© 2026
बुटवल । नेपालको बदलिँदो शैक्षिक परिदृश्यमा व्यावहारिक र व्यावसायिक शिक्षाको आवश्यकतालाई आत्मसात् गर्दै रुपन्देहीको तिलोत्तमा–३, जानकीनगरमा स्थापित लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले छोटो समयमै आफूलाई एक उत्कृष्ट प्राज्ञिक केन्द्रको रूपमा स्थापित गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो एकेडेमी एक गैर–नाफामूलक संस्थाको रूपमा शैक्षिक गुणस्तरमा समर्पित छ ।
ऐतिहासिक सुरुवात र वर्तमान अवस्था
वि.सं. २०८० सालदेखि स्नातक तहका कार्यक्रम सञ्चालन गर्दै आएको यस एकेडेमीले प्राज्ञिक गुणस्तर, व्यवहारिक सीप र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर शैक्षिक यात्रा अघि बढाइरहेको छ । एकेडेमीमा हाल २४० जना भन्दा बढी विद्यार्थीहरू अध्ययनरत छन् ।
हाल एकेडेमीले ५ वर्षे बि.ए.एल.एल.बी. र ४ वर्षे बि.एस्सी. फरेष्ट्री (वन विज्ञान) कार्यक्रम अध्यापन गराउँदै आएको छ । विशेष कुरा के छ भने, लुम्बिनी प्रदेशमै बि.एस्सी. फरेष्ट्री कार्यक्रम सञ्चालन गर्ने पहिलो र एक मात्र शैक्षिक संस्था यही हो, जसले यसलाई प्राविधिक तथा वन विज्ञान शिक्षाको क्षेत्रमा अग्रणी बनाएको छ ।
एकेडेमीले बहुविषयीय शिक्षाको अवधारणालाई आत्मसात् गर्दै बीआईटी र बीबीए जस्ता नयाँ कार्यक्रम सञ्चालनको प्रक्रियामा रहेको छ । यसले भविष्यमा सूचना प्रविधि, व्यवस्थापन र कानुन शिक्षालाई एकीकृत रूपमा अघि बढाउने लक्ष्य लिएको छ ।
प्राज्ञिक र सामाजिक क्षेत्रका अनुभवी ३० भन्दा बढी विशेषज्ञ र व्यक्तित्वहरूको संलग्नतामा स्थापित यस संस्थाले दक्ष र अनुभवी प्राध्यापकहरूको माध्यमबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । यहाँ शिक्षण प्रक्रिया केवल पाठ्यपुस्तकमा सीमित नभई अनुसन्धान, विश्लेषण र व्यवहारिक अभ्याससँग जोडिएको छ ।
सञ्चालित कार्यक्रमहरूः लुम्बिनी प्रदेशकै पहिलो ‘फरेस्टी’ कलेज
बि.ए.एल.एल.बी. अध्ययनरत विद्यार्थीहरूका लागि अभ्यास अदालत, नमुना संसद्, बार एसोसिएसन, जिल्ला अदालत, कारागार, स्थानीय तह तथा वडा कार्यालयहरूमा भ्रमण कार्यक्रम सञ्चालन गरिन्छ । यसले विद्यार्थीलाई कानुनी अभ्यास, न्याय प्रणाली र प्रशासनिक प्रक्रियाको वास्तविक अनुभव दिलाउने काम गरेको छ । साथै, अतिथि व्याख्यान, अनुसन्धान लेखन, पठन संस्कृति र आलोचनात्मक चिन्तनलाई पनि विशेष प्राथमिकता दिइएको छ ।
वन विज्ञान कार्यक्रमतर्फ विद्यार्थीहरूलाई सामुदायिक वन, जलाधार क्षेत्र, जैविक विविधता संरक्षण, वन व्यवस्थापन तथा वन्यजन्तु अध्ययनजस्ता क्षेत्रमा व्यवहारिक अभ्यास गराइन्छ । विभिन्न सङ्घ–संस्था र विषय विज्ञहरूसँगको सहकार्यमा विद्यार्थीहरूले फिल्डवर्कमार्फत प्रत्यक्ष ज्ञान प्राप्त गर्दै आएका छन् ।
ज्ञान उत्पादनको केन्द्र बन्ने सङ्कल्पका साथ अघि बढेको लुम्बिनी इन्टिग्रेटेड एकेडेमीले केवल डिग्री मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्न सक्ने दक्ष जनशक्ति निर्माण गरिरहेको छ । प्राज्ञिक र सामाजिक व्यक्तित्वहरूको व्यवस्थापनमा सञ्चालित हुनुले पनि यस संस्थाको विश्वसनीयता र उचाइलाई थप पुष्टि गर्दछ ।
लुम्बिनी इन्टिग्रेटेड एकेडेमीलाई विश्वविद्यालय तह केवल ज्ञान प्रसारणको माध्यम मात्र नभई ज्ञान उत्पादनको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ । सोही अनुसार विद्यार्थी र प्राध्यापक दुवैलाई अनुसन्धान, परियोजना कार्य र नवप्रवर्तनमा जोड दिइएको छ ।
भौतिक पूर्वाधारका हिसाबले पनि एकेडेमी सुविधा सम्पन्न मानिन्छ । यहाँ आधुनिक कक्षाकोठा, कम्प्युटर प्रयोगशाला, वन विज्ञान प्रयोगशाला, अनुसन्धान केन्द्र र विभिन्न जर्नल तथा सन्दर्भ सामग्रीयुक्त पुस्तकालयको व्यवस्था छ । यसले विद्यार्थीलाई अध्ययनसँगै अनुसन्धानमा संलग्न हुन सहज वातावरण प्रदान गरेको छ ।
निकट भविष्यमा सूचना प्रविधि, व्यवस्थापन तथा अन्य व्यावसायिक विषयहरू थप गर्ने योजना रहेको एकेडेमीले जनाएको छ । बदलिँदो विश्व परिवेशअनुसार विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन आधुनिक शिक्षण पद्धति, डिजिटल स्रोत र व्यवहारिक प्रशिक्षणलाई विस्तार गर्ने तयारी गरिएको छ ।
लुम्बिनी इन्टिग्रेटेड एकेडेमी आज गुणस्तरीय उच्च शिक्षाको पर्यायका रूपमा विकसित हुँदै गएको छ । प्राज्ञिक उत्कृष्टता, व्यवहारिक शिक्षा र सामाजिक जिम्मेवारीलाई एकैसाथ अघि बढाउँदै यसले प्रदेशमै मात्र होइन, राष्ट्रिय स्तरमै आफ्नो छुट्टै पहिचान बनाउँदै गएको छ ।
