि सहज बनाउन उनका बाबु–आमा सुगम जिल्ला दाङ तुलसीपुरको गणेशपुरमा केही वर्षको बसाइँपछि त्यहाँबाट पनि बसाइँ सरी दाङकै साबिक ढिकपुर गाउँ विकास समितिको वडा नं. २ मा पर्ने कटुकी गाउँमा बसाइँ सरेपछि उनको बाल्यकालको शिक्षा पनि कक्षा १ देखि ३ सम्म नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्रामा भएको थियो ।
कक्षा ३ पछि कक्षा ४ मा भर्ना हुन घरबाट अलि टाढा जानुपर्ने हुनाले उनलाई निकै अप्ठ्यारो परेको थियो । त्यही बेलामा आफ्नो घरबाट करिब ३०–४० मिनेट हिडेर पुगिने ठाउँ घोराहीको शुक्रबार भन्ने ठाउँमा नयाँ स्कुल, माता पवित्रादेवी साङवेद संस्कृत माध्यमिक विद्यालय खोलिएको थाहा पाएपछि उनका बाबु–आमाले उनलाई त्यही स्कुलमा भर्ना गरिदिएका थिए ।
स्कुल आउजाउ गर्ने बेला स्कुल नजिक खोला तरेर स्कुलमा आउनुपर्ने बाध्यता थियो । वर्षा याममा खोलामा आउने बाढीले कतिपय समयमा स्कुल जान पनि नपाउने अवस्था थियो ।
कहिले स्कुलबाट फर्कदा खोला पार गर्दा उनका स्कुल डे«स र कितावकापी पनि पानीले भिज्ने गर्दथे । कक्षा ४ देखि ७ सम्म त्यही विद्यालयमा अध्ययन पश्चात उनी फेरि विद्यालय परिवर्तन गरी धेरैजसो गाउँका साथीहरू पढ्न जाने दाङकै नारायणपुरमा अवस्थित श्री सिद्ध रत्न नाथ नमुना मा.वि. मा कक्षा ८ मा भर्ना हुन पुगे ।
आफूहरू साक्षर नभए पनि आफ्नो छोराले राम्रो शिक्षा पाओस् भन्ने बाबु–आमाको चाहना थियो । त्यसैले घरबाट अलि टाढा करिब एक घण्टाको दूरीमा रहेको श्री सिद्धरत्न नाथ नमुना उच्च माध्यमिक विद्यालयमा उनलाई भर्ना गरिदिएका थिए ।
पत्रकार पौडेल पनि विद्यालयको पढाइमा सधैँ ध्यान दिएर पढ्थे । घरमा बाबु–आमालाई खेतीपातीको काममा सहयोग गर्दै पढाइमा कक्षामा राम्रो विद्यार्थीमा गनिन्थे । उनीसँगै प्रवेशिका परीक्षा दिने करिब १५० विद्यार्थी मध्ये चौथो स्थान हासिल गरेका थिए । त्यसैले उनलाई उनका शिक्षक–शिक्षिकाहरूले जहिले पनि पढाइलाई अगाडि बढाउन प्रेरणा दिन्थे ।
स्कुलमा छँदा पुस्तकालयमा आउने विभिन्न किसिमका पत्र–पत्रिका देखेर उनले यो कसरी बनाउँछन् होला भन्ने जिज्ञासा राख्दथे । स्कुलमा पढाइ नहुने समयमा स्कुलकै पुस्तकालयमा गएर पत्र–पत्रिका अध्ययन गर्दथे । त्यति बेला पत्रपत्रिका धेरैजसो देशको राजधानी काठमाडौँबाट आउँथे । त्यसैले उनले पनि आफ्नो उच्च शिक्षा काठमाडौँ गएर लिने विचार गरेका थिए ।
उच्च शिक्षाको लागि काठमाडौँ गएपछि उनले कामसँगै पढाइलाई पनि निरन्तरता दिनुपर्ने भयो । भृकुटीमण्डपमा रहेको श्री रत्न राज्यलक्ष्मी क्याम्पसमा प्रवीणता प्रमाणपत्र तहमा भर्ना भएपछि अध्ययन गर्दै गर्दा देशकै नाम चलेको निजी लगानीमा सञ्चालित ठुलो सञ्चार गृह कान्तिपुर पब्लिकेशन्समा २०५८ वैशाखमा कान्तिपुर दैनिकले आफ्नो न्युज रुममा पत्रिकाको ले–आउटको लागि आवश्यक जनशक्ति माग गरिएको विज्ञापन थाहा पाएर त्यसमा आवेदन दिई विभिन्न तीन चरणका परीक्षा पास गरी उनै पत्रकार पौडेल पहिलो पटक मिडिया क्षेत्रमा काम गर्ने अवसर पाएका थिए ।
