© 2026
बुटवल । रुपन्देही जिल्लामा उत्कृष्ट विद्यालयको चर्चा हुँदा प्रायः बुटवलका कालिका, कान्ति वा नवीन औद्योगिक कदरबहादुर रिता रायमाझी माध्यमिक विद्यालयको नाम अगाडि आउने गर्छ । तर शैक्षिक गुणस्तर, विद्यार्थी आकर्षण, अभिभावकको विश्वास र सिकाइ अभ्यासका आधारमा बुटवल–१२ स्थित नयाँ गाउँ माध्यमिक विद्यालय पनि कुनै हिसाबले कम छैन ।
बरु, प्रचारप्रसारको अभाव र विगतका राजनीतिक प्रतिशोधका कारण यो विद्यालय लामो समयसम्म ओझेलमा पर्दै आएको यथार्थ छ ।
वि.सं. २०१९ साल माघ १७ गते वसन्त पञ्चमीका दिन ‘कखरा स्कुल’ का रूपमा स्थापना भएको यस विद्यालयको यात्रा निकै साधारण सुरुवातबाट अघि बढेको हो ।
सुरुमा सानो झुपडीमा ६–७ जना बालबालिकालाई अक्षर चिनाउने केन्द्रका रूपमा सञ्चालन भएको विद्यालय आज करिब १८ सय विद्यार्थी अध्ययन गर्ने ठुलो शैक्षिक संस्थाका रूपमा विकसित भएको छ ।
साविक सेमलार गाउँ पञ्चायतअन्तर्गत नवरत्न माध्यमिक विद्यालयको शाखाबाट सुरु भएको यो विद्यालयले क्रमशः २०२४ मा प्राथमिक तह, २०३२ मा निम्न माध्यमिक, २०४८ मा माध्यमिक तह र २०७४ सालदेखि कक्षा ११–१२ सम्मको अनुमति प्राप्त गर्दै आफ्नो दायरा फराकिलो बनाएको हो ।
हाल व्यवस्थापन र शिक्षा सङ्कायमा अध्ययन–अध्यापन भइरहेको छ, जहाँ कम्प्युटर साइन्स, फाइनान्स, होटल म्यानेजमेन्ट तथा मेजर अङ्ग्रेजी जस्ता विषयहरू पढाइन्छन् ।

विद्यालयको अर्को विशेषता भनेको अङ्ग्रेजी माध्यममा शिक्षणलाई प्राथमिकता दिनु हो । कक्षा ९ र १० मा नेपाली माध्यमका केही कक्षा सञ्चालन भए पनि बाल कक्षादेखि अधिकांश कक्षाहरू अङ्ग्रेजी माध्यममै सञ्चालन भइरहेका छन् ।
विद्यालयको वर्तमान अवस्था झन् रोचक छ । यहाँ विद्यार्थी भर्नाका लागि अभिभावक र विद्यार्थी आफैँ विद्यालय पुगेर घण्टौँ लाइन बस्ने अवस्था छ । अन्य कतिपय विद्यालयजस्तै विद्यार्थी खोज्दै घरदैलो गर्नुपर्ने बाध्यता यहाँ छैन । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरू गर्वका साथ भन्छन्– “विद्यार्थी र अभिभावक आफैँ विद्यालय खोज्दै आउँछन्, भर्ना थाम्नै गाह्रो छ ।”
प्रधानाध्यापक पुरुषोत्तम भट्टराईका अनुसार २०७५ सालपछि विद्यालयले शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार गरेको छ । एसइई परीक्षामा प्रत्येक वर्ष ८०–९० प्रतिशत नतिजा आउने गरेको छ भने २०७९ र २०८० मा ३.९५ जिपिए र २०८१ मा ४.० जिपिए ल्याउने विद्यार्थी उत्पादन गर्दै सामुदायिक विद्यालयतर्फ जिल्लामै उत्कृष्ट प्रदर्शन गरेको छ ।
यस्तो सफलता सजिलै प्राप्त भएको भने होइन । विगतमा राजनीतिक हस्तक्षेप र प्रतिशोधका कारण विद्यालयको विकास प्रभावित भएको थियो । तर अहिले विद्यालय त्यो अवस्थाबाट बाहिरिँदै नयाँ उचाइतर्फ अघि बढिरहेको छ । “राजनीतिक हस्तक्षेपबाट मुक्त हुन सके विद्यालयलाई उत्कृष्ट बन्न कसैले रोक्न सक्दैन,” प्रअ भट्टराई भन्छन् ।
विद्यालयको सफलताको अर्को आधार भनेको समुदायसँगको बलियो सम्बन्ध हो । विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायको साझा प्रयासले विद्यालयलाई आजको अवस्थामा पु¥याएको हो । वडाध्यक्ष डिल्ली प्रसाद आचार्यका अनुसार, “विद्यालय सुधार कुनै एक पक्षले मात्र सम्भव हुँदैन, सबैको संयुक्त प्रयास आवश्यक हुन्छ ।”
शिक्षण सिकाइमा पनि विद्यालयले आधुनिक दृष्टिकोण अपनाएको छ । विद्यार्थी–केन्द्रित शिक्षण, व्यवहारिक अभ्यास, सिर्जनात्मक गतिविधि र बालमैत्री वातावरणलाई प्राथमिकता दिइएको छ । नियमित मूल्याङ्कन प्रणाली, डिजिटल सामग्री, कम्प्युटर तथा इन्टरनेटको प्रयोगले सिकाइलाई अझ प्रभावकारी बनाएको छ ।
पूर्वाधारका हिसाबले पनि विद्यालय सुदृढ छ । सफा र सुरक्षित वातावरण, पर्याप्त कक्षाकोठा, खानेपानी, शौचालय र खेलकुदका अवसरले विद्यार्थीको समग्र विकासमा सकारात्मक प्रभाव पारेको छ । साथै अनुशासन, समावेशिता र भेदभावरहित संस्कृतिलाई विद्यालयले विशेष जोड दिएको छ ।
हाल विद्यालयमा ५६ जना शिक्षक तथा कर्मचारी कार्यरत छन् । तर निजी स्रोतका शिक्षकहरूको सङ्ख्या बढी भएकाले आर्थिक व्यवस्थापन चुनौतीपूर्ण रहेको छ । स्थायी दरबन्दी बढाउनका लागि तीनै तहका सरकारसँग माग गरिएको विद्यालय प्रशासन बताउँछ ।
यसरी हेर्दा, शैक्षिक मापदण्डका सबै सूचकमा बलियो हुँदाहुँदै पनि प्रचारप्रसारको कमी र विगतका राजनीतिक प्रभावका कारण ओझेलमा परेको नयाँ गाउँ माध्यमिक विद्यालय अहिले आफ्नो वास्तविक पहिचान स्थापित गर्ने चरणमा पुगेको छ ।
समुदायको विश्वास, शिक्षकको समर्पण र व्यवस्थापनको दूर दृष्टि कायम रहिरहेमा यो विद्यालय बुटवल मात्र होइन, देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रूपमा स्थापित हुने आधार बलियो देखिन्छ ।