© 2026
गुल्मी । गुल्मीको इस्मा गाउँपालिका–४ दोहली कुविन्दे निवासी टिकादेवी महतको परिवारले रामराज्य माध्यमिक विद्यालयमा दिवङ्गत हुनु भएका परिवारका सदस्यको स्मृतिमा पाँच लाख भन्दा बढीको अक्षयकोष स्थापना गरेका छन् ।
विद्यालयको हीरक महोत्सवको अवसरमा लक्ष्मण महतको स्मृतिमा टिकादेवी महत सहित उहाँका छोरा राजन महत, डा रबिन महत, सोफिया महत र सोनिया महतले रु दुई लाख ११ हजार एक सय ११ बराबरको अक्षयकोष स्थापना गरेका हुन् । महत परिवारका छोराछोरी उक्त विद्यालयका पूर्व विद्यार्थी समेत भएको बताइएको छ ।
त्यसै गरी राजन महतले स्वर्गीय श्रीमती गङ्गा पछाई महतको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापनाका लागि रु तीन लाख २५ हजार सहयोग प्रदान गरेका छन् । महत दम्पती पनि रामराज्य माविका पूर्व विद्यार्थी हुन् ।
स्वर्गीय गङ्गा पछाई महतको ३५ वर्षको अल्पायुमै विसं २०८१ जेठ २६ गते निधन भएको थियो । उनले एसएलसीसम्मको अध्ययन ठाडढुङ्गा माध्यमिक विद्यालयबाट तथा कक्षा ११ र १२ को अध्ययन रामराज्य माविबाट गरेकी थिइन् ।
विसं २०७० मा सहायक लेखापाल पदबाट निजामती सेवामा प्रवेश गरेकी महत २०७४ मा लेखापाल पदमा बढुवा भएकी थिइन । उनका १२ वर्षीया छोरी गरिमा र छ वर्षीय छोरा गौरवराज रहेका छन् ।
अर्थशास्त्रमा स्नातक तथा जनप्रशासनमा स्नातकोत्तर गरेकी स्वर्गीय पछाईको अध्ययनशीलता, लगनशीलता र समाजप्रतिको सकारात्मक सोचको सम्मान स्वरूप श्रीमतीको नाममा अक्षयकोष स्थापना गरिएको श्रीमान् राजन महतले बताए ।
उक्त अक्षयकोषबाट विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, महिला, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुग्नुका साथै विद्यालयका शैक्षिक तथा सामाजिक गतिविधिमा दीर्घकालीन टेवा पुग्ने बताइएको छ । परिवारको सहयोगले विद्यालयप्रति पूर्व विद्यार्थीको आत्मीयता, जिम्मेवारी र समर्पण झल्काएको विद्यालयका प्रधानाध्यापक जगत खड्काले बताए ।
विद्यालयमा जेठ ११ देखि २२ गतेसम्म सञ्चालन हुन गइरहेको हीरक महोत्सव सफल बनाउन विद्यालय व्यवस्थापन समिति अध्यक्ष चन्द्रबहादुर महतको संयोजकत्वमा १६१ सदस्यीय मूल आयोजक समिति तथा १७ सदस्यीय सचिवालय समिति समेत गठन गरिएको छ ।
हीरक महोत्सवका लागि हालसम्म रु १८ लाख तथा अक्षयकोषका लागि तीन परिवारबाट रु छ लाख ३७ हजार दुई सय २२ रुपैयाँ सहयोग प्राप्त भएको विद्यालयका लेखापाल केशव जिसीले जानकारी दिएका छन् ।