Butwal Today

जैविक विविधता संरक्षण स्थानीय प्रयासको विश्वव्यापी प्रभाव 

८ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

विस्वको अग्लो शिखर सगरमाथा देखि समुन्द्री सतह देखि ५७ मिटर मात्र उचाइमा रहेको मुसहर निया बिचको दुरी  छोटो भए पनि यी दुई ठाउँ बिचको भौगोलिक विविधता निकै धेरै छ । यही भौगोलिक विविधतामा रहेका हिमाल, पहाड , तराइ अनि नदी र पहाडले बनाएका खोच, गल्छी, उपत्यका र बेसिले नेपाललाई जैविक विविधतामा समेत सम्पन्न राष्ट्र बनाएका छन् ।

अहिले सम्म विस्वमा १७ लाख २९ हजार सात सय प्रजातिका जीवजन्तु र वनस्पतिहरू पहिचान भएका छन् । नेपाल वातावरण प्रतिवेदन २०१३ का अनुसार विस्वमा हालसम्म पत्ता लागेका वनस्पतिहरूका प्रजातिहरू मध्ये ३.३ प्रतिशत अर्थात् १२ हजार ४८० प्रजतिहरु र जीवजन्तु प्रजातिहरू मध्ये १.१ प्रतिशत ( ११,७०६ प्रजाति ) नेपालमा पाइन्छन् ।

वन्यजन्तु विभागका अनुसार नेपालमा २०८ प्रजातिका स्तनधारी, १२३ प्रजातिका घस्रने जीव , ११८ प्रजातिका उभयचर जीव ,र २३० प्रजातिका माछा पाइन्छन् । चराको लागि त नेपाल स्वर्ग नै मानिन्छ । पक्षी संरक्षण सङ्घ नेपालका अनुसार नेपालमा ८६७ प्रजातिका चरा पत्ता लागेका छन् र  अर्का नयाँ प्रजाति भेटिने क्रम बर्सेनि बढिरहेको छ । त्यसै गरी ६५१ प्रजातिका पुतलीहरू नेपालमा भेटिएका छन् । सानो क्षेत्रफलमा यति धेरै प्रजातिहरू पाइएकोले जैविक विविधताको दृष्टिमा नेपाल विस्वमा २५ औं र एशियामा एघारौँ सम्पन्न राष्ट्र मानिन्छ ।

पर्यावरणीय र सामाजिक—आर्थिक दृष्टिमा जैविक विविधताहरू निकै महत्त्वपूर्ण मानिन्छन् । वन्यजन्तुहरूले वनको पारिस्थितिक प्रणालीलाई सञ्चालन गरिरहेका हुन्छन् । वनको संरक्षण र विस्तारमा वन्यजन्तुहरूको भूमिका ठुलो हुन्छ । बाली विविधीकरण, बाली विकास र कृषि कार्यमा जैविक विविधताले मुख्य भूमिका खेलेको पाइन्छ ।

वन्य वनस्पति र वन छेउछाउका खेतबारीहरूमा लगाइने बालीहरूमा पराग सेचन गरि वनस्पति उत्पादकत्व वृद्धि गर्न चरा, किराफट्यांग्रा, मौरीले सहयोग पु¥याएका हुन्छन् । बाघ , गैडा, अजिङ्गर जस्ता जीवले वन संरक्षणमा सहयोग गर्दछन् । वन्यजन्तुले वनको प्राकृतिक सौन्दर्यताको रक्षा गर्दछन् र पर्यटनमा सघाउँछ ।

नेपाल आउने अधिकांश पर्यटकहरु जङ्गल सफारी, पदयात्रा गरि गैडा, बाघ, हात्ती, चरा लगायतका जीवजन्तुहरू अवलोकनमा आफूलाई केन्द्रित गर्ने भएकोले नेपालमा पर्यटन विकासमा ठुलो मद्दत पुगिरहेको छ ।  नेपालका आदिवासिहरुको परम्परा र जीविकोपार्जन वन्यजन्तुसंग पनि सम्बन्धित भएको देखिन्छ । जडीबुटी, वनस्पतिहरु सङ्कलन गरेर खाने, विक्री गर्ने कार्य मानव सभ्यताको विकास क्रम सँगै चलिरहेको छ ।

विश्वव्यापी रूपमै अहिले जैविक विविधता सङ्कटमा परिरहेका छन् । यसो हुनुको मुख्य कारण चोरी सिकारी, वन विनाश , तीव्र सहरीकरण र प्रदूषणलाई जिम्मेवार मानिन्छ । स्वदेशी र विदेशी बजारमा वन्यजन्तुका विभिन्न अङ्गहरूको ठुलो माग भएकोले विश्वभरि वन्यजन्तुहरूको सिकार गर्ने कार्य भइरहेको छ ।

