© 2026
बुटवल । साना बालबालिकाको संसार रङ्गिन हुन्छ । उनीहरू खेल्न, हाँस्न, नाच्न र रमाउन चाहन्छन् । यही स्वाभाविक बालमनोविज्ञानलाई केन्द्रमा राखेर बुटवलस्थित गुरुकुल एकेडेमीले बालबालिकालाई खेल्दै सिक्ने वातावरण प्रदान गरिरहेको छ ।
मन्टेश्वरी शिक्षण पद्धतिमा आधारित यो विद्यालयमा बालबालिकालाई औपचारिक शिक्षाको दबाबभन्दा पनि पारिवारिक वातावरणमा रमाउँदै सिक्ने अवसर दिइन्छ ।
विद्यालय परिसरमा पुग्ने बित्तिकै बालबालिकाको हाँसो, गीत, खेलकुद र रमाइलो गतिविधिले जो–कसैको मन आकर्षित गर्छ । यहाँका बालबालिका कक्षाकोठाभन्दा बढी खुला वातावरणमा सिकिरहेका देखिन्छन् ।
विद्यालयकी प्रअ साधना भण्डारीका अनुसार बालबालिकाको प्रारम्भिक उमेर भनेकै सिकाइको आधार तयार गर्ने महत्त्वपूर्ण समय हो । त्यसैले उनीहरूको मनोविज्ञान बुझेर सिकाइ प्रक्रिया सञ्चालन गरिँदै आएको उनी बताउँछिन् ।
“यो उमेर खेल्दै सिक्ने उमेर हो,” भण्डारीले भनिन्, “बालबालिकालाई डर, दबाब वा कठोर अनुशासनमा राखेर होइन, माया र आत्मीयतामार्फत सिकाउनुपर्छ । हामीले त्यही वातावरण निर्माण गर्ने प्रयास गरेका छौँ ।”
गुरुकुल एकेडेमीमा बालबालिकालाई शिक्षकभन्दा पनि अभिभावकको शैलीमा व्यवहार गरिन्छ । यहाँ कार्यरत शिक्षिकाहरूलाई बालबालिकाले ‘गुरुआमा’ भनेर बोलाउने गर्छन् । बालबालिकाले आफ्ना भावना, समस्या र जिज्ञासा सहज रूपमा व्यक्त गर्न सकून् भन्ने उद्देश्यले विद्यालयमा पारिवारिक वातावरण निर्माण गरिएको विद्यालय प्रशासनको भनाइ छ ।
विद्यालयमा दुई वर्षमाथिका बालबालिकादेखि कक्षा १ सम्म अध्ययन गर्ने विद्यार्थी छन् । हाल यहाँ ७६ जना बालबालिका अध्ययनरत छन् । बालबालिकालाई विद्यालय ल्याउने र पु¥याउने व्यवस्था गरिएको छ भने बिहानदेखि दिउँसोसम्म विभिन्न समयमा खाजाको व्यवस्था पनि गरिएको छ ।
बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म बालबालिका विद्यालयमै रहने भएकाले उनीहरूको हेरचाह, खानपान, खेलकुद र सिकाइलाई व्यवस्थित बनाइएको छ । बालबालिकालाई अक्षर चिनाउने, बानी व्यवहार सिकाउने, सामाजिक घुलमिल गराउनेदेखि आधारभूत औपचारिक शिक्षा समेत प्रदान गरिन्छ ।
विद्यालयमा खेल सामग्रीको पर्याप्त व्यवस्था गरिएको छ । गीत गाउने, नाच्ने, चित्र बनाउने, समूहमा खेल्ने, पौडी खेल्ने लगायत गतिविधिमार्फत बालबालिकाको सृजनशीलता र आत्मविश्वास विकास गराउने प्रयास गरिन्छ ।
“बालबालिकाले खेल्दै गर्दा धेरै कुरा सिक्छन्,” प्रअ भण्डारीले भने, “कुराकानी, खेल, रङ्ग, सङ्गीत वा सामान्य गतिविधिबाट पनि उनीहरूलाई जीवन उपयोगी शिक्षा दिन सकिन्छ ।”
उनका अनुसार बालबालिकालाई सिकाउने क्रममा उनीहरूको मनोविज्ञान बुझ्नु सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । बालबालिकामाथि अनावश्यक दबाब सिर्जना नगरी उनीहरूको रुचिअनुसार सिकाइ प्रक्रिया अघि बढाइन्छ ।
मन्टेश्वरी सञ्चालन गर्नु चुनौतीपूर्ण काम भएको भण्डारी बताउनुहुन्छ । विशेष गरी साना बालबालिकाको हेरचाह गर्दै उनीहरूलाई सही संस्कार र व्यवहार सिकाउनु सहज नहुने उनको अनुभव छ ।
“आफ्नो सन्तानलाई जस्तै माया गरेर हेरचाह गर्नुपर्छ,” उनले भनिन्, “बालबालिकाको विश्वास जित्न सकिए मात्रै उनीहरू सहज रूपमा सिक्न सक्छन् ।” विद्यालयमा हाल १५ जनाको टिम कार्यरत छ । उनीहरूले बालबालिकाको उज्ज्वल भविष्य निर्माणलाई जिम्मेवारी र सेवाको रूपमा लिएका छन् । विद्यालय सञ्चालनमा टिमवर्ककै कारण सहजता आएको प्रअ भण्डारी बताउँछन् ।
लामो समयसम्म बुटवलका प्रतिष्ठित विद्यालयमा अध्यापन गरेको अनुभवलाई प्रयोग गर्दै गुरुकुल एकेडेमीलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने लक्ष्य राखिएको उनको भनाइ छ । विद्यालयले समय–समयमा शिक्षकहरूलाई मन्टेश्वरी शिक्षणसम्बन्धी तालिमसमेत प्रदान गर्दै आएको छ ।
तालिमले शिक्षकहरूको क्षमता अभिवृद्धि हुने र बालबालिकालाई अझ प्रभावकारी रूपमा सिकाउन सहयोग पुग्ने विद्यालयको विश्वास छ ।
पछिल्लो समय अभिभावकहरू पनि बालमैत्री शिक्षातर्फ आकर्षित हुँदै गएका छन् । साना बालबालिकालाई डर र दबाबमुक्त वातावरणमा सिकाउनुपर्ने चेतना बढेसँगै गुरुकुल एकेडेमीप्रति अभिभावकको विश्वास समेत बढ्दै गएको छ ।
विद्यालयले आगामी दिनमा मन्टेश्वरी शिक्षणलाई थप आधुनिक, व्यवस्थित र बालमैत्री बनाउँदै लैजाने योजना बनाएको जनाएको छ । गुरुकुल एकेडेमी अहिले बुटवलमा खेल्दै, रमाउँदै र सिक्दै बालबालिकाको भविष्यको बलियो जग बसाल्ने केन्द्रका रूपमा स्थापित हुँदै गएको छ । ADVT