© 2026
गुल्मी । गुल्मीका पाँच स्थानीय तहले सुविधा सम्पन्न आफ्नै प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएका छन् भने तीन स्थानीय तहले भाडाकै घरबाट सेवा प्रवाह गर्दै आएका छन् ।
१२ वटा स्थानीय तह रहेको जिल्लामा जिल्लाको मुसिकोट नगरपालिका, रेसुङ्गा नगरपालिका, मालिका, छत्रकोट र रुरुक्षेत्र गाउँपालिकाले प्रशासकीय भवनबाट सेवा प्रवाह गर्दै आएका छन् । धुर्कोट, मदाने र चन्द्रकोट गाउँपालिकाका प्रशासकीय भवनहरु निर्माणाधीन अवस्थामा रहेका छन् । सभा हलबाट सेवा प्रवाह गर्दै आएको छत्रकोट गाउँपालिकाले केही दिन पहिले नवनिर्मित सुविधा सम्पन्न प्रशासकीय भवनबाट सेवा प्रवाह गर्न लागेको छ ।
मदाने गाउँपालिकाले साबिकको गाबिस कार्यालय, इश्मा गाउँपालिकाले विद्यालयको भवनबाट, धुर्कोट गाउँपालिकाले बहुउद्देश्यीय सभा हल र सत्यवतीले सभा हलबाट सेवा प्रवाह गर्दै आएका छन् ।

तीन स्थानीय सरकार अझै भाडाकै घरमा
तीन स्थानीय सरकारले अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्दैै आएका छन् । स्थानीय तहको संरचना निर्माण भएको नौ वर्ष पुग्दासमेत तीन स्थानीय सरकारले प्रशासनिक भवन समेत बनाउन सकेका छैनन् ।
प्रशासनिक भवन नहुँदा उनीहरूले भाडाकै लागि मोटो रकम खर्चने गर्दछन् । जिल्लाको गुल्मी दरबार ,काली गण्डकी र चन्द्रकोट गाउँपालिका हालसम्म पनि भाडाकै घरबाट सेवा प्रवाह गरेका छन् ।
काली गण्डकी गाउँपालिकाले बल्लतल्ल जग्गाको व्यवस्थापन गरी प्रशासनिक भवन निर्माणका लागि बोलपत्र गरेको छ । सुविधा सम्पन्न तीन तले भवन निर्माणका लागि सम्झौताको चरणमा रहेको गाउँपालिकाले जनाएको छ । पालिकाले दुई वटा भवनका लागि मासिक ९० हजार रुपियाँ भाडामा खर्च गर्दै आएको छ । यता गुल्मी दरबार गाउँपालिकाले प्रशासकीय भवनको निर्माण कार्य अगाडी बढाएको छ ।
जिल्लाको चन्द्रकोट गाउँपालिकाले स्थापना कालदेखि नै चन्द्रकोट क्याम्पसको भवनबाट सेवा प्रवाह गरेको छ । गाउँपालिकाले अहिले मासिक ९७ हजार रुपियाँ क्याम्पसलाई भाडा बुझाउँदै आएको सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले जानकारी दिए । गाउँपालिकाको प्रशासकीय भवन निर्माणको अन्तिम चरणमा रहेको ज्ञवालीले बताए ।
गुल्मी दरबार गाउँपालिकाले तीन वटा भवनको मासिक ७४ हजार ९५१ रुपियाँ मासिक भाडा तिर्ने गरेको गरेको छ । पालिकाको प्रशासकीय भवन निर्माणका लागि प्रक्रिया अगाडी बढेको गाउँपालिकाले जनाएको छ ।