पछिल्लो समयमा नेपालमा कमजोर वन व्यवस्थापन, प्रदूषण, अव्यवस्थित विकास निर्माण कार्य र जलाधार क्षेत्रको विनाशले वन्यजन्तु विनाशमा मुख्य भूमिका खेलेको छ । सुकुम्वासीको नाममा जङ्गल विनाश भएर जैविक मार्ग टुक्रनु, वैज्ञानिक वन व्यवस्थापनको नाममा गैह्र काष्ठ वनस्पति, वन्य फलफूलका बिरुवा र कन्दमूलहरु तथा मिश्रित प्रजातिका झाडिहरु निर्मूल पार्ने क्रम बढेकोले वन क्षेत्रमा वन्यजन्तुको लागि चरन, आहारा, आश्रय तथा क्रिडास्थलको अभाव हुदै गएको छ ।

रुख काटछाँटको नाममा वनमा मानिसको निरन्तर चहलपहल भैरहने र हरेक वर्ष वनमा दोहिरिने वनडढेलोको कारणले वनस्पती र वन्यजन्तु उपस्थिति पातलिदै  गएको छ ।

अचेल वन छेउछाउका खेतवारीमा किटनाशक विषादीको प्रयोग निर्वाध बढिरहेको छ  भने शहरी क्षेत्र नजिकका वनहरू अघोषित डम्पिंग साइट बनिरहेका छन् । वनमा फ्याँकिएको फोहर वर्सादको पानीले वनमा छरिदा चरनक्षेत्र असुरक्षित बन्दै गएको छ । बाँच्नको लागि खेतवारीमा विषादीयुक्त अन्न, विषादीले मरेका साना जिव र वनको फोहर समेत खाँदा जिवजन्तुहरु मर्ने क्रम बढिरहेको छ ।

पछिल्लो समयमा भूक्षयले वन क्षेत्रमा भएका पोखरी, ताल, खोल्सा र खोलाहरु पुरिदै गएका छन् । यस्ता कार्यहरुले वन क्षेत्रमा पानीको अभाव हुन् गई वन्यजन्तुको आहार विहार र वनस्पति विकासमा प्रतिकुल असर परिरहेको छ । खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जादा त्यसको प्रत्यक्ष असर छेउछाउको जैविक विविधतामा परिरहेको छ । वृक्षारोपण गर्दा आयातित विरुवाहरु रोप्ने, अधिक उत्पादनको लागि हाइब्रिड बिउ रोप्ने जस्ता कार्यले नेपालका रैथाने जीवजन्तु र वनस्पतिहरू हराउने चिन्ता बढेको छ ।

वन तथा कृषि प्रणालीको सञ्चालन, सौन्दर्यता र पर्या—पर्यटनमा महत्त्वपूर्ण भूमिका खेलेका जैविक विविधता मानिसका अमुल्य सम्पत्ति हुन् । मानिसको अज्ञानता, लापरवाही , बाध्यता र केहि स्वार्थले गर्दा जैविक विविधता सङ्कटमा परिरहेका छन् । अहिलेको चुनौती भनेको जैविक विविधताुमा भइरहेको निर्भरतालाई घटाउदै यिनीहरुको संख्या विस्तार गर्नु हो ।

वृक्षारोपण गरेर, मानिस र समुदायलाई कारवाही गरेर र वन प्रवेशमा रोक लगाएर मात्र जैविक विविधता संरक्षण गर्न सकिदैन । जैविक विविधता संरक्षणका कार्यलाई सिमसार संरक्षण, वन व्यवस्थापन र दिगो अर्गानिक कृषिसँग जोडेर एकीकृत गरेर लैजानुपर्छ ।

राज्यका विकास निर्माण र अन्य योजनाहरु बनाउदा मात्र नभई स्थानीय रूपमा गरिने हरेक काममा समेत जैविक विविधता संरक्षण र उपयोगलाई अनिवार्य रूपमा ध्यान दिएमा जैविक विविधतामा हानि नपुराई त्यसबाट लाभ लिन सकिन्छ ।

यसवर्षको जैविक विविधताको नारा“ स्थानीय प्रयास, विस्वब्यापि प्रभाव“ भन्ने रहेको छ । यो नाराले स्थानीय समुदायले हरेक कार्यहरु गर्दा जैविक विविधतालाई त्यसमा समावेश गर्ने र जैविक विविधताको संरक्षणका योजनामा राज्यका सबै अंग र समुदायलाई संलग्न हुन आव्हान गरेको छ ।

नेपालमा गाउदेखि शहरतर्फको बसाईसराई तीव्र छ  । बसाई सरेर जाँदा भूगोलसंग मात्र सम्बन्ध टुट्दैन, आफ्नो परम्परासँग पनि दुरी बढ्दै जान्छ. बसाई सरेर जानेहरुले आफ्नो रैथाने ज्ञान र सिप विरलै अभ्यासमा ल्याउन र आफ्ना सन्तानलाई हस्तान्तरण गर्न सक्छन. शहरमा बस्दा जल. जमिन, जङ्गल, कृषि र जिवजन्तुसंगको दुरी बढ्ने भएकोले जैविक विविधता संरक्षण सम्बन्धी पुख्र्यौली ज्ञान मासिदै गएको पाइन्छ ।