विं.सं.२०५८ साल जेठ १९ गतेको राजदरबारमा भएको तत्कालीन श्री ५ महाराज धिराज विरेन्द्र वीरविक्रम शाहको वंश नै नास हुने गरी भएको दरबार हत्याकाण्ड र त्यसपछि तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि सञ्चार क्षेत्रमा लगाइएको सेल्फ सेन्सरसिप, वि.संं. २०६१ भदौमा वैदेशिक रोजगारीमा इराक पुगेका १२ जना नेपाली युवाहरूको त्यहाँका अतिवादी समूहले गरेको बीभत्स हत्याको घटनाले नेपालमा व्यापक विरोध र तोडफोडको बेलामा होस् वा २०६२–६३ को जनआन्दोलन र आन्दोलनलाई दबाउन तत्कालीन सरकारले लगाएको कर्फ्युको पनि परवाह नगरी कार्यालयको काममा हिँड्दै जोखिम मोलेर जाँदा काठमाडौँको राम शाह पथ, माइतीघर, बानेश्वर क्षेत्रमा परिचालन भएका सुरक्षाका लागि खटिएका सुरक्षा कर्मीले कर्फ्युको समयमा काममा जान लागेको भन्दा बन्दुकको नाल आफूतर्फ तेर्स्याउँदा शरीर नै सिरिङ्ग भएको त्यो ज्यान नै धरापमा राखेर कार्यालय गएको क्षण सम्झन्छन् ।
एक ठाउँबाट अर्को ठाउँका सुरक्षाकर्मीलाई जानकारी गराउँदै कार्यालय पुगेर आफ्नै दैनिक पत्रकारिताको काममा व्यस्त हुँदाको क्षणको निकै सम्झना रहेको बताउँछन् पत्रकार पौडेल ।
त्यसै गरी २०७२ सालको विनाशकारी भु–कम्पनबाट देशमा निकै ठुलो जनधनको क्षति भएको र आफूले काम गर्ने संस्थाको पनि कार्यालय भवन नै भूकम्पबाट क्षति भएपछि कान्तिपुरको प्रेस रहेको पेप्सीकोला भन्ने ठाउँबाट निकै अप्ठ्यारो परिस्थितिमा पनि पत्रकारिता क्षेत्रमै काम गरेका पौडेल कोभिड–१९ का ताका पनि आफ्नो ज्यानको ख्याल नगरी पत्रकारिताको माध्यमबाट जनतालाई सुसूचित बनाउने काम गरे ।
त्यसले उनलाई पत्रकारिता क्षेत्रमा लागिरहने र त्यस मानै रमाउने बानी परिसकेका उनले पत्रकारिताको कार्यलाई नै निरन्तरता दिई नै रहे ।
कामसँगै पढाइलाई पनि निरन्तरता दिंदै पत्रकारिताको काम गर्दै आएका पत्रकार पौडेलले आफ्नो अध्ययनलाई पनि अगाडि बढाउँदै जाँदा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र र पूर्वाञ्चल विश्वविद्यालयबाट मार्टस इन मिडिया टेक्नोलोजी (पत्रकारिता) गरी दुईवटा विषयमा स्नातकोत्तर पनि गरेका छन् ।
२०५८ वैशाखबाट २०८२ मङ्सिरसम्म आउँदा कान्तिपुर पब्लिकेशन्स्को ‘द काठमान्डु पोष्ट’ को न्युज रुममा वरिष्ठ उपसम्पादकको पदमा रहेर दुई दशकभन्दा बढी समयसम्म देश, जनता र समाजलाई सकारात्मक परिवर्तनका लागि अगाडि बढाउन पत्रकारिताको माध्यमबाट योगदान दिने काम गरेका छन् ।
अध्ययन भ्रमणको क्रममा हङकङ विश्वविद्यालयको अध्ययन अवलोकनका साथै संयुक्तराज्य अमेरिकाको भ्रमण पनि गरिसकेका उनी हालै पत्रकारिता क्षेत्रको अनुसन्धानमूलक पुस्तक ‘अनलाइन मिडियाले प्रिन्ट मिडियामा पारेको प्रभाव’ लाई प्रकाशनमा ल्याउन पनि सफल भएका छन् । जसमा नेपाली छापा पत्रकारितामा न्यु मिडियाको कस्तो प्रभाव रहेको छ भन्ने उजागर पत्रकार पौडेलले पुस्तकका माध्यमबाट गरेका छन् ।
आफूले पत्रकारिताको शुरुवात गरेको संस्था कान्तिपुर पब्लिकेशन्स्बाट २४ वर्ष भन्दा बढी समय काम गरी हालै मात्रै अवकास लिई उनी आफ्नो स्थायी घर दाङकै घोराहीमा बस्दै आएका छन् । हाल उनी घोराहीमै प्रधान कार्यालय रहेको गोरक्ष राष्ट्रिय दैनिकमा आवद्ध छन् ।