Butwal Today

राष्ट्रियसभा: सुकुम्वासीका लागि स्पष्ट र ठोस कार्य योजना ल्याउन सांसदहरूको माग

८ जेष्ठ २०८३, शुक्रबार
अ+
अ-

काठमाडौँ ।  राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले सुकुम्वासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्य योजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद मनरुपा शर्माले काठमाडौँका नदी किनारबाट हटाइएका सुकुम्वासीको बालबच्चा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक  राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन माग गरेकी थिइन ।

सांसद रेणु चन्दले सुकुम्वासीको मानवअधिकार र मौलिक अधिकारको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइन । उनले सुकुम्वासी राखिएका होल्डिङ सेन्टरमा शुद्ध खानपानको प्रबन्ध गर्न माग गरे । सांसद पदमबहादुर परियारले राष्ट्रियसभाको सदस्यहरू विगत छ महिनादेखि खाली रहेकामा ध्यानाकर्षण गराए ।

सांसद रुक्मिणी कोइरालाले कोसी सम्झौताअनुसार भार दहको पुल निर्माण गर्दा लिइएको जग्गाको क्षतिपूर्ति प्राप्त हुन नसकेकामा सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद विष्णुकुमारी सापकोटाले सहकारीपीडितले न्याय नपाएकामा तर्क गर्दै तत्काल समस्या समाधान गर्न माग गरिन । सांसद विष्णुबहादुर विश्वकर्माले हुम्लाको चङ्खेलीमा यही जेठ ४ गतेको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको, पशु चौपायाको ज्यान गएका उल्लेख गर्दै स्थानीय वासीलाई राहत उपलब्ध गराउन माग गरे ।

सांसद श्रीकृष्णप्रसाद अधिकारीले सहकारीपीडितलाई फिर्ता दिन लागेको रकम सरकारी ढुकुटीबाट लिन लागेको हो कि सहकारीमा बदमासी गरेकाहरूबाट उठाएर दिन लागेको हो भन्नेबारेमा सदनलाई जानकारी दिन माग गरे ।

सांसद सावित्री मल्लले दैलेखको जलजलेमा ग्यास रहेकोसम्बन्धी विवरण सरकारलाई उपलब्ध गराइसकेको भए पनि दोस्रो चरणको काम ठप्प भएकामा सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?