तिन दशक अघिसम्म नेपालका केहि शहरी क्षेत्रका बाहेक अरु सबै ठाउँका मानिसहरु प्रत्यक्ष्य रूपमा कृषि, वन र खोला नदीसंग जोडिएका हुन्थे । उनीहरुको दैनिकीमा यी श्रोतहरु अपरिहार्य मानिन्थ्यो । खेतबारी, खोला नदी, वनपाखामा घुम्दा, काम गर्दा जैविक विविधताको महत्व बुझेका हुन्थे र दिगो संरक्षणका रैथाने अभ्यासहरुलाई अपनाएका हुन्थे । तर पछिल्लो पुस्ता प्रकृतीसँग टाढिएको छ ।

प्रकृति भनेको रुख भएको र घुमफिर गर्ने थलो भएको बुझाई भएका नयाँ पुस्ता तयार भैरहेका छन् । वनको वास्तविकता बुझ्ने ज्ञान र सिप पछिल्लो पुस्तालाई हस्तान्तरण भएकै छैन । यसले गर्दा जैविक विविधता सम्बन्धी पुराना ज्ञान हराउदै गएका छन् ।

पश्चिमी सस्कृतिलाई बढावा दिन देशका पढेलेखेका मान्छे र विदेशबाट दानापानी खाएका समाजसेवीहरु सक्रिय छन् । उनीहरुले हाम्रा व्यवहारहरु सबै गलत र विदेशीका सबै ठिक भन्ने भाष्य खडा गरिरहेका छन् ।

खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग गर्न प्रोत्साहित गर्ने, वन उपयोगको पारम्परिक अभ्यासको साटो बैज्ञानिक वन व्यवस्थापन लागु गर्ने, नेपाली भौगोलिक –सामाजिक मौलिकताका भौतिक निर्माण गर्नुको साटो कंक्रिटको संरचना बनाउन लगाउने, संस्कृतिका अभिन्न अंग बनेका बर–पिपल चौपारी मासेर युक्लिप्तस र स्टोनिया लगाउन प्रेरित गर्ने, हाम्रा जीवनशैलीलाई पछौटे भनि व्याख्या गरिदिने प्रवृतिले पनि जैविक विविधता संरक्षण सम्बन्धी पुर्खाको ज्ञान र सिप हस्तान्तरण हुन सकेको छैन ।

नेपाली मिडियाहरुले समेत नेपालका मौलिक संरक्षण ज्ञान र सिप प्रवद्र्धन गर्नुको साटो खराबी मात्र देख्ने गरेकोले पनि ज्ञान र सिप हस्तान्तरणमा मिडियाबाट सहयोग पुग्न सकेको छैन । विदेशी परामर्शदाताको इशारामा चल्ने सरकारी संयन्त्रहरुले त झन् जैविक विविधता सम्बन्धी रैथाने ज्ञान र सिपको प्रसारलाई रोक्नेगारी  थुप्रै नीतिगत र कानूनी व्यवस्थाहरु गरेका थिए । एक दशक यताका जैविक विविधता  लगायत प्राकृतिक श्रोत संरक्षण र व्यवस्थापन सम्बन्धी ऐन कानूनहरु र नीतिहरुमा भने स्थानीय ज्ञान र सिपको प्रयोग गर्ने कुरा समावेश हुन थालेका छन् । यसलाई राम्रो कुरा भन्नै पर्छ ।

जैविक विविधता संरक्षण र प्रयोग सम्बन्धी समाजमा अनेकौँ रैथाने ज्ञान र सिप छरिएर रहेका छन्, यस्ता ज्ञान र सिपको सङ्कलन, प्रचार र व्यवहारिक रूपमा लागु गर्ने काम गर्नुपर्छ । रासायनिक विषादीले जैविक विविधताको संरक्षणमा ठुलो चुनौती थपेको छ, त्यसैले यसको उत्पादन, आयात, विक्री र प्रयोगमा कडाई गर्नुपर्छ । डढेलो रोकथाम, जडीबुटी र अन्य वनस्पतिको व्यवस्थित सङ्कलन, जैविक करिडोर निर्माण, शहरी हरियाली वृद्धि जस्ता कार्यहरुलाई जैविक विविधता संरक्षणको अभिन्न अंगको रूपमा सञ्चालन गर्नुपर्छ ।

तिनै तहका सरकार र संरक्षणमा संलग्न निकायहरुले यी कुराहरु समयमै बुझ्न सकेमा नेपाल जैविक विविधताको स्वर्ग रहिरहनेछ र यसबाट नेपालीले मात्र नभएर विस्वले नै लाभ लिईरहन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?