© 2026
बुटवल । गोल्डेन टाइगर वियर र एभरेष्ट वियरको ब्राण्डमा बियर उत्पादन गर्ने माउन्ट एभरेष्ट ब्रुअरी प्रालिले कर्मचारीहरूको श्रम शोषण गरेको पाइएको छ ।
कम्पनीले २/३ वर्षदेखि पारिश्रमिक नदिएर अन्याय गरेको कर्मचारीहरूले बताएका छन् । श्रम अदालतले समेत कर्मचारीहरूलाई पारिश्रमिक उपलब्ध बनाउन कम्पनीलाई आदेश गरेको छ ।
त्यसअघि रुम तथा रोजगार कार्यालय काठमाडौंले फाइनान्स कन्टोलर वरुण कृष्ण मानन्धर, सिनियर म्यानेजर सुदिप श्रीवास्तव लगायत कार्यरत कर्मचारीहरूको निवेदनको आधारमा २०८१ जेठ २८ गते पत्र लेखेर बाँकी पारिश्रमिक उपलब्ध गराउन कम्पनीलाई निर्णयको जानकारी गराएको थियो ।
कम्पनीले श्रम ऐन २०७४ को दफा १६३ (२) बमोजिम पारिश्रमिक उपलब्ध नगराए पछि कर्मचारीहरू अदालतको ढोका ढकढकाउन पुगेका थिए । अदालतले पारिश्रमिक तथा सेवा सुविधाको रकम उपलब्ध गराई पाउँ भन्ने मुद्रामा कर्मचारीको पक्षमा २०८१ असोज ८ गते फैसला गरेको थियो । तर पनि कम्पनीले अदालतको फैसलालाई कार्यान्वयनमा चासो नदिएपछि कर्मचारीहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् ।
उनीहरूले सञ्चालकहरूको घर अगाडी धर्ना लगायतका आन्दोलन गरी पारिश्रमिक दिन दबाब दिएका हुन् । कर्मचारीहरूले पारिश्रमिक दिन दबाब दिएपछि आफ्नो आन्तरिक कारण देखाई उत्पादन बन्द गरी सञ्चालकहरू सम्पर्कमा आउन नचाहेका एक जना बिक्री प्रतिनिधि लेखमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार बिक्री प्रतिनिधि र प्रशासनको कर्मचारी गरी ७१ जनाको झन्डै २५ करोड रुपैयाँ पारिश्रमिक तथा भत्ता सुविधा पाउन बाँकी छ । आफ्नो मात्र २÷३ वर्ष देखिको पारिश्रमिक बापतको २९ लाख रुपैयाँ प्राप्त नभएको बिक्री प्रतिनिधि श्रेष्ठले गुनासो गरेका छन् । “कम्पनी राम्रोसँग चल्दा समेत कर्मचारीको सुविधा रोकेर राखिन्थ्यो ।” उनले भने– “सञ्चालकले कम्पनी बन्द गरेर कर्मचारीले पाउनु पर्ने तलब दिनुभएको छैन अहिले त उहाँहरू सम्पर्कमा आउन चाहनुहुन्न ।” कम्पनीले विगत केही वर्ष देखि नियमित तलब नदिने दिन्छु भनेर आश्वासन मात्र दिँदै आएको थियो । उत्पादन नै बन्द गरेपछि कर्मचारीहरू तनावमा परेका हुन् ।
पैसा नपाएकै कारण कतिपय मानसिक तनावका कारण बिरामी भएको र कतिपयले उपचार नै नपाएर मृत्यु समेत भएका उनको भनाइ छ । उनले अहिले सम्म कर्मचारीले पाउनु पर्ने सबै तलब सुविधा दिन माग गरेका छन् ।
यस कम्पनीको फ्याक्ट्री चितवनमा रहेको छ भने कर्पाेरेट कार्यालय विनाचेम्वर प्रदर्शनी मार्गमा रहेको छ । कर्मचारीहरूले सञ्चालक समितिका अध्यक्ष दमन बहादुर अमात्य, सञ्चालक वियुस बहादुर अमात्य, हिरन्य बहादुर अमात्य र विनोद बहादुर अमात्यको घरमा धर्ना दिन थालेका छन् । केही दिन अघि कर्मचारीहरूले सञ्चालक विनोद बहादुर अमात्यको झम्सीखेल स्थित घरमा धर्ना दिएका थिए ।
कम्पनीले कर्पाेरेट कार्यालयका कर्मचारी, फ्याक्ट्रीका मजदुर कर्मचारीलाई मात्र होइन राजश्व, विद्युत् विल, डिलरको रकम आदी पनि नतिरेको श्रोतको भनाइ छ । काठमाडौँका विक्री प्रतिनिधि विनोद थापाले कर्मचारीको सेवा सुविधा कुनै पनि हालतमा भुक्तानी गर्न माग गरे ।
“हामी चरणबद्ध आन्दोलनमा छौँ । अदालतले गरेको फैसला कार्यान्वयनमा कुनै चासो समेत छैन”, उनले भने– “मेहनतको पसिना कसैले खाइदिन मिल्दैन हामीलाई रोकिएको तलब दिनु पर्छ ।” संचयकोषमा जम्मा गरिदिनु पर्ने रकम समेत जम्मा नगरी दिएर कम्पनी हिनामिना गरिदिएको कर्मचारीहरूले बताएका छन् ।
चितवन स्थित फ्याक्ट्रीका मजदुर कर्मचारी पनि तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन् । यस विषयमा सञ्चालकहरूसँग प्रतिक्रिया लिन सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।
तस्बिर: सञ्चालकको घरमा धर्ना दिँदै कम्पनीका कर्मचारीहरू ।